कोहलपुरमा शिक्षा दिवस मनाउँदा पनि असहमति

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाको आयोजनामा आईतबार ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने कार्यक्रममा पनि असन्तुष्टि भएर सम्पन्न भएको छ । विगत लामो समयदेखि कोहलपुर नगरपालिकाका विभिन्न कार्यक्रमहरु विवाद र विरोधका बिच सम्पन्न हुने गरेकोमा यस पटक पनि शिक्षा दिवस मनाउने कार्यक्रम पनि विवादित बनेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लटु बहादुर रावतको सभापत्विमा सञ्चालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति बलाराम शर्माले असहमति जनाउँदै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु कार्यक्रम स्थलबाटै बाहिरिएका थिए ।
यसरी भयो असहमति
कोहलपुर नगरपालिकाले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कोहलपुर क्षेत्रको शैक्षिक विकासमा सहयोग गर्ने शिक्षक, शिक्षाका कर्मचारी, विद्यालय लगायत अन्य व्यक्तिहरुलाई सम्मान गर्ने प्रमाण पत्रमा हस्ताक्षर गरेको विषयमा नेपाली काँग्रेस कोहलपुर नगरसभापति बलाराम शर्माले आपत्ति जनाए पछि काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यक्रम स्थलबाटै बाहिरिएका थिए । उक्त प्रमाण पत्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावत, कोहलपुर नगरपालिका सामाजिक विकास शाखाकी संयोजक नारायणि वली र शिक्षा शाखा कोहलपुरका प्रमुख अनन्तकुमार पौड्यालको हस्ताक्षर राखिएको थियो । नेपाली काँग्रेस सभापति बलाराम शर्माका अनुसार नगर प्रमुखको प्रमाणपत्रमा हस्ताक्षर भईसके पछि अन्य विषय गत शाखाका संयोजकहरुको हस्ताक्षर आवश्यक नपर्ने भएकाले नीति र विधि अनुसार नगरपालिका सञ्चालन हुनुपर्छ भन्ने माग गर्दै कार्यक्रममा असहमति जनाईएको बताएका छन् । उनका अनुसार कार्यक्रममा अतिथिहरुको आसनग्रहण पनि गलत तरिकाले हँुदा कोहलपुर नगरपालिकामा काँग्रेसलाई बहुमतका आधारमा संधै पेलेरै लिन खोज्नु गलत भएको भन्दै विधि र प्रक्रियामा नगरपालिकालाई ल्याउन यस्तो कदम चाल्नुपरेको हो । सभापति शर्माले सो प्रमाणपत्रमा नगरप्रमुख र नगर शिक्षा शाखा प्रमुखको मात्र हस्ताक्षर हुनुपर्नेमा माग सहित कार्यक्रमको असहमति जनाईएको बताएका छन् ।
हस्ताक्षरमा किन आपत्ति ः नगरप्रमुख रावत
त्यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले हस्ताक्षरका विषयमा किन आपत्ति जनाएको भन्दै प्रश्न गरेका छन् । नगरप्रमुख रावतले कोहलपुर नगरको प्रमुखको तर्फबाट नगर प्रमुख, सामाजिक विकास शाखा अन्तर्गत शिक्षा शाखा भएकाले सामाजिक विकास समितिकी संयोजक नारायणि वली र शिक्षा शाखा प्रमुुख भएकाले अनन्त कुमार पौड्यालको हस्ताक्षर भएकाले यसमा असहमति जनाउनुको कुनै कारण नभएको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाको विकास र समृद्वि सबैको सहकार्य र सहयोगमा सम्भवन हुने भन्दै सानासाना कुराहरुमा विवाद नगर्न सुझाव समेत दिएका छन् । नगर प्रमुख रावतका अनुसार संधै विवादले मात्र कोहलपुरको विकास नहुने भन्दै सबै मिलेर कोहलपुर नगरपालिकाको विकास गर्नुपर्छ । कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपि खनालले कोहलपुर नगरपालिकामा संधै विवाद आउनु राम्रो नभएको भन्दै सबै जिम्मेवार हुनुपर्ने माग गरेका छन् ।
“सामुदायिक र संस्थागत विद्यालयको स्तर एउटै हुनुपर्छ”
कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले सामुदायिक र संस्थागत विद्यालयको स्तरमा फरक नआउन नहुने बताएका छन् । कोहलपुर नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखाले आयोजना गरेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सामुदायिक र संस्थागत विद्यालयले प्राप्त गर्ने नतिजाको फरक नहुनुपर्ने भन्दै कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्नका लागि स्थानिय सरकारले सबैको साथ र सहयोगको आशा गरिरहेको बताएका छन् । साथै उनले आजको वैज्ञानिक युग अनुसारको शिक्षण गर्न आवश्यक रहेको भन्दै शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनका लागि कोहलपुर नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणि वलि र कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपि खनालले शिक्षक, विद्यालय, विद्यार्थी र अभिभावकहरुको सहकार्यमा शिक्षामा आमूल परिवर्तन गर्न सकिने भएकाले शिक्षाको विकासका लागि राज्यले गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा कोहलपुर नगर भित्रका शिक्षक, कर्मचारी, लगायत विद्यालयहरुलाई सम्मान गरिएको छ । विद्यालय अन्तर्गत सामुदायिक विद्यालय तर्फ त्रिभुवन मावि र संस्थागत विद्यालय तर्फ गोरर्खा यूनाईटेड पब्लिक स्कुललाई सम्मान गरिएको छ । यसका साथै कोहलपुर नगरपालिकालाई साक्षर नगरका रुपमा घोषणा गर्नका लागि सहयोग गर्ने शिक्षा प्रेमिलाई सम्मान गरिएको छ । कार्यक्रममा कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, समाजसेवि, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

२२ भाद्र २०७६ मा प्रकाशित
Nabintech