पूर्वाधार निर्माणमा गुणस्तर कायम गर्न आग्रह

पिपलबाेट संवाददाता


आर्थिक वर्ष २०७६÷०७७ को योजना व्यवस्थित तवरले गुणस्तरीय रुपमा कार्यान्वयन गराउन जानकी गाउँपालिकाले आज वडा नं. ४ र ५ मा गठन भएका उपभोक्ता समितिका लागि अभिमुखीकरण तालिम दिएको छ ।
योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष सहभागि तालिममा उपभोक्ता समितिको महत्व, जिम्मेवारी र उत्तरदायित्वका साथ साथै कानूनी प्रावधानवारे जानकारी दिन तालिमको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनुभयो । अभिमुखीकरण तालिमको उद्घाटन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर निर्माण कार्य समयमै सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो । उहाँले आफ्नो गाउँको विकास निर्माण इमान्दारिताका साथ गर्नु पर्ने बताउनुभयो ।
उपाध्यक्ष भूमिसरा धितालले आफ्नो वडाको विकास गर्ने अवसर पटक पटक नआउनेभएकोले यो अवसरलाई सदुपयोग गर्दै इमान्दारिताका साथ गुणस्तरीय काम गर्नु उपभोक्ता समितिको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका वडा नं. ५ का अध्यक्ष रमेशकुमार बर्मा, कार्यपालिका सदस्य एवम् पूर्वाधार समिति संयोजक राजकुमार धोवी, गाउँपालिका कानूनी सल्लाहकार पदम पाण्डे, सचिवालय सल्लाहकार किशोर थापा, योजना शाखा प्रमुख इन्जिनियर निसार अहमद दर्जी, योजना शाखाका कर्मचारी राजेन्द्र बाजपेयीले तालिमको सहजिकरण गर्नुभएको थियो ।

६ मंसिर २०७६ मा प्रकाशित
Nabintech