सागका स्वर्ण विजेतालाई कांग्रेसले यसै साता सम्मान गर्ने

पिपलबाेट संवाददाता


नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई यसै साता सम्मान गर्ने भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सागका स्वर्ण पदक विजेतालाई शुक्रबार सम्मान गर्न लागिएको विभागका सचिव मिनकृष्ण महर्जनले जानकारी दिएका छन् । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मकै सर्वाधिक सफलता हात पार्ने क्रममा ५१ स्वर्ण पदकसहित २ सय ७ पदक जितेको थियो । ३६ वर्षे साग इतिहासको पदक तालिकामा नेपाल दोस्रो भएको त्यो दोस्रो अवसर हो । त्यसअघि आठौं सागमा पनि नेपाल पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो । कांग्रेसले स्वर्ण पदक विजेता व्यक्तिगत र समूहगत सबैलाई समान १० हजार रुपैयाँ दिने तयारी गरेको विभागका उप संयोजक मोहन राईले बताए । दोहोरो स्वर्ण पदक जित्ने ३ खेलाडीले १५ र ४ स्वर्ण पदक जित्नेतलाई कांग्रेसले २५ हजार रुपैयाँ दिने भएको छ । पौडीकी गौरिका सिंहले १३ औं सागमा ४ स्वर्ण पदक जितेकी थिइन् भने तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुबास तामाङले समान २ स्वर्ण पदक जितेका थिए । समूहगत खेलमा नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेका थिए ।

संघिय राजधानीमा रहेका स्वर्ण पदक विजेतालाई पार्टी कार्यालय सानेपामा आयोजना हुने कार्यक्रममा सम्मान गरिने र जिल्लामा हुने खेलाडीको हकमा सोही जिल्लामा पार्टीमार्फत सम्मान गरिने उपसंयोजक राईले बताए । केहि दिन अघि विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्को चरणमा सागका रजत र कास्य पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने विभागका संयोजक मोहनबहादुर बस्नेतले बताएका थिए ।

१२ श्रावण २०७७ मा प्रकाशित
Nabintech