कठै कोहलपुर नगर ! सार्वजनिक सुनुवाई पनि स्थगित

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाई पनि स्थगित भएको छ । विशेष गरी कोहलपुर नगरपालिकाको नगरसभामा विभिन्न विषयमा छलफल गर्दा सहमति नहुँदा स्थगित हुने कोहलपुर नगरपालिका यस पटक भने सार्वजनिक सुनुवाई सुरु भएको १५ मिनेटमा स्थगित भएको छ ।
कसरी भयो स्थगित ?
कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना कोहलपुर नगरसभा हलमा भएको थियो । कार्यक्रमका प्रमुख जवाफदेहि वक्ताका रुपमा कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरी थिईन् । कार्यक्रम सुरु भएको १५ मिनेट पछि नेपाली काँग्रेस कोहलपुर नगरपालिकाका नगर प्रवक्ता यज्ञ महराले प्रमुख जवाफदेहि वक्ताका रुपमा नगरप्रमुख लुट बहादुर रावत हुनुपर्ने माग गरे । त्यस पनि नेपाली काँग्रेस नगर सचिव भूम बहादुर भण्डारी सहित काँग्रेसका कार्यकर्ताहरुले सार्वजनिक सुनुवाईको प्रमुख जफावदेहि वक्ताका रुपमा नगर प्रमुख लुट बहादुर रावत नै उपस्थित हुनुपर्ने भन्दै सभालाई स्थगित गर्न दवाव दिएका थिए । काँग्रेस कार्यकर्ताको अवरोध पछि नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले नगरका जनताको आवश्यक माग अनुसार नगरप्रमुख सहित सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने जानकारी दिँदै कार्यक्रम स्थगित भएको जानकारी गरिन् ।
नगरप्रमुख किन आएनन् ?
कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुन नसक्नुको कारण स्वास्थ्य अवस्था ठिक नभएको पाईएको छ । कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम बहादुर रावतका अनुसार नगरप्रमुख बिरामी भएका कारण कार्यवाहक नगरप्रमुखका रुपमा उपमेयरलाई जिम्मेवारी दिईएको हो । स्वास्थ्यमा जटिल समस्या आएपछि नगरप्रमुख सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि हुन नसकेको उनले बताएका छन् ।
नगरप्रमुखको जिम्मेवारी पाएकी छु ः उपमेयर चौधरी
त्यस्तै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारीचौधरीले नगरप्रमुखको स्वास्थ्यमा केहि समस्या आएकाले नगरप्रमुखको जिम्मेवारी आफुले पाएको स्वीकार गरेकी छिन् । साथै उपप्रमुख चौधरीले विभिन्न विषयगत समितिले आ–आफ्नो कार्यालयको जवाफ सार्वजनिक सुनुवाईमा दिने भएकाले मेयरको कार्यक्षेत्रका विषयमा आफुले जवाफ दिन नसक्ने बताएकी छिन् । ‘नगर प्रमुख कार्यकारी प्रमुख हुनुहुन्छ’ उनले भनिन् ‘नगरप्रमुखको जिम्मेवारीमा परेका कुराका बारेमा थाहा नभएको अवस्थामा जवाफ दिन नसक्ने भएकाले सार्वजनिक सुनुवाई स्थगित गर्नुपरेको हो ।’ उपप्रमुख चौधरीका अनुसार नगरका जनताले मेयर सहितको सार्वजनिक सुनुवाई कार्यक्रम चाहेकाले यस्तो अवस्था आएको बताएकी छिन् ।
नगरप्रमुख बिना सार्वजनिक सुनुवाई हुँदैन् ः काँग्रेस
नेपाली काँग्रेस कोहलपुर नगरसचिव भूम बहादुर भण्डारीले कोहलपुर नगरपालिकाका ठुला ठुला आयोजना लगायतका अन्य विकासका गतिविधिहरुका बारेमा कोहलपुर नगरका जनताले प्रश्न गर्दा मेयर नै सहभागि हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले कोहलपुरको विकास र समृद्विको नेतृत्व नगर प्रमुख लुट बहादु रावतले नै गरेकाले जनताका गुनासो, सल्लाह र सुझावका लागि नगरप्रमुख नै उपस्थित हुन आवश्यक रहेकाले सार्वजनिक सुनुवाई कार्यक्रमको विरोध गरिएको बताएका छन् ।
कोहलपुरमा किन हुन्छ यस्तो ?
कोहलपुर नगरपालिकामा दुई वटा बिचार बोकेका पार्टीहरुका प्रतिनिधिहरु निर्वाचित भएका छन् । कोहलपुरका १५ वटा वडा मध्ये नेकपाका ८ र नेपाली काँग्रेसका ७ वटा वडाबाट वडा अध्यक्ष निर्वाचित भएका छन् । यसका साथै नगरप्रमुख सहित कार्यपालिकाका सदस्यहरुमा नेकपाकै जनप्रतिनिधि निर्वाचित भएका छन् । उपप्रमुख सहित ७ वडा वडा अध्यक्ष नेपाली काँग्रेसका छन् । यसरी हेर्दा नेकपाको स्पष्ट बहुमुत छ । कोहलपुर नगरपालिकामा पछिल्लो समय के भएको छ भने नेकपाका प्रतिनिधिहरुले बहुमतका आधारमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई पेलेरै लिएको काँग्रेसको आरोप छ भने लोकतन्त्रमा बहुमतको कदर गर्न नसकेको भन्दै नेकपाको आरोप छ । यसै बिच साना साना कुराहरुमा पार्टी गत रुपमा जनप्रतिनिधिहरु विभाजन हुँदा कोहलपुर नगरपालिकाको गलत सूचना प्रवाह भईरहेको छ । आर्थिक वर्ष २०७५÷०७६ को असार मसान्त सकिए पछि गरेको सार्वजनिक सुनुवाईमा नगर प्रमुख नआउँदा कार्यक्रम नै स्थगित गर्नुपर्ने अवस्था आयो । यसको जिम्मेवार निकायका रुपमा कसलाई लिने भविष्यका दिनले बताउँला । तर नगर भित्रका राजनीतिक पार्टीहरु बिच सहकार्य र सम्बाद बेलैमा भएन भने यसले ठुलो समस्याका रुपमा खडा हुने संकेत देखिएको छ । कोहलपुरका जनताको आशा र भरोसा यो छ की जनप्रतिनिधिहरु मिलेर काम गरुन् ।

७ श्रावण २०७६ मा प्रकाशित
Nabintech