चार महिने बन्दाबन्दीको औचित्य ?

पिपलबाेट संवाददाता


कोरोना महामारीका त्रासले विगत चार महिनादेखि गरिँदै आएको बन्दाबन्दी (लक डाउन) साउन ६ गते रातिबाट हटाइएको छ । चीनको वुहानबाट सुरु भएको महामारी विश्वका अन्य मुलुकमा समेत फैलन थालेपछि संसारभर त्रास बढायो । सन् २०२० को जनवरी ३ तारिखमा चीनबाट फर्केका एक विद्यार्थीमा सङ्क्रमण पुष्टि भएपछि यसको त्रास देशभर फैलियो । नेपाल सरकारले नेपाल भ्रमण वर्ष, २०२० आयोजना गरेकाले सुरुमा पर्यटन मन्त्रालयले कोरोनामुक्त देशका रुपमा नेपाललाई चिनाउने प्रयाससमेत गर्‍यो । तर, सबैतिर सङ्क्रमण व्याप्त हुन थालेपछि र विश्व स्वास्थ्य सङ्गठनले दबाब दिएपछि अन्ततः भ्रमण वर्ष रद्द गरी सङ्कट सामनाका उपायतिर लाग्यो ।

गत २०७६ चैतको ६ गतेदेखि सुरु हुन लागेको प्रवेशिका परीक्षालाई अघिल्लो दिनमात्र रोकेर जनतालाई सतर्क रहन आग्रह गरेको सरकारले सोही महिनाको ११ गतेबाट देशभर ‘लकडाउन’ लागू गर्‍यो । पटकपटक लम्याउँदै जाँदा लकडाउनको अवधि गत ६ गते चार महिना पुग्यो । यसबीचमा भारतबाट हजारौँको सङ्ख्यामा नेपालीहरु विनाचेकजाँच स्वदेश भित्रिए । फलस्वरूप सङ्क्रमणको दर बढ्दै गयो । बन्दाबन्दी घोषणा गर्नेे समयमा नेपालमा एकजना मात्र सङ्क्रमित फेला परेका थिए भने सङ्क्रमितको सङ्ख्या बढ्दै  १८ हजार आसपास पुगेका बेला बन्दाबन्दी हटाइएको छ ।

प्रेमनारायण भुसाल

बन्दाबन्दीका कारण आर्थिकलगायत देशका सम्पूर्ण गतिविधि चार महिनासम्म ठप्प भए ।  जनताको स्वास्थ्यसँग सम्बन्धित विषय भएकाले बन्दाबन्दीका कुप्रभावलाई पनि जनताले सहजरुपमा स्वीकार गरे तर अवस्थामा कुनै सुधार नहुँदै मन्त्रिपरिषद्को निर्णय भनी अकस्मात् फिर्ता लिँदा जनमानसमा क्षणिक खुकुलो महसुस भए पनि दीर्घकालीनरूपमा यसको असर के कस्तो पर्ने हो भन्ने विषयले झनै चिन्ता थपिदिएको छ ।

भारतमा लकडाउन खुकुलो बनाउनासाथ विभिन्न ठाउँ कोरोना ‘हटस्पट’ बनेका छन् भने युरोपका कैयौं मुलुकमा पुनः लकडाउन गरिएका घटना पनि देखिएका छन् ।

नेपालका सन्दर्भमा लकडाउनको अन्त्य भनेको कोरोनामाथिको विजय हो भन्ने किसिमको जनधारणा देखिन्छ । यस विषयमा सरकारले जनतालाई न त स्पष्ट पार्न सक्यो न त सुरक्षा सतर्कता बढाउँदै बिस्तारै लकडाउनलाई खुकुलो नै बनाउन सक्यो । एकैपटक बन्दाबन्दीको अन्त्य भनेर घोषणा गरेकै कारण पूर्वतयारीविना केही ठाउँमा विद्यालय खोल्ने कामसमेत भयो भने बजार तथा सार्वजनिक क्षेत्रमा भिडभाड बढ्न थाल्यो । काठमाडौंजस्तो जनघनत्व बढी भएका क्षेत्रमा सुरक्षा सावधानी नअपनाउने हो भने भारतको राजधानी दिल्लीकै जस्तो अवस्था आउन सक्नेमा ध्यानै दिइएन । यसको पूर्व सङ्केत काठमाडौंमा दिनहुँ सङ्क्रमित भेटिनु नै हो ।

