कोहलपुर र बैजनाथमा जडान गरिएको सेन्सरको उद्घाटन

पिपलबाेट संवाददाता


राम बहादुर रावत/कोहलपुर, साउन २१,बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा भूकम्प, बाढी र विपद् बारे पुर्व जानकारी दिने अत्याधुनिक मेसिन सेन्सरको उद्घाटन गरिएको छ । ताइवानी संस्था एनसिडिआरको आर्थिक तथा प्राविधिक सहयोग, इन्रुडेक बाँकेको समन्वयमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा प्रकोप जोखिम न्यूनीकरणका लागि जडान गरिएको सेन्सर मेसिनको ताइवानी संस्था एनसिडिआरका निर्देशक हङ्गी चेनले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै निर्देशक चेनले भविष्यमा हुने सक्ने प्राकृतिक प्रकोप लगायत बाढी, डुबान, कटान, आगलागी जस्ता प्रकोप आउनु भन्दा पहिला नै जानकारी दिनका लागि काहेलपुर र बैजनाथ गाउँपालिकामा संयुक्त आपत्कालिन उद्धार समन्वयन केन्द्रको उद्घाटन गरिएको बताएका छन् ।

साथै उनले सेन्सर मेसिन जाडनका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने प्रति धन्यवाद व्यक्त गर्दै केहि समय भित्र पुन नेपाल आउने प्रतिवद्वता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुर र बैजनाथ गाउँपालिका प्राकृतिक विपद्का दृष्टिकोणले अति जोखिम क्षेत्र भएकाले आम सर्वसाधारण जनतालाई आपत्कालिन् विपद्बाट जोगाउनको लागि सेन्सर मेसिन जडान गरिएको बताएका छन् । साथै उनले ताइवानी संस्था एनसिडिआरले बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई प्राथमिकता दिई मेसिन जडान गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले मानिसको सबैभन्दा धेरै उपस्थिति र बसोबास हुने स्थानमा मेसिनको जडान गरिएको बताउँदै विपद्बाट हुन सक्ने क्षति कम गर्ने सकिने बताएका छन् । कोहलपुर र बैजनाथका केही स्थानहरु बाढी, डुबान, कटान, आगलागी जस्ता प्रकोपको उच्च जोखिममा रहेकोले त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न दुबै स्थानीय तहका १२ वटा स्थानमा जोखिमको पूर्व तयारीका लागि सेन्सर जोडिन गरिएको छ भने कोहलपुर, बैजनाथ संयुक्त आपत्कालिन उद्धार समन्वयन केन्द्रको स्थापना कोहलपुर नगरपालिकाको भवनमा गरिएको छ ।

कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख सन्जु कुमारी थारु, बैजनाथ गाउँपालिकाका उपप्रमुख शारदा रेग्मी विश्वकर्मा, कार्यपालिकाका सदस्य, कर्मचारी, कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षानिकायका प्रतिनिधिहरु लगायत सर्वसाधारण जनताको उपस्थिती रहेको थियो ।

२१ श्रावण २०७६ मा प्रकाशित
Nabintech