उत्तर कोरियाली नेता किम जङ-अनले कोभिड-१९ विरुद्ध आफ्नो देशले प्राप्त गरेको ‘सफलता’ को प्रशंसा गरेको राज्य नियन्त्रित समाचारसंस्था केसीएनएले जनाएको छ। पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै किमले उत्तर कोरियाले “घातक भाइरसको प्रवाहलाई रोक्न सकेको र स्थिर अवस्था कायम गरेको” बताएका हुन्।
कोरोनाभाइरस संसारभरि फैलिरहेको बेला छ महिनाअघि उत्तर कोरियाले आफ्नो सीमा बन्द गर्दै हजारौँ मानिसलाई क्वारन्टीनमा राखेको थियो। उत्तर कोरियाले आफ्नो देशमा कोरोनाभाइरस सङ्क्रमण नभएको दाबी गरेको छ। तर विश्लेषकहरू यो असम्भव भएको मान्छन्। किमले बिहीवार पोलिटब्यूरो बैठकमा “महामारीविरुद्धको छ महिना लामो राष्ट्रिय सङ्कटकालीन कामको विस्तृत विश्लेषण” गरेको बताइएको छ। उनले “पार्टीको केन्द्रीय समितिको दूरदर्शी नेतृत्वले” कोरोनाभाइरसलाई नियन्त्रण गर्न सफल भएको बताएको उल्लेख गरिएको छ।
तर उनले छिमेकी देशहरूमा भाइरस अझै रहेको बताउँदै “महामारीविरुद्धको कार्यमा आराम नगरी सतर्कता” कायम गर्नुपर्नेमा जोड दिएका छन्। “उनले दोहोर्याएर अहिलेको अवस्थामा त्रुटि भएमा महामारीले अकल्पनीय र अपूरणीय सङ्कट निम्त्याउने बताए,” केसीएनएले लेखेको छ। सङ्क्रमणका केही अपुष्ट विवरणहरू प्राप्त भएको भए पनि राजधानीको जीवनको बारेमा बाहिर आएका जानकारीहरूमा त्यहाँको जनजीवन सामान्य रहेको छ।