आवश्यक सतर्कता अँगालेर लकडाउनमात्र खुकुलो पारिएको हो, जोखिम झनै बढ्दो छ भन्ने सन्देश जनमानसमा दिन कत्ति ढिलाइ गर्नुहुँदैन । जनस्वास्थ्यविद् तथा बौद्धिक समुदाय अहिले चार महिने लकडाउनको औचित्य के रह्यो भन्ने विषयमा बहस गर्न थालेका छन् ।

महामारी सामना गर्ने दुई तरिका

कोभिड १९ जस्ता सरुवा रोगबाट जनतालाई सुरक्षित राख्न संसारभर विगतमा र अहिले पनि मूलतः दुईवटा विधि अभ्यासमा ल्याइने गरेका छन् । सङ्क्रमितसँग सम्पर्कमा आउने माध्यमहरु बन्द गरी पूरै समाज, देश वा भूगोललाई सम्बन्धविच्छेद गर्ने पहिलो विधि बन्दाबन्दी हो । बन्दाबन्दीको मूल तात्पर्य शङ्कास्पद सङ्क्रमितसँग समुदायको सम्पर्क हुनबाट रोकी समुदायलाई अलग र सुरक्षित राख्नु हो । सङ्क्रमण भइसकेपछि उपचार नहुने वा उपचार गर्नुभन्दा सङ्क्रमण हुनबाट रोक्ने उपायहरू प्रभावकारी हुने सन्दर्भमा यस विधिलाई अवलम्बन गरिन्छ । यो विधि आफैँमा उपचार नभए पनि सङ्क्रमणबाट बच्ने प्रभावकारी उपाय भने हो ।

महामारीमा अपनाइने दोस्रो तरिका जटिल अवस्थामा पुगेका व्यक्तिका लागि उपचार गर्न अत्याधुनिक उपकरणसहित अस्पतालको व्यवस्था गर्नु हो । सामान्य अवस्थामा  प्रकोपसँग व्यक्ति स्वयंले प्रतिवाद गर्ने र अवस्था जटिल बन्न थाले गुणस्तरीय उपचार प्रदान गरी मृत्युदरलाई कम गर्ने उद्देश्य यसमा राखिएको हुन्छ । खोप उपलब्ध नहुँदासम्म केही हदसम्म प्राकृतिक सामूहिक प्रतिरक्षा (हर्ड इम्युनिटी) विकास गर्ने मनसाय दोस्रो तरिकामा रहेको हुन्छ । संसारका धेरैजसो देशहरुले बन्दाबन्दीको विधिलाई आत्मसात गरी सङ्क्रमणलाई कम गर्ने प्रयास गरे भने अमेरिकालगायतका केही देशले बन्दाबन्दी घोषणा नगरी आफ्नो देशको स्वास्थ्योपचार पद्धतिलाई सबलीकरण गर्दै महामारीसँग लडे ।

नेपालको सन्दर्भमा यी दुईमध्ये कुनै पनि विधि पूर्णरुपमा कार्यान्वयन हुन सकेन । सङ्क्रमितहरू भेटिन थालेपछि पनि लामो समयसम्म अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्न र खुला सिमानाका कारण भारतबाट भित्रिने नागरिकलाई व्यवस्थित किसिमले क्वारेन्टिनमा राख्न नसक्दा सङ्क्रमणको दर तीव्र बन्यो । चार महिनासम्मको बन्दाबन्दीका कारण देशको अर्थतन्त्र, शिक्षालगायतका सम्पूर्ण क्षेत्रमा दीर्घकालीन असर पर्‍यो भने सङ्क्रमण पनि दिनानुदिन बढ्दै गएको छ । खुला सीमाना भएको भारतमा सङ्क्रमणको दर दिनानुदिन बढ्दै जानु र नेपालमै पनि समुदाय स्तरमा सङ्क्रमण छिरिसकेको आशङ्का भइरहेको अवस्थामा सावधानीका संयन्त्रहरूको निर्माण नगरी एकैचोटि बन्दाबन्दी हटाउँँदा संक्रमणले आगामी दिनमा झनै भयावह रुप लिने आशङ्का गर्न थालिएको छ ।

