अष्‍ट्रेलियाको डढेलोमा तीन अर्ब जीवजन्तु प्रभावित

पिपलबाेट संवाददाता


अष्‍ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जंगल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ। अष्‍ट्रेलियास्थित धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनपायी, दुई अर्ब ४६ करोड सरीसृप (घस्रने प्राणी), १८ करोड चराचुरुङ्गी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएका उल्लेख छ। डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन नगरिए पनि अधिकांश यी जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएको बताइएको छ। प्रतिवेदन लेखकमध्येका एक क्रिस डिकम्यानले आगोबाट जोगिन अन्यत्र गए पनि यी जनावरका लागि उपयुक्त आहारा, बस्ने ठाउँ र अन्य जनावरको आक्रमणबाट जोगिने अवस्था नदेखिएको बताए।  सन् २०१९ को अन्त्य तथा सन् २०२० को शुरूआती महीनामा अष्‍ट्रेलिया जंगलहरूमा लामो सुख्खाका कारण भीषण आगलागी भएको थियो । आगलागीबाट करिब एक लाख १५ हजार वर्ग किलोमिटरको वनक्षेत्र ध्वस्त भएको थियो । त्यस्तै ३० जनाभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै जंगल आसपासका हजारौं घर डढेका थिए । वैज्ञानिकहरूले जलवायू परिवर्तनको असरका कारण सुख्खा र डढेलोको समस्या देखिएको बताउँदै आएका छन्। जनवरीमा सार्वजनिक गरिएको अर्को एक अध्ययनमा सर्वाधिक प्रभाव परेका पूर्वी राज्यहरु न्यू साउथ वेल्स र भिक्टोरियामा एक अर्ब हाराहारीमा जीवजन्तु मरेको उल्लेख थियो।

तर, मंगलबार सार्वजनिक सर्भे प्रतिवेदनमा सिंगो अस्ट्रेलिया महादेशको अवस्था विश्लेषण गरिएको सिड्नी विश्वविद्यालयका मूख्य वैज्ञानिक लिली भान एडेनले बताए।  सर्भेका नतिजाहरुलाई अझै पनि विश्लेषण गर्नेक्रम जारी छ । प्रतिवेदनको अन्तिम नतिजा अर्को महीनाको अन्त्यतिर सार्वजनिक गर्ने योजना रहेको छ । तर मृत्यु भएका जीवजन्तुको संख्या फेरबदल नहुने अध्ययन टोलीले जनाएको छ। रासस/एएफपी

१३ श्रावण २०७७ मा प्रकाशित
Nabintech