कोहलपुरमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट शुरु

पिपलबाेट संवाददाता


‘समानताको पुस्ता ः बलात्कार विरूद्ध एक्यबद्धता’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कोहलपुरमा दिप प्रज्वलन गरी आजबाट शुरु गरिएको छ । कोहलपुर नगरपालिकाको आयोजना र महिला उपकार मञ्च, नेपाल महिला एकता समाज, अपाङ्ग नवजीवन केन्द्र, क्रियाशिल पत्रकार समूह बाँके, सहकारी, थ्रि एन्जेल्स नेपाल, समाज सुधार कार्यक्रम नेपाल, नगर बाल सञ्जालबाट र समाजसेवा संस्था नेपालको सहयोगमा आजबाट १६ दिने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । दिप प्रज्वलन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौरधीले समाजमा विभिन्न खाले लैगिङ्क हिंसा भईरहेको जानकारी दिँदै समाजलाई हिंसाबाट न्यूनिकरण गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताईन् । साथै उनले कोहलपुर नगरपालिकाले सबैलाई सम्मान व्यवहार गर्नुपर्ने नीतिलिएको जानकारी समेत दिएकी थिईन् । अभियानका क्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले लैंगिक हिंसारहित समाज निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने गरेका छन् । लैंगिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुवात गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । सोही बेलादेखि प्रत्येक बर्ष यो अभियान सञ्चालन हुँदै आएको छ । अभियान अन्तर्गत सरकारी तथा गैर सरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

९ मंसिर २०७६ मा प्रकाशित
Nabintech