धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १७.५० अङ्कले घटेर एक हजार ४३२.४४ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.९० अङ्कले घटेर ३०३.१४ मा पुगेको छ । आज कूल १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर रु एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ मा खरिद बिक्री भयो । कारोवार भएका कूल १२ मध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । होटल १३४.४५ र सामूहिक लगानी कोषको शेयर ०.०७ अङ्कले बढेको छ ।
ओरियन्टल होटल लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै तारागाउँ रिजेन्सी होटल ९.९५, सोल्टी होटल ९.४९, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था ६.४८, श्रीराम सुगर मिल्स ६.२७ र हिमाल दोलखा हाइड्रोपावर कम्पनीका शेयरधनीले ५.४३ प्रतिशतले कमाए ।
यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्था ८.६१, घलेम्दी हाइड्रोपावर ६.९०, सिनर्जी पावर डेभलपमेन्ट ६.५४, जोशी हाइड्रोपावर ५.८८, रिडी हाइड्रोपावर ५.८१ र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाए । – रासस