२२ वर्षिय छोरी प्रतिभाले गरिन बुवाको किरिया

पिपलबाेट संवाददाता


हिन्दु धर्म अनुसार काजकिया गर्दा छोराको हातबाट मात्र कर्म चाल्ने परम्परा रहेको छ । विशेष गरी छोरीहरुलाई कसैको पनि काजकिरिया गर्न नमिल्ने धार्मिक परम्परा रहेको छ । तर बाँकेको नेपालगञ्ज १९ मा एक जना छोरी आफ्नो बुवाको किरिया बसेकी छिन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ का दिपक गिरीको असार ३१ गते निधन हुँदा उनकी २२ वर्षिय छोरी प्रतिभा गिरी अहिले किरियामा बसेकी छिन् । छोरा छोरी दुवै बराबर भएका कारण छोरीले पनि बुवाको किरिया बस्न पाउनुपर्ने भन्दै आफु पनि बुवाको किरिया गरिरहेको बताईन् । बुवाको किरिया गर्न केहि समस्या हुने भने पनि आफुले किरिया गर्न सक्ने भनेरै किरिया बसेको उनको भनाई छ । त्यस्तै नेपाली समाजमा अहिले पनि छोरीबाट काजकिरियाका लागि कर्म चल्दैन भने विचारका विरुद्ध छोरीलाई नै किरिया बस्न लगाएको आमा जुद्ध डिसी (गिरी)ले बताईन् । साथै उनले सन्तानका रुपमा एक मात्र छोरी भएका कारण छोरी नै किरिया बसिरहेको बताउँदै समाजमा अब छोरीबाट पनि कर्म चल्छ भन्ने धारण बसाउन आवश्यक रहेको उनले बताईन् । एक मात्र सन्तान छोरी नै भएका कारण बुवाको किरिया उनले गरिरहेको र आफु पनि बसिरहेको माईला काका पुष्पराज गिरीले जानकारी दिएका छन् । समाजमा छोरा नहुँदा काजकिरिया कसले गर्ने भनेर मानसिक तवान लिन आवश्यक नरहेको बताउँदै छोरीकै हातबाट कर्म चलाउनुपर्ने उनी बताउँछन् । स्वार्गिय दिपक गिरीको केहि वर्ष पहिला पाईल्सको अपरेसन गरिएको र पछि प्रेसरको बिरामी हुँदा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

११ श्रावण २०७७ मा प्रकाशित
Nabintech