चिहानबाट बाँचेर फर्किँदा

नवराज पराजुली


यो लेखको पहिलो भागः मर्नुअघि

यो लेखको दोस्रो भागः मलाई जिउँदै चिहानमा जानु थिएन

मध्यरातमा, अर्काको देशको सुनसान चिहानघारीमा थिएँ। मलाई चिहानसम्म पुर्‍याउने त्यो ड्राइभरले ऊ र म बसेको ट्याक्सी भित्रका सबै बत्ती बन्द गरेको थियो।

उसले जिउँदो मान्छेलाई चिहानमा पुर्‍याएको थियो। यसको अर्थ हो, उसले आफूभित्रका पनि सबै बत्ती बन्द गरेको थियो।

मलाई डर देखाउनका लागि ऊसँग संसारको सबभन्दा भयानक हतियार थियो- अँध्यारो।

संसारमा जति मान्छे ‘अँध्यारोमा’ मरेका छन् त्योभन्दा बढीलाई ‘अँध्यारोले’ मारेको छ।

मलाई पुर्‍याइएका चिहानघारीभरी सेता चिहानहरू देखिन्थे। म जुन ट्याक्सीभित्र थिएँ, त्यो ट्याक्सी पनि सेतो थियो। थर्रर कामिरहेको मेरो जिउले सोच्यो- के म गुड्ने चिहानभित्र छु?

जहाँ जिउँदो हुन पाइँदैन त्यो चिहान हो भने अहिले कति मान्छेहरू एकतले, दुईतले, तलैतले चिहानहरूमा बसिरहेका होलान् है?

ट्याक्सीभित्रको अँध्यारोमा आफ्नो सिटमा बसेर त्यो ड्राइभरले मलाई कहाँ र कसरी हेरिरहेछ? के गर्ने योजना बनाइरहेछ? सम्झेरै जिउ कामिरहेको थियो। तर अँध्यारोले गर्दा कामेको देखिएको थिएन।

ट्याक्सीको झ्यालबाट पुलुक्क बाहिर हेर्दा त्यो चिहानघारीभरी दर्जनौं बिराला हिँडिरहेका देखेँ। ती बिरालाहरू कसको मलामी आएका हुन्? मेरा हातभित्रका मुटुहरूले भने, ‘सानो छँदा मैले बिरालोका बच्चाहरूलाई मेरै भागको दूधभात खुवाएको थिएँ। यो ड्राइभरले मलाई नराम्रो गर्न लागेको देखे भने, के यी बिरालाहरूले दूधको भार तिर्लान्?’

एक्कासि बिजुली चम्किएजसरी दुई गाला जति उज्यालो ड्राइभरको मोबाइलबाट उफ्रिएर उसको अनुहारमा टाँस्सियो। फोन आएको रहेछ। उसले रिसाएको बादलजस्तो अनुहार बनायो। फोनमा चट्याङ परेजस्तो बोल्न थाल्यो। ऊ टाउको यताउता घुमाउन थाल्यो। खै, कसलाई के संकेत दिन हो, ट्याक्सीभित्रको बत्ती बाल्यो। अनि सानो स्वरमा फुस्फुसाउन थाल्यो।

ऊ उसको भाषामा कोसँग के बोलिरहेको थियो, केही बुझिनँ। झन् आत्तिएँ।

नबुझ्नु आफैंमा ठूलो डर हो। तर त्योभन्दा ठूलो डर चाहिँ डरलाई नबुझ्नु हो।

मेरो दिमागमा पनि बिजुली चम्कियो। बिजुलीको उज्यालोले मलाई भन्यो- जे गर्नु छ उसले फोनमा बोलिरहेकै बेला गर्। नत्र एकछिन पछि तँसँग बोल्ने जिब्रो नहुन सक्छ। गर्ने हात नहुन सक्छ।

मैले हत्तपत्त आफ्नो गोजीबाट फोन आएजस्तो गरेर मोबाइल निकालेँ। कोहीसँग बोलेजस्तो गर्न थालेँ। हो, मेरो मोबाइल स्विच-अफ थियो। अन नै भएको भए पनि मसँग त्यहाँ चल्ने नम्बर थिएन। तर त्यो कुरा उसलाई त थाहा थिएन।

कहिलेकाहीँ आफूलाई के थाहा छ भन्ने कुराले भन्दा अर्कोलाई के थाहा छैन भन्ने कुराले बढी फाइदा हुन्छ।

म नेपालीमा जे पायो त्यही बोल्न थालेँ। के बोलेँ, अहिले ठ्याक्कै याद छैन। तर नेपाली वाक्यहरूमा ‘पुलिस’ भन्ने शब्दलाई जथाभावी घुसाउन थालेँ। उसले पुलिस शब्द चाहिँ बुझोस् भनेर हरेकचोटि फरक-फरक तरिकाले उच्चारण गरेँ- पुलिस। पोलिस। प्वलिस।

