बाँकेको कोहलपुरमा कोहलपुर जेसीज वर्ष २०१९ ले आफ्नो सप्ताह व्यापी कार्यक्रम आज (मंगलबार) सम्पन्न गरेको छ । कोहलपुर जेसीज शाखाले हरेक वर्ष सप्ताह व्यापी कार्यक्रमहरु संचालन गर्दै आइरहेकोले यस वर्ष पनि सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको कोहलपुर जेसीज वर्ष २०१९ की अध्यक्ष संगिता सुवेदीले जानकारी दिएकी छिन् । अध्यक्ष सुवेदीका अनुसार कोहलपुर जेसीज शाखाले स्त्री रोग र जेष्ठ नागरिकका लागि स्वास्थ्य परिक्षण, निलसागर वृद्वा आश्रममा खाद्यान्न वितरण, कोहलपुरका विभिन्न चोकमा २०२० पर्यटन वर्षलाई सफलन बनाउन स्वागत लेखिएका बोर्ड निर्माण, त्रिभुवन माविमा दन्त शिविरमा १ सय ६३ जनाले चेकजाँच, जेसीज अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता, व्याडमिन्टन प्रतियोगीता लगायत जेसीज सम्बन्धी तालिम दिएर कार्यक्रम सम्पन्न गरिएको हो । कोहलपुर जेसीजको सप्ताहव्यापी कार्यक्रमको समापनमा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले यूवाहरुलाई सकरात्मक सोचको विकास गरी समाज रुपान्तरणका लागि जेसीजले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । साथै उनले कोहलपुरका यूवाहरुलाई आवश्यक सहयोग गर्नका लागि तयार रहेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले यूवाहरुलाई रचनात्मक कार्यमा अग्रसर गराउनका लागि जेसीज लागि परेको बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०१९ की अध्यक्ष संगिता सुवेदीले कोहलपुर जेसीज नेपालकै नमूना जेसीजका रुपमा कार्य गरिरहेका बताउँदै सबैको साथ र सहयोगबाटै जेसीजले नयाँ नयाँ कार्यहरु गर्ने प्रतिवद्वता जनाईन् । कार्यक्रममा बोल्दै भेरीगंगा जेसीज सुर्खेतका अध्यक्ष नवराज उपाध्यायले १८ वर्षदेखि ४० वर्ष उमेर समूहका यूवाहरुले राजनीतिक दलभन्दा माथि उठेर देश र जनताका लागि केहि गर्नुपर्ने समय आएको बताउँदै जेसीजले यूवाहरुको भावनात्मक सोचको विकास गराउने बताए । कार्यक्रममा कोहलपुर जेसीजद्वारा आयोजित हाजिर जवाफ प्रतियोगिता र व्याडमिन्टन प्रतियोगीतामा विजय भएकाहरुलाई पुरस्कार तथा जेसीजको कार्यक्रमलाई सफल बनाउन सहयोग गरेकाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमबोल्दै कोहलपुर जेसीजका कार्यकारणी उपाध्यक्ष राम प्रसाद पाण्डेयले कोहलपुर जेसीजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्ने प्रति धन्यावद व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण कोहलपुर जेसीज वर्ष २०१९ का महासचिव संगम खनाले गरेका थिए ।