नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिंह महरले वर्तमान केपि ओलि नेतृत्वको सरकारले नेपाली काँग्रेसका यूवाहरु बिना कारण खोजिखोजि फसाउन लागेको बताएका छन् । कोहलपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै देशै भरी नेपाली काँग्रेसका यूवाहरुलाई अनावश्यक मुद्धामा फसाउँदै आईरहेको प्रति दुख व्यक्त गर्दै सरकारको यस्तो कदम तत्काल सच्याउन माग गरेका छन् । नेपाल तरुण दल नेपालगञ्ज उपमहानगरपालिकाका सभापति सन्दिपजंग शाहको प्रकरणका बारेमा बोल्दै बिना कारण काँग्रेसका यूवाहरुलाई फसाउन लागि रहेको सरकारका विरुद्व देशव्यापि रुपमा आन्दोलन गर्ने घोषण गरेका छन् । निर्दोष व्यक्तिलाई राजनीतिक पूर्वाग्रही रुपमा झुटा मुद्दा चलाएको विषयमा बाँकेका एस.पी. र डि.एस.पी.को कुरा बाँझिएकाले घटना नियोजित भएको प्रमाणित भएको उनले बताए । केही समय अघि तरुण नेता शाहको गाडीमा पेस्तोल फेला परेको भन्दै प्रहरीले गैर न्यायिक तरिकाले नियन्त्रण लिई झुटा मुद्दा चलाई राजनीतिक प्रतिशोध बर्तमान सरकारले साँध्न खोजको उनले जिकिर गरेका छन् ।
साथै उनले वर्तमान सरकारप्रति जनताको वितृष्णा पैदा भएको जिकिर गरे । उनले नेकपा सरकारले २२ महिनाअगाडि जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसकेकाले जनताले कांग्रेस खोजिरहेको बताएका छन् । ‘सरकारसँग कुनै ठोस कार्ययोजना नभएर हौवा फैलाउने कार्य गरेको छ र यसबाट मजदूरदेखि मालिकसम्म र विद्यार्थीदेखि शिक्षकसम्म कहींकतैबाट पनि सरकारको कामप्रति असन्तुष्ट देखिएका छन्’ नेता महरले भने । महरले लिपुलेखका बारेमा भारतसँग ओली नेतृत्वको वर्तमान सरकारको कुटनीतिक रुपमा कुनै पनि पहल नगरेको प्रति आक्रोस पोख्दै तत्काल कुटनैतिक रुपमा वार्ता गरी सीमा विवाद हल गर्न सरकारसँग माग गरेका छन् । नेता महरले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि रोष प्रकट गर्दै भने, ‘चार भाषामा भारतका प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिन सक्ने केपी ओलीले सीमाको विषयमा कुनै अभिव्यक्ति नदिनुले यसमा सरकारकै मिलेमतो रहेको र सरकार राष्ट्रियताको विषयमा कमजोर सावित भएको प्रष्ट हुन्छ ।’ वर्तमान सरकारले नेपालको राष्ट्रियतालाई नै खतरामा पारेको भन्दै सबै नेपाली जनता राष्ट्रियताका लागि एक हुन आवश्यक रहेको उनले बताएका छन् । साथै उनले नेविसंघको विधान अनुसार नै नेविसंघको नेतृत्व चयन हुने भन्दै उपनिर्वाचनभन्दा अगाडि पार्टी भातृ संस्थाहरुका बारेमा कुनै पनि कदम नउठाउने बताएका छन् । पत्रकार सम्मेलनको अवसरमा महरद्वारा लिखित काण्डै काण्ड नामक पुस्तक मार्फत बर्तमान सरकारका गलत क्रियाकलापहरुको पर्दाफास भएकाले उप निर्वाचनमा सहयोगि हुन सक्ने भन्दै महरले नेपाली काँग्रेसका क्षेत्रीय सभापति माधवराम खत्री र नेपाली काँग्रेस कोहलपुर नगर समिति सचिव भुम बहादुर भण्डारीलाई हस्तान्तरण समेत गरेका छन् । कार्यक्रमको सहजिकरण नेविसंघका यूवा नेता कलम शाहीले गरेका थिए ।