म बोलेको देखेर खै किन हो उसले फोन राख्यो। अब त म झन् ऊतिरै हेरेर बोल्न थालेँ। उसले म फोनमा बोलेको जसरी हेरिरहेको थियो, त्यो हेराइ केही मिनेट अघिको हेराइभन्दा पूरै फरक थियो। अघि उसले सर्पले भ्यागुता हेरेझैं मलाई हेरेको थियो। अहिले सर्पले चिललाई हेरेझैं हेर्न थाल्यो।

अनि त मैले झन् नडराएको अभिनय गरेँ। उसले मैले गरेको अभिनय पत्यायो। या मैले अभिनय गरेको पत्याएको अभिनय गर्‍यो।

जीवनमा अरूबेला धेरैचोटि मैले ‘बाँचेको’ अभिनय गरेको थिएँ। त्यतिबेला म ‘बाँच्नलाई’ अभिनय गरिरहेको थिएँ।

पुलिस शब्दले जादु गर्‍यो। उसले के बुझ्यो? के सोच्यो? उही जानोस्। तर उसले फनक्क ट्याक्सी घुमायो। गुडाउन सुरू गर्‍यो।

म मेरो भाषामा कोसँग के बोलिरहेथेँ, उसले केही बुझेन। ऊ डरायो।

नबुझ्नु आफैंमा ठूलो डर हो। तर त्योभन्दा ठूलो डर चाहिँ डरलाई नबुझ्नु हो।

उसले मूलबाटोतिर ट्याक्सी कुदायो।

सर्पले भ्यागुतालाई टोक्न छाडेर आफू हिँड्नुपर्ने बाटोतिर हिँड्न थाल्यो।

अगाडि बाटोको उज्यालो थियो।

अगाडि उज्यालोको बाटो थियो।

तर मलाई थाहा थियो, अझै पनि मैले उसलाई ठेगाना दिएको मेरो होटल नपुगुन्जेल म सुरक्षित थिइनँ।

नपुगुन्जेल कोही पनि सुरक्षित हुँदैन।

मलाई लाग्यो, मैले सुरक्षित भइरहन फोनमा बोलिरहनु पर्छ। मैले पुलिस भन्ने शब्द झन् धेरैचोटि वाक्यमा मिसाउन थालेँ। त्यतिखेर एउटा अचम्मको सोच मनमा मिसियो- पक्कै पुलिस शब्द सुनेपछि यो ड्राइभरले उसको सोच र गाडी दुवै मोड्यो। पुलिस शब्द उच्चारण गर्दा मैले त युनिफर्ममा भएका नेपाल प्रहरी सम्झेको थिएँ। तर ऊ कहाँको प्रहरी सम्झेर डरायो होला!

डर वा सुरक्षाले कुनै देशको युनिफर्म नलगाउने रहेछ।

अब म कतिबेर यति विश्वासिलो अभिनय गरिरहन सक्छु? बीच बाटोमै उसलाई मेरो बोलीमा शंका लाग्यो भने?

म बस्ने होटल नपुगुन्जेल म सुरक्षित थिइनँ।

नपुगुन्जेल कोही पनि सुरक्षित हुँदैन।

धेरैबेर नडराउन सजिलो होला। तर धेरैबेर नडराएको अभिनय गर्न गाह्रो हुँदो रहेछ।

धेरैबेर हुँदै नहुन सजिलो होला। तर धेरैबेर नभएको अभिनय गर्न गाह्रो हुँदो रहेछ।

त्यस्तो के हुन सक्छ जहाँ म पुलिस शब्दलाई यति सजिलोगरी बोलौं कि उसलाई शंकै नहोस्? फ्याट्टै उपाय निस्कियो। प्रहरी शब्दको ठाउँमा पुलिस शब्द राखेर म त्यो ट्याक्सीको पछाडि मेरो लामो कविता ‘प्रहरी’ ढुक्कले वाचन गर्न थालेँ। त्यो मेरो जीवनको पहिलो ‘ट्याक्सी कविता कन्सर्ट’ थियो। पृष्ठभूमिमा डरको पियानो र आशाको बाँसुरीको लाइभ म्युजिक बजिरहेको थियो। एउटा श्रोता थियो। एउटा कवि थियो। र, गुडिरहेको सवारी थियो।

कविता सक्कियो। डर सक्किएन। उसले बोल्ने सुरसार गरेन। होटल पुग्ने सुरसार देखिएन। बरू मैले आफैं शूर हुने सुरसार गरेँ।

फोनमा बोलेको अभिनय बन्द गरेँ।

अभिनय नगर्ने निर्णय गर्न ठूलो आँट चाहिन्छ।

मैले अलि अघि सरेर अंग्रेजीमा भनेँ, ‘हामी कतिखेर पुग्छौं?’

