त्रिभुवन आर्मी क्लबका पूर्व गोलरक्षक तथा प्रशिक्षक विकास मल्ल राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् ।
आर्मीका प्रशिक्षक नविन न्यौपानेको साथमा विकास मल्ल (बायाँ)
एन्फाको प्राविधिक समितिले मंगलबार मल्ललाई गोलरक्षक प्रशिक्षकमा नियुक्त गरेको एन्फा वेबसाइटमा उल्लेख गरिएको छ । आफ्नो जमानाका उम्दा गोलरक्षक मल्लले त्रिभुवन आर्मीको जर्सीमा लामो समय घरेलु फुटबल खेले । उनले सन् २००० को दशकमा राष्ट्रिय टोलीका लागि समेत खेलेका थिए । सन् २००५ देक्खी २०१३ सम्म उनले राष्ट्रिय टोलीको जर्सी पहिरिए । मल्लले जापानी गोलरक्षक प्रशिक्षक हिरो मित्सोमारुको स्थान लिएका हुन् । हिरोले जाइकामार्फत स्वयंसेवक प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्दै आएका थिए । अर्का गोलरक्षक प्रशिक्षक नवीन महर्जन एन्फाको युवा विभाग प्रमुख भएपछि उनले प्रशिक्षण जिम्मेवारी पाउन सकेनन् । मल्लले एएफसी लेभल १ गोलरक्षक प्रशिक्षण सर्टिफिकेट र एएफसी सी प्रशिक्षक सर्टिफिकेट कोर्ष पूरा गरेका छन् । उनी फिफा एमए गोलरक्षक कोर्षमा समेत सहभागी रहेका थिए । मल्लले आर्मीको मुख्य प्रशिक्षण नविन न्यौपानेको अनुपस्थितिमा आर्मीको दोस्रो टोलीको प्रशिक्षण सम्हालेका छन् । मललाई नेपालको सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटका बाँकी ३ खेलका लागि जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । सुरुवाती ५ खेलमा १ जित निकालेको नेपाल ५ राष्ट्र सम्मिलित समूहको चौथो स्थानमा छ । नेपालले एकमात्र जितको रुपमा ताइपेइको मैदानमा २-० को जित निकालेको थियो ।