कोरोनामुक्त घोषणाको २४ घण्टा नबित्दै नेपालगन्जमा भेटिए संक्रमित

पिपलबाेट संवाददाता


जिल्ला स्वास्थ्य कार्यालय बाँकेले हचुवाका भरमा यहाँका तीन वटा स्थानीयलाई कोरोनामुक्त घोषणा गरेको छ । मंगलबार साँझसम्म नेपालगन्जमा कोरोना संक्रमित सकिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका थिए । तर, २४ घण्टा नबित्दै बुधबार दिउँसो भेरी अस्पतालमा भएको कोरोना परीक्षणका क्रममा स्वास्थ्यले नै कोरोनामुक्त घोषणा गरेको नेपालगन्ज उपमहानगरपालिकामै दुईजना संक्रमित भेटिए ।

स्वास्थ्यले आमनागरिकको स्वास्थ्य परीक्षणबिनै बाँकेको नेपालगन्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउँपालिकामा कोरोनामुक्त भएको घोषणा गरेको छ । बाँकेमा स्वास्थ्यले आमनागरिकको स्वास्थ्य परीक्षण गर्न चासो देखाएको छैन । उल्टै हचुवाका भरमा कोरोना संक्रमित सकिएको हावादारी सूचना सम्प्रेषण गरि आमनागरिकलाई त्रसित र भ्रमित बनाउँदै आएको छ । नेपालगन्ज उपमहानगर क्षेत्रमै करिब एक लाखबढी नागरिक बसोबास गर्छन् ।

तर, स्वास्थ्य कार्यालय लगायत कोरोना परीक्षणको जिम्मेवारी लिएका निकायले अहिलेसम्म २० हजार नागरिकको पनि स्वास्थ्य परीक्षण गर्न सकेका छैनन् । यस्तो अवस्थामा कसरी उपमहानगरपालिका कोरोना संक्रमण मुक्त हुनसक्छ आम नागरिकको चासोको बिषय बनेको छ । बुधबार दिउँसोको पछिल्लो परीक्षणमा नेपालगन्जमा दुई जना कोरोना संक्रमित थपिएका हुन । थपिएका संक्रमितहरुमा नेपालगन्ज–१४ का दुबै जना महिला रहेका छन् ।

उनीहरु २२ र ४५ वर्षका छन् । यसले पनि अझै उपमहानगर क्षेत्रमा संक्रमितको संख्या धेरै रहेको अनुमान गरिएको छ । सरकारले परीक्षणको दायरा बढाउन छोडेर उल्टै परीक्षणबिनै कोरोनामुक्त नगर घोषणा गर्नुले यस क्षेत्रका नागरिक अझै उच्च जोखिममै रहेको देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार बुधबार बिहानसम्म कोहलपुर नगरपालिकाका १०, खजुरा गाउपालिका ४, राप्तीसोनारी २, जानकी र बैजनाथ गाउपालिकामा १–१ जना गरी १८ जना संक्रमित भेटिएका छन् ।

कोरोना संक्रमित बिरामी निको भएको भनिएको नेपालगन्जमा फेरि संक्रमित थपिनुले स्वास्थ्यको रिर्पोट हचुवा भएको प्रमाणित गरिदिएको छ । बुधबार बैजनाथको बनकटवा आइसोलेसनबाट ७ र कोहलपुरको पिपरीबाट २ जना गरी ९ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् । कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागिरहेका बेला बाँकेका तीन पालिकाका क्वारेन्टिन र आइसोलेसनमा रहेका सबै कोरोना संक्रमित निको भएको स्वास्थ्यले हचुवा रिर्पोट सार्वजनिक गरेको थियो ।

जबकी यी तीन पालिकामै माग र आवश्यकताअनुसार नागरिकको स्वास्थ्य परिक्षण हुन सकेको छैन् । नेपालगन्ज, डुडुवा र नरैनापुर गाउँपालिकामा कोरोना संक्रमित केस शून्य रहेको बताएका कोरोना फोकल पर्सन श्रेष्ठले जिल्लामा १८ जना मात्र कोरोना संक्रमितले स्वास्थ्य उपचार लिइरहेका छन् । बाँकेमा कोरोना भाइरस संक्रमित उपचाररत ४ वटा आईशोलेशन मात्र सञ्चालनमा रहेका छन् । अन्य ८ वटा आईशोलेशन सेन्टर कोरोना संक्रमित नभएसगैं खाली रहेका छन् ।

बाँकेमा अझै पनि २१५ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको फोकल पर्शन श्रेष्ठ बताउँछन् । बाँकेमा हालसम्म ३६८ संक्रमित रहेकोमा ३४८ संक्रमण मुक्त भएर घर फर्केका छन् । दुई जनाको संक्रमणको कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जनस्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले पालिका सधै नभएर मंगलबार संक्रमित नभेटिएको भन्न खोजिएकोमा अन्यथा भएको बताएका छन् ।

२४ असार २०७७ मा प्रकाशित
Nabintech