यसबीचमा अस्पतालहरूको स्तरोन्नति गर्ने र जटिल अवस्थामा पुगेका व्यक्तिको उपचारका लागि सघन उपचार कक्षको सङ्ख्या थप्ने दिशामा पनि कुनै काम हुन सकेको छैन । एकातिर तयारीबिना बन्दाबन्दी हटाउने र अर्कातिर उपचार पद्धतिमा पनि कुनै सुधार गर्न नसक्नुले नेपालले आत्मसात गर्न खोजेको विधिले महामारी नियन्त्रणका लागि विश्वभर प्रयोगमा ल्याइएका कुनै पनि विधिसँग तादात्म्य राख्न सक्दैन । स्पष्ट कार्यदिशाविना दुवै विधिका आंशिक पक्षलाई मात्र ग्रहण गर्न खोज्दा हाम्रो आगामी यात्रा दुईटा डुँगामा खुट्टा राखेर गरिने यात्राजस्तै अनिश्चित र विनाशकारी त बन्ने होइन ?

अकस्मात् किन हटाइयो बन्दाबन्दी ?

कोरोना महामारीको एकमात्र अचुक औषधि बन्दाबन्दी होइन तर पनि सङ्क्रमित व्यक्तिको उपचारको उचित सुविधा नभएका मुलुकका लागि रोग लागेर मर्नुुभन्दा रोग लाग्न नदिने माध्यमका रुपमा बन्दाबन्दीलाई लिने गरिन्छ । यतिमात्र नभएर सरकारले स्वास्थ्यसम्बन्धी पूर्वाधारको विकासमा ध्यान एकत्रित गर्न सकोस् भन्ने उद्देश्यले रोगविरुद्ध लड्ने पूर्वतयारी वा अस्पतालहरुलाई साधनस्रोत सम्पन्न बनाउने अवसरका रूपमा समेत बन्दाबन्दीलाई प्रयोग गर्ने गरिन्छ । नेपालका सन्दर्भमा बन्दाबन्दी न त पूर्णरुपमा कार्यान्वयन भयो न त यसबीचमा देशको स्वास्थ्य क्षेत्र र अस्पतालहरूलाई स्तरोन्नति गर्ने काम नै भयो । नागरिकहरू पट्यारलाग्दो बन्दाबन्दीबाट आजितमात्रै भए । फलस्वरूप,बरु महामारीले मराैँ, त्रासमारी र भोकमरीका कारण मर्ने अवस्था सिर्जना नहोस् भनी आवाजसमेत उठ्न थालेको थियो । सरकारले जनताको यही आवाजलाई सुनेर बन्दाबन्दी अन्त्यको घोषणा गरेको भने होइन । सरकारले बन्दाबन्दीको मोडालिटीलाई समय समयमा परिवर्तन गर्दै आएको सन्दर्भमा बन्दाबन्दीको ढाँचामात्र परिवर्तन हुनसक्ने अपेक्षा गरिएको थियो ।

एकाएक हवाई यातायात, विद्यालय, धार्मिक क्षेत्र र पार्टी प्यालेसलगायतका सीमित क्षेत्रलाई छोडेर अन्य सबै क्षेत्रमा बन्दाबन्दी अन्त्य गर्नुका पछाडि विभिन्न कारणहरु रहेको आकलन र आशङ्का गर्न थालिएको छ । असार दोस्रो सातासम्म दैनिक सरदर ८ हजार नमुना सङ्कलन र परीक्षण हुँदै आएकोमा अहिले चारदेखि साढे चार हजार नमुना परीक्षणमा सीमित भई सङ्क्रमितको सङ्ख्या घटेको देखाउने काम गरिएको छ ।

