नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले वर्तमान अवस्थामा जनताको भावना बुझेर काम गर्नुपर्नेमा जोड दिईएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्र बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान विषयक विचार गोष्ठीमा बोल्ने वक्ताहरुले पार्टी र सरकारले जनताको भावनालाई कदर गर्दै नेपाली क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले नेपाली जनताको मुक्तिका लागि आजीवन लड्नुभएका पुष्पलालको विचारलाई नेकपाले अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले नेकपा आम जनता र कार्यकर्ताको पार्टी हुनुपर्नेमा जोड दिँदै पार्टी जनताको पक्षमा बनाउन कार्यकर्तालाई विश्वास गर्नुपर्ने बताए । अध्यक्ष खरेलले भने “नेता पनि आफ्नो अघिपछि कस्ता कार्यकर्ता छन भनेर सचेत हुनुपर्छ ।” अहिले पार्टीमा विचारको संघर्ष सुरु नभएको भन्दै उनले पार्टी एकता जोगाउँदै जनताको जनवादको बलमा समाजवादमा पुग्नसक्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मोहम्मद हारुनले कम्युनिष्ट पार्टी नीति विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्नेमा जोड दिएका छने । सामन्तवाद, निरंकुशताविरुद्ध आजीवन लडाइँ लड्नुभएका संस्थापक नेता पुष्पलालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पुष्पलालको विचारमा नेकपा लाग्नुपर्ने र पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाई मुलुकमा समाजवाद ल्याउन सकेमात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले चर्चा गरेका छन् ।
पुष्पलाल मित्रता केन्द्र बाँकेका अध्यक्ष लालबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बाँकेका सचिव अशोक कोइराला, कार्यालय सदस्य रत्न खत्री, नेकपाका नेता दिपक जिएमले पुष्पलालले भनेझै कम्युनिष्ट पार्टीमा नेता प्रधान नभई नीति प्रधान हुनुपर्नेमा जोड दिएका थिए ।