एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले सिजनको सुरुवातमा इडेन हाजार्डलाई अनुबन्ध गरेपछि धेरैले रियलको सफलतामा उनको भूमिका महत्त्वपूर्ण हुने अनुमान गरेका थिए ।
हाजार्डसँगै आएका डिफेन्डर फर्लान्ड मेन्डीले रियलमा प्रभाव जमाउँदै उत्कृष्ट प्रदर्शन गरे । लियोनबाट ४८ मिलियन युरोमा आएका मेन्डीले लेफ्ट ब्याक पोजिसनमा क्लबका उपकप्तान समेत रहेका मार्सेलोसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । पछिल्लो सिजन केहि कमजोर प्रदर्शन गरेपछि रियलले दीर्घकालीन सुधारका रुपमा मेन्डीलाई ल्याएको थियो ।
सिजनको सुरुवातमा मेन्डी अनुबन्धन गर्दा रियलमाथि प्रश्न पनि उठेको थियो । क्लबमा एकेडेमीकै सर्जियो रेगुइलोन उपलब्ध हुँदाहुँदै जिदानले मोटो रकम खर्चनु अनावश्यक रहेको धेरैको बुझाइ थियो । तर रेगुइलोनलाई लोनमा सेभिल्ला पठाउँदै जिदानले मार्सेलो र मेन्डीलाई आवश्यकता अनुसार प्रयोग गरे ।
मेन्डीको दुवै खुट्टा चल्ने भएकाले पनि उनी डिफेन्सको दुवै विंगमा खेल्न सक्ने क्षमता राख्दछन् । जिदानले मार्सेलोको विकल्पका रुपमा अगाडी ल्याएका मेन्डीले आफूलाई रियलको पहिलो रोजाईमा नै स्थापित गर्ने क्षमता रहेको देखाएका छन् । मार्सेलोको सम्झौता अर्को सिजन सकिँदैछ । यस्तो अवस्थामा रियलमा पहिलो सिजनमा नै प्रभाव देखाएका मेन्डीले आउने दिनमा पनि यसै लयलाई कायम राख्ने देखिन्छ ।