भारतबाट नेपाल आउने नागरिकहरूको सङ्ख्या घटेसँगै सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको देखिन्छ भने क्वारेन्टिनमा बसेका नागरिकलाई पनि निश्चित समयपछि परीक्षणबिनै घर पठाउने काम गरिएकाले पनि सङ्क्रमितको सङ्ख्या घटेर गएको देखिन्छ । स्वास्थ्य विभागको तथ्याङ्कअनुसार देशभर भएका सङ्क्रमितमध्ये ६ देखि ७ प्रतिशत कतै यात्रा नगरेको वा कुनै पनि ‘ट्राभल हिस्ट्री’ नभएका नागरिक छन् । यसै तथ्याङ्कका आधारमा पनि कोभिड–१९ ले समुदायस्तरमा प्रवेश गरिसकेको आशङ्का स्वास्थ्यकर्मीहरुले गरेका हुन् । अर्काथरी मानिसहरु सरकारले कोरोना नियन्त्रणमा सफलता हासिल गरेको झुठो सत्यलाई स्थापित गरी तुरुन्तै जस लिन लकडाउन अन्त्यको निर्णय गरेको आशङ्का गर्छन् ।

उनीहरुका अनुसार सबैतिर खुला गरिँदा सङ्क्रमण पुनः तीव्र हुने र सरकारले त्यसलाई दोस्रो चरणको संक्रमणका रूपमा अथ्र्याउने सम्भावना रहेको छ । सरकार आन्तरिक द्वन्द्वका कारण शक्तिसन्तुलनमा व्यस्त भएको बेला व्यापारीहरूको दबाब थेग्न नसकेको शङ्का पनि गरिएको छ भने वैज्ञानिक आधारविनाका कहानीमा रमाउँदै आएको सरकारले यस्तै कहानीलाई नै वास्तविकता ठानी अपरिपक्व निर्णय गरेको आरोप अर्काथरीले लगाएका छन् ।

अब के गर्ने ?

खुला सिमाना भएको छिमेकी मुलुक भारतमा सङ्क्रमण तीव्ररुपमा बढिरहेको छ । भारतको सरकारी तथ्याङ्कले दिल्लीमा प्रति चारजनामा एकजना सङ्क्रमित भएको विवरण दिएको छ । नेपालमा परीक्षणको दायरा बढाउने भनिए पनि झनै खुम्चिन पुगेको छ तर पनि प्रतिदिन सय जनाभन्दा बढी सङ्क्रमित भेटिइरहेको अवस्था छ । जनस्वास्थ्यकर्मीले भनेजस्तै काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा बाह्य सङ्क्रमितसँगको कुनै सम्पर्क नभएका व्यक्तिमा समेत सङ्क्रमण पाइएकाले महामारीले कुनै न कुनैरुपमा जनस्तरमा प्रवेश गरिसकेको छ ।

अबको नागरिकले आफ्नो सुरक्षा आफैँ गर्ने हो । लकडाउनको अन्त्य भनेको महामारीको अन्त्य हो भन्ने भ्रमबाट मुक्त भई सुरक्षा सावधानीका सम्पूर्ण संयन्त्रहरू अँगालेर दैनिक क्रियाकलापलाई सञ्चालन गर्दै अघिबढ्नु आजको आवश्यकता हो । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय तथा जनस्वास्थ्य विभागले भनेजस्तै आम रुपमा सुरक्षा सावधानी अँगालेर सतर्कतापूर्वक काम गर्नुपर्छ । यसो नगरिएमा आगामी दिन झनै कष्टकर हुनसक्ने सम्भावना रहन्छ ।

सरकारले लकडाउनको अन्त्य गरेर अब कुनै किसिमको जोखिम छैन भन्ने सन्देश दिन खोजेको होइन, महामारी त्राशमारी तथा भोकमरीतर्फ रूपान्तरित नहुँदै सावधानीपूर्वक अत्यावश्यक कामहरू सञ्चालन गर्नका लागि वातावरण तयार गरिएकोमात्र हो भन्ने बुझी हात धुने, मास्क लगाउने, भिडभाडमा नजाने, भौगोलिक दूरी कायम गर्नेलगायतका कुरामा सबै चनाखो र आत्मानुशासित हुनुपर्छ ।

२० श्रावण २०७७ मा प्रकाशित
Nabintech