आंशिक प्राध्यापकद्धारा क्याम्पसलाई ज्ञापन पत्र

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बुहुमखी क्याम्पसका आंशिक प्राध्यापकहरुले ३ बुँदे माग सहित क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् । आंशिक प्राध्यापक संघका अध्यक्ष गोपाल शर्मा सहितका आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई ज्ञापन पत्र बुझाएका छन् । बागेश्वरी बहुमुखी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा समायोजन हुँदा हालसम्म आंशिक प्राध्यापकहरुलाई नियुक्ति लगायतका अन्य कुनै पनि पक्षमा ध्यान नदिएको भन्दै ज्ञापन पत्र बुझाउन बाध्य भएको संघका अध्यक्ष गोपाल शर्माले बताएका छन् ।
साथै सम्पूर्ण आंशिक प्राध्यापकहरु करारमा नियुक्त गर्नुपर्ने, हालसम्म यस क्याम्पसमा अध्यापन गर्दै आईरहेका आंशिक प्राध्यापकलाई व्यवस्थपन नगरी कुनै पनि विषयमा नयाँ आंशिक प्राध्यापक नियुक्त गर्न नपाईने र क्याम्पसमा रिक्त रहेका दरबन्दीमा वा कुनै पनि विषयका दरबन्दीमा यस क्याम्पसमा पढाउँदै आईरहेको आंशिक प्राध्यापक बाहेक हरुलाई दरबन्दीमा राख्न नपाईने माग सहित ज्ञापन पत्र बुझाईएको छ । यसका साथै आफ्ना मागहरु मंसिरसम्म पुरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
क्याम्पसमा हाल ११ जना आंशिक प्राध्यापकले दैनिक ४४ पिरियड अध्यापन गराउँदै आएका छन् । त्यस्तै ज्ञापन पत्र बुझ्दै क्याम्पस प्रमुख शिशिर कुमार शर्माले मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आंगिक क्याम्पसका सबै प्राध्यापकहरुको विवरण माग गरिरहेको र उक्त विवरण उपलब्ध गराईसकेको बताउँदै आंशिक प्राध्यापकहरुका मागलाई सम्बोधन गर्नका लागि विश्वविद्यालयसँग समन्वयन गर्ने बताएका छन् । साथै उनले क्याम्पस प्रशासनले यस विषयमा कुनै पनि कार्य गर्न नसक्ने भन्दै सबै कुरा विश्वविद्यालयले नै गर्ने तथा त्यसका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

६ भाद्र २०७६ मा प्रकाशित
Nabintech