बम बिस्फोटमा घाइते भएका म्यादी प्रहरी चौधरीको मृत्यु

पिपलबाेट संवाददाता


दाङको तुलसीपुरमा मंगलबार भएको बम विस्फोटका घाइते मध्ये एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।

तुलसीपुर उपहानगरपालिका वडा नं. १२ क्वाङ्गी निवासी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमखु एवं डिएसपी सुधिरराज शाहीले बताए। गम्भीर घाईते चौधरीको बुधबार बिहान साढे २ बजेतिर बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। राप्ती अञ्चल अस्पतालको प्रारम्भिक उपचारपछि मंगलबारनै चौधरीलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो।

तुलसीपुरको व्यस्त सडकमा मंगलबार दिउँसो साढे तीन बजेतिर भएको उक्त वम विस्फोटमा परि अर्का म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी १९ बर्षीय विनोद चौधरी पनि घाइते भएका छन्। उक्त वम काण्डका थप आठ जना घाईते मध्ये तीन जनाको अवस्था अझैं गम्भीर रहेको प्रहरीले बताएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ निवासी २३ बर्षीया जेनी डिसी, सल्यान जिल्लाको बागचौर गाउँपालिका वडा नं. ४ निवासी ४० बर्षीया देबीकुमारी डिसी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी ४० बर्षीय बमराज सुनारको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। उनीहरु तीनै जनाको हाल बाँकेको कोहलपुरमा उपचार भइरहेको छ। उक्त घटनाका अन्य घाईतेहरुमा बबई गाउँपालिका वडा नं. ६ निवासी १८ बर्षीय सुनिता चौधरी, सल्यान जिल्लाको ढोरचौर गाउँपालिका वडा नं. २ निवासी ४५ बर्षीया नरपनी बुढाथोकी, बबई गाउँपालिका वडा नं. ६ निवासी ३६ बर्षीय नेवबहादुर खत्री, शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी ५० बर्षीय हेमराज रामजाली छन्।

गम्भीर घाईते बाहेक अन्यको तुलसीपुरको राप्ती अञ्चल अस्पतालमै उपचार भइरहेको र त्यसमध्ये अधिकांश डिस्चार्ज भइसकेको पनि प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुरस्थित अरनीको मैदानमा आयोजित कार्यक्रम स्थलमा पुगेलगतै त्यसको झन्डै डेडसय मिटरको दुरीमा मुख्य बजारमा विस्फोट भएको थियो। प्रत्यक्षदर्सीले मोटरसाईकलमा आएका व्यक्तिले व्यस्त सडकमा बम फालेर भागेको बताए। एकजनाले मोटरसाईलक स्टार्ट गरिरहेको र अर्काले लुकाएर ल्याएको बम फालेपछि उनीहरु भागेको प्रत्यक्ष्यदर्शीले बताए।

यसैबीच घटना लगतै राप्ती अञ्चल अस्पतालमा विरामीको अवस्था बुझ्न गएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिष्टहरुले कार्यक्रम असफल पार्न एउटा घृणित कार्य गरेको प्रतिक्रिया दिएका थिए। अस्पतालमै पुगेका काँग्रेस नेता एवं श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले सर्वसाधरणलाई लक्षित गरि वम विस्फोट गराउनु कायरता भएको प्रतिक्रिया दिए। विरामीको अवस्था बुझ्ने प्रदेश नं. ५ का प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रशाद पुडासैनी लगाएतका उच्च सरकारी अधिकारी पुगेका थिए।

१३ मंसिर २०७४ मा प्रकाशित
Nabintech