यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने सांसदहरुको माग

पिपलबाेट संवाददाता


बिहीबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने देखि लिएर स्वास्थ्यकर्मीमाथि कुटपीट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नीजि र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने र अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टि गर्नु पर्ने बताएका हुन् । सांसद रामनारायण विडारीले यातायात क्षेत्रमा नेपालीहरुको खर्बौँ लगानी भए पनि यसलाई हेर्ने छुट्टै मन्त्रालय नभएको बताए ।

यात्रुबाहक, मालबाहक लगायत विभिन्न प्रकारका यातायातका साधन सञ्चालनमा रहे पनि यसका लागि छुट्टै नीति नभएको उनले बताए । नीजिले पनि सार्वजनिक भाडाको काम गरिरहेको उल्लेख गर्दै उनले यातायात व्यवसायीहरुलाई १० प्रतिशत पुनर्कर्जा र ढृुवानीमा भ्याट छुट दिएर टिडिएस मात्रै लाग्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरे । सांसद विमला राई पौडेलले अति विशिष्ट व्यक्तिहरुका लागि राम्रो सुरक्षा प्रवन्ध गर्ने चलन रहे पनि पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइरहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् । अहिलेको संकटको समयमा अति विशिष्ट व्यक्ति भनेका स्वास्थ्यकर्मी भए पनि उनीहरुमाथि आक्रमण भइरहेको बताए । स्वास्थ्यकर्मी नै सुरक्षित नभए आम नागरिक कसरी सुरक्षित हुन्छन् भन्दै उनले ध्यानाकर्षण गराए ।

सांसद शान्ति कुमारी अधिकारीले असारे विकासले विनास निम्त्याएको बताइन् । जेठ १५ मा बजेट सार्वजनिक भएर असारमा पास हुने भए पनि पुसमा मात्रै सम्झौता गर्न सुरु हुने परम्परा तोड्नु पर्ने बताइन् । साउन र भदौ महिनामा कर्मचारीहरु पालैपालो विदामा बस्ने हुँदा काममा ढिलाई भइरहेको उनले बताइन् । सम्बन्धित मन्त्रालयहरुले अख्तियारी चाँडो दिएर कार्तिक भित्र काम सुरु गरी जेठ मसान्तमा काम सक्नुपर्ने नीति बनाउन जरुरी रहेको उनले बताइन् ।

 

१८ असार २०७७ मा प्रकाशित
Nabintech