लागुऔषध प्रयोगकर्तामध्ये ४० प्रतिशत बेरोजगार

पिपलबाेट संवाददाता


नेपालमा लागुऔषध प्रयोगकर्तामध्ये करिब ४० प्रतिशत बेरोजगार रहेको सरकारी अध्ययनले देखाएको छ।

गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाले गरेको सर्वेक्षणअनुसार नेपालमा लागुऔषध प्रयोग गर्नेमध्ये ४० प्रतिशतमा बेरोजगारी समस्या रहेको देखाएको हो।

शाखाले नेपालमा लागुऔषध प्रयोगकर्ताहरूको तेस्रो सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिक गर्दै १५ देखि १९ वर्ष उमेर समूहका सबैभन्दा धेरै ७३ दशमलव २ प्रतिशत रहेको जनाएको छ।

कूल प्रयोगगकर्तामध्ये ३९ दशमलव ७ प्रतिशत बेरोजगारी, १५ दशमलव ९ प्रतिशत व्यापार, १५ दशमलव ६ प्रतिशत दैनिक ज्यालादारी, नोकरी गर्ने ११ दशमलव ७, अध्ययन ८ दशमलव ७, वैदेशिक रोजगार ४ दशमलव १, कृषि क्षेत्रमा ३ र अन्य क्षेत्रमा कार्यरत शून्य दशमलव ६ प्रतिशत लागुऔषध प्रयोगकर्ता रहेको प्रतिवेदनमा उल्लेख छ।

लागुऔषध नियन्त्रण शाखाका उपसचिव झंकनाथ ढकालले लागुऔषध प्रयोगकर्ताको संख्या देशैभर बढेको भए पनि औसत वार्षिक वृद्धिदरमा भने कमी आएको बताए।

सबैभन्दा धेरै साथीसँगको सम्बन्धले ६७ दशमलव ७ प्रतिशतले लागुऔषध प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। त्यस्तै डुलन्ते बिक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेटको माध्यमबाट २ दशमलव ५ र अन्य शून्य दशमलव ४ प्रतिशत रहेको छ।

“२०६३ देखि ०६९ मा सर्वेक्षण गर्दा ११ दशमलव ३६ प्रतिशत थियो,” उनले भने, “अहिलेको तेस्रो सर्वेक्षणसम्म आइपुग्दा वार्षिक ५ दशमलव ६ प्रतिशत रहेको छ।”

तेस्रो सर्वेक्षणअनुसार नेपालमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या एक लाख ३० हजार ४२४ रहेको छ। २०६९ मा ९१ हजार ५ सय ३४ जना प्रयोगकर्ता रहेका थिए। त्यस्तै २०६३ मा ४६ हजार ३०९ जना प्रयोगकर्ता थिए।

सबैभन्दा धेरै साथीसँगको सम्बन्धले ६७ दशमलव ७ प्रतिशतले लागुऔषध प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। त्यस्तै डुलन्ते बिक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेटको माध्यमबाट २ दशमलव ५ र अन्य शून्य दशमलव ४ प्रतिशत रहेको छ।

सबैभन्दा बढी ५१ दशमलव १ प्रतिशतले एकान्त ठाउँ र २० दशमलव ४ प्रतिशतले घरमै यसको प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ। झाडीमा १२ दशमलव ८, होटल तथा रेस्टुरेण्टमा २ प्रतिशत, पाटी पौवामा डेढ प्रतिशत, पुलमुनि ४ दशमलव ३ प्रतिशतले लागुऔषध सेवन गर्ने गरेका छन्।

लागुऔषध प्रयोगकर्तामा १५ प्रतिशतमा हेपाटाइटिस बी र सी, ४ दशमलव १ मा मानसिक विचलन, ४ प्रतिशतमा क्षयरोग, ३ दशमलव ५ मा एचआइभी÷एड्स, २ दशमलव ५ मा एसटीडी र १ दशमलव ३ मा कुपोषणको समस्या देखिने गरेको प्रतिवेदनमा छ।

लागुऔषध प्रयोग गर्नुको मुख्य कारण साथीसँगीको दबाब देखिएको छ। शाखाका अनुसार ८९ दशमलव ४ प्रतिशतले साथीहरूको दबाबमा लागुऔषध प्रयोग गर्ने गरेका छन्। त्यस्तै ७२ दशमलव १ प्रतिशले मनोरञ्जनका लागि, ६२ दशमलव ५ प्रतिशतले उत्सुकताका लागि ४५ दशमलब ६ प्रतिशतले खुसी हुन ३० दशमलव ६ प्रतिशतले मानसिक तनावका कारण यसको सेवन गर्ने गरेका छन्।

यस्तै, पारिवारिक समस्याका कारण १८ दशमलव ९, डिप्रेसनका कारण १४ दशमलव ९ र पढाइमा आउने समस्याका कारण ८ दशमलव ९ प्रतिशतले लागुऔषध सेवन गर्ने गरेको अध्ययनले देखाएको छ।

अध्ययनका अनुसार ३४ दशमलव ९ प्रतिशतले धुँवाबाट, ३३ दशमलव ७ प्रतिशतले मुखबाट, २९ दशमलव ३ प्रतिशतले सुईबाट र सुँघेर २ दशमलव १ प्रतिशतले लागुऔषध प्रयोग गर्ने गर्छन्।

प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले लागुऔषध नियन्त्रण गर्न गृह मन्त्रालयले विभिन्न नीति नियम र योजना बनाइरहेको बताए।

“लागुऔषध समाजका लागि ठूलो समस्याको विषय हो,” उनले भने, “अहिलेको सर्वेक्षणले पनि आगामी रणनीति बनाउन सहयोग गर्छ।”

गृहसचिव महेश्वर न्यौपानेले लागुऔषध नियन्त्रण गर्र्न सर्वेक्षणले देखाएको अध्ययनअनुसार आवश्यक रणनीति बनाउनुपर्ने बताए।

२४ असार २०७७ मा प्रकाशित
Nabintech