बालबालिकाका लागि अभिभावकले बुझ्नैपर्ने पाँच कुरा

पिपलबाेट संवाददाता


बालबालिकालाई हामी केही न केही सिकाइरहेका हुन्छौं । यो गर, त्यो नगर, यस्तो काम राम्रो, यस्तो नराम्रो । तर, बालबालिकालले त्यती मात्र सिक्दैनन्, जति हामी सिकाइरहेका हुन्छौं । बरु, उनीहरुले त थाहै नपाई हामीबाट धेरै कुरा सिकिरहेका हुन्छन् । खासगरी हाम्रो बोली, व्यवहार, आचरण, प्रवृत्ति सबै कुरालाई उनीहरुले सुक्ष्म ढंगले नियालिरहेका हुन्छन् र त्यही कुरा उनीहरुले अनुसरण गरिरहेका हुन्छन् ।

यसर्थ घर एउटा खुला विद्यालय हो बालबालिकाका लागि । र, आमाबुवा, परिवार वा घरको वातावरण नै उनीहरुको गुरु हुन्, जसबाट उनीहरुले केही न केही सिकिरहेका हुन्छन् । कतिपय अभिभावकको अपेक्षा के हुन्छ भने, बालबालिकाले यसो गरिदिए हुन्थ्यो, यसो नगरिदिए हुन्थ्यो । जबकी आफु स्वयम् भने त्यस्तो काम गरिरहेका हुन्छन् । जस्तो, बालबालिका समयमा सुतिदिए हुन्थ्यो भन्ने सोच्छन् । आफुभने ओछ्यानमा पसेर पनि मोवाइलमा मग्न हुन्छन् ।

धेरै अभिभावकले आफुले नगर्ने तर बालबालिबाट भने यस्तो गरिदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । आफुले गर्न नसक्ने अथवा गर्न नचाहने कुराकानी आफ्ना बालबालिकाले पुरा गरोस् भन्ने चाहना राख्छन् । त्यस्तो अपेक्षाको परिणाम सधै राम्रो आउँछ भन्ने हुँदैन । बालबालिबाले प्रशस्त प्रयास गर्दागर्दै पनि ति कुराहरु गर्न नसकेको हुन्छन् । तसर्थ अभिावकले उनीहरुबाट अपेक्षा राख्नुअघि आफुले पनि त्यस्ता काम गर्ने प्रयास गर्नुपर्छ । यहाँ हामीले हाम्रा बालबालिकालाई हुर्काउने क्रममा परिवारभित्र गर्नुपर्ने पाँचवटा महत्वपूर्ण कुरा उल्लेख गरेका छौं ।

डा. विजय ज्ञवाली

नियम बालबालिकाको लागि मात्र लागु हुने

हामीले बालबालिकाको निम्ति विभिन्न नियम बनाएका हुन्छौं । तर, दैनिक जीवनमा ती नियम भने आफुले पालना गर्दैनौं । यसैको कारण बालबालिकालाई नियम भनेको पालना नगरे पनि हुने रहेछ भन्ने धारणा विकास हुन्छ । जुन नियम उनीहरुको लागि बनाइएको हुन्छ, त्यो नियम हामीमा पनि लागु हुनुपर्छ ।

यदि उनीहरुका  लागि मात्र यस्तो नियम बनाइन्छ भने उनीहरुलाई त्यसबारे राम्ररी मनन गराउन जरुरी छ । जस्तो उदाहरणका लागि स्कुलबाट फर्किएपछि तपाईंको बच्चाले आफ्नो जुत्ता राम्ररी मिलाएर राख्नु भन्ने तपाईंको चाहना राख्नुहुन्छ भने त्यसको सुरुवात तपाईं आफैबाट गर्नुपर्छ ।

उनीहरुलाई पटक पटक तपाईंले जुत्ता मिलाएर राख्नुपर्छ भनेर सिकाउनुहुन्छ भने त्यो त्यती प्रभावकारी हुँदैन जति तपाईं स्वयम् त्यस्तो व्यवहार गर्नुहुन्छ । अर्थात तपाईं आफै जुत्ता मिलाएर राख्ने गर्नुहुन्छ भने तपाईंको व्यवहारबाट बच्चाले सिक्छन् । भनिन्छ नि, उपदेश भन्दा उदाहरण ठूलो हो । अतः घरमा बालबच्चाका लागि अभिभावकले आफुलाई उदाहरणको रुपमा पेश गर्नुपर्छ ।

धन्यवादको प्रयोग

हामीकहाँ धन्यवादको प्रयोग दुर्लभ छ । घरभित्र वा परिवारमा त यसको प्रयोग गरिदैन भने पनि हुन्छ । यसलाई केवल औपचारिक रुपमा मात्र प्रयोग गरिन्छ । तर, धन्यवादको प्रयोग हामीले व्यवहारिक प्रयोगमा ल्याउनुपर्छ, त्यो पनि आफ्नै घरभित्र ।