यसपालि उसले पहिलेजस्तो रिसाएर ‘चुप’ भन्ने इशारा गरेन। ‘नो इङ्लिस’ भनेर थर्काएन। उसले मोबाइल कारमा अड्याएर के-के थिच्यो। मलाई मोबाइलतिर इशारा गरेर ‘बोल’ भन्ने संकेत दियो। मैले उसको मोबाइल नजिकै मुख लगेर सोधेँ, ‘हामी कतिखेर पुग्छौं दाजु?’

उसले ‘अनलाइन अडियो कन्भर्टर’ खोलेको रहेछ। मेरो बोलीलाई उसको मोबाइलले उसको भाषामा अनुवाद गरिदियो। उसले भन्यो, ‘पुग्न लाग्यौं।’

म अलिकति खुसी त भएँ तर मनले भन्यो- ‘पुग्न लाग्नु’ सँग चित्त नबुझा। नपुगी सुरक्षित भइन्न। कहिलेकाहीँ पुग्न लाग्नु र पुग्नु बीचको दुरी असीमित दशमलव असम्भव किलोमिटर हुन्छ।

उसले केही मिनेट ट्याक्सी कुदाएपछि रोक्यो। र, त्यो कन्भर्टरमा भन्यो, ‘तपाईंले भनेको ठाउँ यही हो। तपाईं पुग्नुभयो।’

पुगेकोमा खुसी भएँ। म भागेजसरी नै हतार-हतार ट्याक्सीबाट निस्किएँ।

मलाई यो पुरूषबाट छुट्न पाए सबै ठीक हुन्छ जस्तो लागिरहेको थियो।

ट्याक्सीबाट बाहिर निस्किएर हेर्दा पो थाहा भयो, वरपर त कुनै होटल छैन। सुनसान रातमा निदाइरहेका घरहरूको लश्कर मात्रै थियो। पाटनको गल्लीजस्तो उज्यालो र अँध्यारोको टाटेपाटे धर्काहरू थिए। परपरसम्म एकजना मान्छे पनि थिएन।

ट्याक्सीवाला फर्किनलाई ट्याक्सी घुमाइरहेको थियो। मेरो मोबाइल अफ थियो। होटलको ठेगाना ट्याक्सीको बिलमा थियो। तर त्यो दलालले यति झुर अक्षरमा लेखेछ कि बुझ्नै गाह्रो भयो।

आफूभित्रैबाट एउटा आवाज आत्तिँदै चिच्यायो- म कहाँ छु? अब म यहाँ कसलाई भेटूँ? कहाँ जाऊँ? जहाँ आइपुगेँ त्यो कहाँ आइपुगेँ?

पुगेपछि सधैं सुरक्षित भइन्छ भन्ने होइन रहेछ।

आफैंभित्रको आवाजले मेरो जिउ थथर्किन थाल्यो।

जानुअघि त्यो ड्राइभरले मलाई पुलुक्क झ्यालबाट हेर्‍यो। मलाई लाग्यो कि मैले अहिले नै इशारा गरेर उसलाई बोलाएँ भने बोलाएँ, नत्र यो कोही नभएको ठाउँमा अब ऊ पनि हुने छैन।

अघिसम्म मलाई यो पुरूषबाट छुट्न पाए सबै ठीक हुन्छ जस्तो लागिरहेको थियो।

अब म उसलाई रोकूँ कि जान दिऊँ?

ऊ गयो भने म अब यहाँ कोहीसँग पनि हुन्न।

कोहीसँग पनि नहुनु डरलाग्दो हो कि डर लाग्ने मान्छेसँग हुनु डरलाग्दो हो?

सोच्दासोच्दै ऊ गयो। हेर्दाहेर्दै म एक्लै भएँ। अँध्यारा ती घरहरूमा साना अक्षरले नाम लेखिएका थिए। हरेक घर स-साना होटल थिए कि?

बिलमा किरमिर अक्षरमा लेखिएको होटलको नाम खोज्दै परसम्म गएँ। भेटिनँ। कति बज्यो पनि थाहा थिएन। कान यति डराए कि हिँड्दा आफ्नै पैतालाको आवाजभन्दा साह्रो मुटु धड्केको सुन्न थालेँ।

धेरै रात परेकाले होला बाहिर कोही मान्छे नै थिएनन्। कसको घरमा ढक्ढक्याउनू?

