बाँकेमा ठूलो परिमाणको सुर्तिजन्य पदार्थ बरामद

पिपलबाेट संवाददाता


भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बिओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नं। ६ बाट करीब २ लाख बराबरको पान र सुपर पावर सुर्ति बरामद गरेको हो ।
लुकीछिपी भारतबाट भित्र्याइएको ४ हजार पात पान र ६ सय ५० पोका सुर्ति शनिवार राती ११ बजे बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
करीब २० हजारको पान र १ लाख ६२ हजार ५ सयको सुपर पावर सुर्ति गरी १ लाख ८२ हजार ५ सय बजार मूल्य पर्ने उक्त सामान बरामद गरिएपनि रातीको मौका छोपेर तस्करहरु फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।
बरामद गरिएको पान नष्ट गरिएको छ भने सुर्तिलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

२१ असार २०७७ मा प्रकाशित
Nabintech