खाना अभियान कोहलपुमा प्रवेश, मेयर रावतद्धारा शुभारम्भ

पिपलबाेट संवाददाता


माइती नेपालले सञ्चालन गरेको खाना अभियान बाँकेको कोहलपुरमा प्रवेश गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा चलिरहेको अभियान सोमबारदेखि कोहलपुर प्रवेश गरेको हो । अभियानलाई कोहलपुरका मेयर लुट बहादुर रावतले शुभारम्भ गर्नुभएको छ । हवल्दारपुरस्थित माध्यमिक बिद्यालयमा संचालन अभियानको पहिलो दिन मेयर रावतले खाना बितरण गर्दै आर्थिक अवस्था कमजोर भएको परिवारलाई अभियानले राहत पुग्ने धारणा राख्नुभयो । उहाँले महिला तथा बालबालिकाहरुको बेचबिखन कार्य नियन्त्रणमा सक्रिय माइती नेपालको यस अभियानले धेरै व्यक्तिलाई सकारात्मक शन्देश दिने बताउनुभयो । पहिलो दिन हवल्दारपुरका दुई सय पाँच जनालाई खाना बितरण गरिएको छ । गत असार १६ गते शुरु भएको अभियानले हालसम्म सात हजार तीन सय बढिलाई खाना बितरण गरिसकेको छ ।यस क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा न–१२ स्थित बेलासपुर, बिटिएस चोक, नयाँबस्ती, वडा नं–१३ को घसियारनटोल, खटिकनपुर्वा, मसानघाट, बुलबुलिया, वडा नं–१९ को आलानगर, मोहनपुर, वडा न–२० को गायत्रीनगरमा खाना बितरण गरिएको छ । यस्तै नेपालगञ्ज क्वारेन्टिनमा बस्ने तथा निलसागर बृद्धाश्रममा रहेका व्यक्तिहरुलाई पनि यस अभियानका क्रममा खाना बितरण गरिएको छ । कोरोना महामारीको प्रकोपका कारण सबैतिर समस्या भएपनि दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका व्यक्तिलाई परिवार पाल्न झनै गाह्रो बनाएको छ । बिद्यमान अवस्थालाई केही सहज बनाउन तथा खासगरी महिला र बालबालिकालाई पौष्टिक एक छाक खानाले उनीहरुको दैनिक जीवनयापनलाई थोरै भएपनि सहयोग पुगोस भनेर अभियान शुरु गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।स्थानीय तहको सहकार्यमा यूएन वुमनको सहयोगमा सञ्चालित यस अभियानका क्रममा नेपालगञ्जकी उपमेयर उमा थापामगर, १२ का वडाअध्यक्ष बुद्धिसागर सुबेदी, १९ का वडा अध्यक्ष प्रशुराम बर्मा लगायत सहभागि हुनुभएको छ । दैनिक रुपमा बिहानको एक छाक खाना बितरण गरिँदै आएको अभियान अन्तर्गत १४ हजारलाई एक छाक खाना खुवाइनेछ ।

१२ श्रावण २०७७ मा प्रकाशित
Nabintech