कांग्रेस शीर्ष नेताहरुको बैठक : विभाग गठनको विवाद यथावत, क्रियाशील सदस्य संख्या बढाउने सहमति

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका शीर्ष नेताहरुका बीचमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका वावजुद सभापति शेरबहादुर देउवाद्धारा गठन गरिएका विभाग गठनको विवाद यथावत राख्दै क्रियाशील सदस्यको संख्या थप गर्ने सहमति बनको छ । विहिवार बसेको पार्टीका शीर्ष नेताहरुको बैठकमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधका बीच १७ वटा विभाग विस्तार गर्ने विषयलाई फिर्ता नलिने अडान लिए । बैठकमा देउवालाई नेता पौडेलले विभाग गठन र सदस्य मनोनयनको क्रम तत्काल रोक्न भनेका थिए ।

महाधिवेशनको मुखमा विभाग र सदस्यहरु मनोनयनको कामले महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले यस्ता गतिविधि रोक्न आग्रह गरेका थिए । तर, देउवाले विभाग गठनको काम नरोकिने बताएका हुन् । बैठक मुख्यतः पार्टीभित्रको विवादमै केन्द्रित भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

प्रमुख रुपमा विवादित विषय बनेको विभाग गठनप्रति संस्थापनइतर पक्षले विरोध जनाएको थियो। ‘चार वर्षको कार्यकाल सिद्धिसकेको अवस्थामा विभागहरुमा नियुक्ति भएको छ। त्यसलाई रोक्नुपर्छ भन्यौं,’ नेता केसीले भने, ‘महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउनका लागि क्रियाशील सदस्यता वितरणमा कुनै प्रकारको धाँधली नहोस्। विधि विधान अनुरुप होस् भन्ने कुरा हामीले राख्यौं ।

सहमतिको बाटो खोज्न संस्थापनइतर समूहले सुझाएको थियो। क्रियाशील सदस्यता छानबिन गर्न समेत वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले माग गरेका थिए । साउन मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणपछि त्यसउपर छानबिन गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ । कांग्रेस विधानमा जिल्ला, प्रदेश र केन्द्र गरी तीन तहको छानबिन समिति हुने व्यवस्था छ ।

क्रियाशील सदस्यता थपका सन्दर्भमा भने दुवै पक्ष सहमतिमा पुगेका छन्। धेरै जिल्लाबाट ५० प्रतिशत क्रियाशील सदस्यता थपले नपुग्ने माग गरेपछि आवश्यकता अनुसार थप गर्ने सहमति बनेको छ । क्रियाशील सदस्यता थप गर्ने सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गर्ने बताइएको छ । निश्चित मापदण्डका आधारमा माग भई आएको अवस्थामा सयमा सय प्रतिशत नै थप्न सकिने गरी नेताहरु सहमत भएका छन् ।

२२ श्रावण २०७७ मा प्रकाशित
Nabintech