बालबालिकाका निम्ति मात्र नभएर परिवारका अन्य सदस्यवीच पनि धन्यवादको प्रयोग गर्दा त्यसले राम्रो प्रभाव पार्छ । अक्सर सही काम गरेको बखत हामी कसैलाई धन्यवाद भनेर कृतज्ञता व्यक्त गर्छौं, ढाडस दिन्छौं । यसले गर्दा बालबच्चालाई के प्रभाव पर्छ भने राम्रो काम गरेपछि धन्यवाद पाइन्छ । उनीहरुले के काम राम्रो वा के नराम्रो भन्ने भेद समेत छुट्याउन सक्छन् । यसले उनीहरुलाई राम्रो काम गर्न प्रेरित गर्छ । धन्यवादको प्रयोग सकारात्मक मनोविज्ञानको विकासको लागि पनि अत्यन्त महत्वपूर्ण हुन्छ ।

गलत डर र झुटको प्रयोग

बालबालिकाहरु स्वभावले नै अलिकति चकचके हुन्छन् । त्यस्तो अवस्थामा उनीहरुलाई नियन्त्रण गर्नक लागि अभिभावकले विभिन्न प्रकारको डर झुटको प्रयोग गर्ने गर्छन् । बालबालिकालाई नियन्त्रण गर्न विभिन्न प्रकारको डर प्रयोग गर्दा उनीहरुमा बढी नकारात्मक असर गर्ने संभावना रहन्छ । जस्तो उदाहरणका लागि हामी भन्छौं, ‘यदि तिमीले मैंले भनेको मानेनौ भने म तिमीलाई छाडेर जान्छु ।’

तर, यर्थाथ त्यस्तो हुँदैन । बच्चालाई छाडेर अभिभावक कतै जाँदैन । यसले गर्दा बच्चामा के धारणा विकास हुन्छ भने मेरा अमाबुवा झुट बोल्छन् । त्यसैल े बालबालिकालाई डर देखाउने बाहानामा झुटको साहारा लिनु उचित हुँदैन ।

गल्ती सच्याउने अवसर

बालबालिकाले गर्ने गल्तीलाई हामीले पटक पटक सच्याइदिने गर्छौं । यसरी सच्याइदिँदा बालबालिका आफैले आफ्नो समस्यालाई सच्याउने मौका पाउँदैनन् । यसको कारणले गर्दा उनीहरुमा गल्ती गर्दाखेरी कसरी सुधार गर्नुपर्छ भन्ने कुराको अभ्यास हुन पाउँदैन । बालबालिकाले गर्ने साना साना गल्तीलाई हामीले आफैले सच्याउने होइन । बरु, उनीहरुलाई नै गल्ती महसुष गर्न दिनुपर्छ र सच्याउने प्रयास गराउनुपर्छ ।

यसले उनीहरुको सीप विकासमा पनि सहयोग पुग्छ । बालबालिकामा भएको मानसिक लचकता विकास  गर्नका लागि महत्वपूर्ण हुन्छ । बालबालिकामा भएको मानसिक लचकताले उनीहरुलाई विषय परिस्थितिमा पनि आफ्नो समस्यालाई समाधान गरेर अगाडि बढ्न सक्ने बनाउँछ ।

गुणस्तरिय समय

बालबालिकाको साथमा हामी कति समय बिताउँछौं भन्ने कुरा जति महत्वपूर्ण हुन्छ त्यति नै महत्वपूर्ण हामीले उक्त समयलाई कसरी बताउँछौं भन्ने कुरा रहन्छ । तसर्थ बालबालिकाको साथमा रहने समय कति लामो भन्ने भन्दा पनि कति गुणस्तरिय छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हामी उनीहरुको साथमा रहेता पनि उनीहरुसँग पर्याप्त मात्रामा संवाद गरिरहेका हुँदैनांै । उनीहरुको कुरा सुन्ने, उनीहरुको भावना बुझ्ने, उनीहरुसँग खेल्ने गरिरहेका हुँदैनौं । यसरी उनीहरुसँग अन्र्तक्रियात्मक सम्बन्ध बिताउँदैनौं भने त्यो समय व्यर्थ हुन्छ ।

बालबालिकालाई के महसुष हुनुपर्छ भने मेरो अभिभावक शारीरिक रुपमा मात्र होइन, भावनात्मक रुपमा पनि मेरो साथमा छन् ।

बालबालिकाको साथमा परिवारमा रहँदा उल्लेखित पाँचवटा विषयमा हामीले ध्यान दियौं भने उनीहरुमा सकारात्मक विचार विकास मात्र नभएर सकारात्मक व्यवहारको विकास गर्न हामीले महत्वपूर्ण भूमिका खेल्न सक्छौं जस्तो मलाई लाग्छ ।

लेखक क्लिनिकल मनोविाज्ञ हुन्

११ श्रावण २०७७ मा प्रकाशित
Nabintech