कोहलपुरमा गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी

पिपलबाेट संवाददाता


गणतन्त्र दिवसको अवसरमा बुधबार कोहलपुरमा पञ्चेवाजा सहितको प्रभातफेरी निकालिएको छ । १२ औं गणतन्त्र दिवसका अवसरमा आज कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुरमा प्रभातफेरी गरिएको छ । कोहलपुर चौराहाबाट सुरु भएको प्रभातफेरी मुख्य बजार परिक्रम गरी पुनः चौराहामा गएर कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले गणतन्त्र स्थापना लागि नेपाली जनताले विभिन्न चरणमा लामो संघर्ष गरेको बताउँदै ती संघर्षमा सहादत प्राप्त गर्ने सहिदहरुकै बलिदानीका कारण देश संघिय लोकतन्त्र गणतन्त्रसम्म आइपुगेको चर्चा गरे । गणतन्त्रले नेपाली जनतालाई स्वतन्त्रता दिएको भन्दै नेपालीहरुले विभिन्न समयमा प्राप्त गरेका परिवर्तनहरुलाई सम्झनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले शहिदहरुको बलिदानबाट नै आजका मुलुकमा परिवर्तन सम्भव भएको बताएकी छिन् । कार्यक्रममा बोल्दै नेकपा कोहलपुर नगर सचिव तुलराज विष्ठले निर्वाचन र गणतन्त्रबाट नै जनताको समृद्वि प्राप्त हुने कुरामा जोड दिँदै सबै राजनीतिक दलमा एकता र सहकार्य आवश्यक रहेको विचार व्यक्त गरे । नोपली काँग्रेस कोहलपुर नगर कार्य समितिका सचिव भूम बहादुर भण्डारीले वर्तमान सरकारले गणतन्त्रको मर्म अनुसार जनताको भावना अनुसार कार्य गर्न नसकेको आरोप लगाएका छन् । साथै गणतन्त्रलाई बलियो बनाउनका लागि मुलुकमा आर्थिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि लगायत प्रभातफेरीमा सुरक्षा निकायका प्रमुख, कर्मचारी, राजनीतिक दलका नेता तथा प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
गणतन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउने क्रममा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको कोहलपुर नगरपालिका कार्यालयले जनाएको छ । दिवसकै अवसरमा ब्याडमेन्टन प्रतियोगिता र कबिता वाचन कार्यक्रम समेत आयोजना गरिएको छ ।

१५ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech