राप्तीसोनारीको गणेश माविमा ‘जङक फुड’ प्रतिबन्ध

पिपलबाेट संवाददाता


विद्यालयमा पढ्ने उम्मेरका विद्यार्थीहरुले घरमा निर्माण भएको खाद्य पदार्थ भन्दा प्लाष्टिक प्याकेट गरिएका ‘जङक फुड’लाई खाना बढि रुचाउँछन् । विशेष गरी बालबालिकाहरुले ‘जङक फुड’ खाएको खण्डमा स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् । तर बाँकेको राप्तीसोनारी–९मा रहेको श्री गणेश माविले विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुलाई अबदेखि ‘जङक फुड’ खाना प्रतिबन्ध लगाएको छ । गणेश मावि ढकेरीमा नयाँ प्रधानाध्यापकका रुपमा हरी अधिकारी आएसँगै विद्यालयमा नयाँ नयाँ गतिविधिहरु सुरु भएका छन् । विद्यार्थीहरुको स्वास्थ्यलाई विशेष ध्यान दिँदै विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई ‘जङक फुड’ खाना प्रतिबन्ध लगाईएको प्रधानाध्यापक हरी अधिकारीले जानकारी दिएका छन् । साथै उनले विद्यालयका अभिभावकको सुझाव र विद्यालय व्यवस्थापन समितिको सल्लाहबाटै विद्यालयमा ‘जङक फुड’ लाई पूर्ण रुपमा बन्द गरिएको बताएका छन् ।
वातावरणीय र पर्यावरणीय सुधार तथा स्वास्थ्य शिक्षासम्बन्धी चेतना जगाउन यो अभियान सुरु गरिएको प्रअ अधिकारीले बताएका छन् । साथै विद्यार्थीहरुले नास्ताका रुपमा घरमै निर्मित र विद्यालयकै नास्ता पसलबाट नास्ता खाना पाउने व्यवस्था मिलाईएको बताएका छन् । ‘विद्यालयमा नयाँ कार्यको सुरुवात भएको छ’ प्रअ अधिकारीले भने ‘यो अभियानले विद्यार्थीहरुको स्वास्थ्यको सुधारसँगै मनोवैज्ञानिक रुपमा असर पर्नबाट बचाउँछ ।’

३ भाद्र २०७६ मा प्रकाशित
Nabintech