बाँकेको कोहलपुर नगरपालिकालाई यहि ३१ गते साक्षर कोहलपुर घोषण गरिने भएको छ । कोहलपुरमा सोमबार कोहलपुर नगरपालिकाले आयोजन गरेको साक्षर कोहलपुर नगरपालिका सम्बन्धी सरोकारवालाहरुको पूर्वतयारी बैठकले जेष्ठ ३१ गते कोहलपुर नगरपालिकालाई साक्षर कोहलपुर घोषण गर्ने निर्णय भएको छ । कार्यक्रम प्रदेश नं. ५ की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आथित्यतामा सम्पन्न हुने भएको छ । कोहलपुर नगरपालिका भित्र ९६.४२ प्रतिशत साक्षरताको तथ्याङ्क सार्वजनिक भएसँगै कोहलपुरलाई साक्षर घोषण गरिने भएको छ । साक्षर कोहलपुर घोषण कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गर्नका लागि कोहलपुरका राजनीतिक दल, सम्पूर्ण जनप्रतिनिधि, समाजसेवि, बुद्धिजीवि, शिक्षा प्रेमी, उद्योगि व्यापारी लगायत आम सर्वसाधारणलाई कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले अनुरोध गरेका छन् । साथै उनले बाँके जिल्लाकै पहिलो स्थानिय तह कोहलपुर पहिलो साक्षर स्थानिय तहका रुपमा रहने भन्दै कार्यक्रमलाई सफल बनाउन सबैलाई अनुरोध गरेका छन् । कार्यक्रममा कोहलपुर नगरशिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुर नगरपालिका साक्षर नगरपालिका घोषण तयारी नीतिगत प्रावधानहरुका बारेको कार्यपत्र पस्तुत गर्दै साक्षर घोषणका १२ वटा मापदण्डमा रहेर कोहलपुर नगरपालिकालाई साक्षर कोहलपुरका रुपमा घोषण गर्न लागिएको बताएका छन् । साथै उनले १५ वर्षदेखि ६० वर्ष सम्मका उमेरसमूहलाई कायम गरि कोहलपुरका ६० वर्ष भन्दा माथिका निरक्षर प्रौढहरुलाई साक्षरताको अवसर र नवसाक्षरलाई निरन्तर सिकाईको अवसर प्रदान गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले कोहलपुरलाई साक्षर घोषण गर्नु चुनौतिको विषय भएको बताउँदै साक्षर घोषण हुँदा कोहलपुरको छुट्टै पहिचान हुने बताएका छन् । कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणी वलीले साक्षर कोहलपुर घोषण भएसँगै बाँकेको स्थानिय तह मध्ये पहिलो हुने भन्दै साक्षर कोहलपुर घोषण कार्यक्रमलाई सबैक्षेत्रबाट आवश्यक सहयोग गर्न अनुरोध गरेकी छिन् ।कार्यक्रममा स्थानिय जनप्रतिनिधि लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।