लकडाउनपछि १७९ शव ल्याइए, सबैभन्दा बढी साउदी अरबबाट ६३

पिपलबाेट संवाददाता


कोरोना महामारीपछि विभिन्‍न मुलुकमा मृत्यु भएका १७९ नेपालीका शव स्वदेश ल्याइएका छन् ।कोरोना संकट व्यवस्थापन केन्द्रका अनुसार शनिबारसम्म ३० हजार ९४० जना नेपाल फर्किएका छन् ।  विदेशमा रहेका अलपत्र नेपालीहरूका स्वदेश फर्काउनका लागि १९९ वटा उडान भएका छन् । कोरोनाभन्दा बाहेकका कारणले मृत्यु भएका मानिसको धेरै शव ल्याइएको देश साउदी अरब रहेको छ । साउदीबाट मात्रै उद्धार उडानबाट ६३ वटा शव स्वदेश ल्याइएको छ । यस्तै कतारबाट ४६, मलेसियाबाट ४१, ओमनबाट १, कुवेतबाट ८, माल्दिभ्सबाट १ वटा शव ल्याइएको छ । यस्तै यूएईबाट ११, भारतबाट १ र बहराइनबाट ७ वटा शव स्वदेश ल्याइएको बोर्डले जनाएको छ ।  विदेशमा विभिन्‍न कारणले मृत्यु भएकाको शव वैदेशिक रोजगारी बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको छ । यसअघि मृतकका परिवारले घरसम्म शव लैजानका लागि काठमाडौं आएर वैदेशिक रोजगारी बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था थियो । तर, कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा मृतकका आफन्तजन आउन सक्ने अवस्था नहुँदा बोर्ड आफैंले शव बुझेर घरसम्मै पुर्‍याउने व्यवस्था मिलाएको हो ।

कोरोनाकै कारण विदेशमा मृत्यु भएका नेपालीहरुलाई भने त्यही देशमा अन्त्येष्टिका लागि वैदेशिक रोजगार बोर्डले सुरु गरेको छ । जसको लागि परिवारबाट सहमति प्राप्त हुने क्रम जारी रहेको बोर्डले जनाएको छ । -बाह्रखरी

४ श्रावण २०७७ मा प्रकाशित
Nabintech