जति नै खोजे पनि होटलको नाम नभेटेपछि मैले हार खाएँ। त्यहीँ फर्किन मन लाग्यो जहाँ त्यो ड्राइभरले छाडेको थियो। म पुग्नुपर्ने होटल त त्यहाँ थिएन तर त्यो त्यही ठाउँ थियो जहाँ म पुगेँ भनेर एकैछिन भए पनि खुसी भएको थिएँ।

मान्छे खुसी भएको ठाउँमा फर्किरहन चाहन्छ।

मान्छे बालापनमा फर्किरहन चाहन्छ।

म बालापनतिर फर्किँदै गर्दा त्यो गल्लीको बीचमा पुगेँ। एक्कासि त्यहाँको एउटा सेतो तीनतले घरको पहिलो तलाको मूलढोका खुल्यो।

मेरो मनमा आशा खुल्यो। बत्ती बल्यो। ढोकाबाट कपाल खुला छाडेकी गोरी महिला बाहिर निस्किन्।

मैले उनलाई हेरेँ।

उनले मलाई देखिन्।

देख्नु र हेर्नुबीचको फरक अथाह दशमलव अनन्त किलोमिटर हुन्छ।

मेरो दिमागले मलाई एकैपटक दुइटा प्रश्न सोधे-

उनी को हुन्?

उनी के हुन्?

को र के बीचको फरक देह दशमलव आत्मा जति हुन्छ।

उनले मलाई अंग्रेजीमा एउटा प्रश्न सोधिन् जसमा मेरा प्रश्नका उत्तर थिए- तपाईंको नाम नवराज पराजुली हो?

अरू कसैको मुखबाट आफ्नो नाम सुनेर म जीवनमा त्यति खुसी कहिल्यै भएको थिइनँ।

तर जब उनले मलाई उनको होटलभित्र लगिन्, मलाई चिहानघारीभन्दा सुनसान लाग्यो।

उसले अर्को अर्थ नलाओस् भनेर मैले ख्याल गरेर सोधेँ, ‘यो होटल किन यति शान्त? सबै पाहुनाहरू अघि नै सुतिसकेका हुन्?’

ती मालिक्नीले एकदमै अनौठो गरी हाँस्दै भनिन्, ‘सुनसान हुनुमा पहिलो कुरा त निक्कै रात परिसक्यो। तपाईंको रूम बुक गरिदिने फिनल्यान्डको साथीले फोन गरिरहनुभएको थियो। म तपाईं कतिखेर आउनुहुन्छ भनेर ढोका खोल्दै, हेर्दै, बन्द गर्दै पर्खिरहेकी थिएँ।

अनि दोस्रो कुरा- आजको मेरो पाहुना तपाईं मात्रै हो। घरमा अरू कोही छैन।’

उनले दोस्रो कुरा एकचोटि मात्रै भनेकी थिइन्- आजको मेरो पाहुना तपाईं मात्रै हो। घरमा अरू कोही छैन।

यी दुई वाक्य केही सेकेन्डमै मेरो दिमागमा सयौंचोटि गुन्जिए जसले हजारौं अर्थ दिए।

लगत्तै उनले सोधिन्, ‘तपाईं के चाहनुहुन्छ?’

मनमा हजारौं उत्तर बुरुरु आए, ‘नेपाल जान चाहन्छु। घर जान चाहन्छु। भोकले प्यात्त भएको छु। तर अहिले केही खान चाहन्नँ। म युरोपका बाँकी देशमा कन्सर्ट गर्न पनि चाहन्नँ। पैसा/नाम केही कमाउन चाहन्नँ। अब जम्मा नेपालसम्म पुग्ने बाटो कमाउन चाहन्छु।’

मैले सारा चाहनालाई एउटै शब्दमा समेटेर भनेँ, ‘वाइफाइ’।

कोठामा गएँ। एउटा ठूलो खाट रहेछ। ढोका बन्द गरेँ। मोबाइल चार्ज गरेँ। वाइफाइ जोड्न खोज्दै थिएँ ढोकामा कसैले ढकढक गर्‍यो। मेरो ढुकढुक बढ्यो। होटल मालिक्नीको बोली सम्झिएँ- आजको मेरो पाहुना तपाईं मात्रै हो। घरमा अरू कोही छैन।

उसो भए यो को हो?

या के हो?

कतै यो तीनतलाको चिहान त होइन?

मैले खोलिनँ। फेरि बज्यो। भित्रैबाट सोधेँ, ‘को हो?’

होटल मालिक्नीको आवाज आयो- म।

ऊ किन भित्र आउनुपर्‍यो यति राती? यो ठूलो खाट त मेरै मात्रै त हो नि होइन? म किन के-के सोचिरहेको छु? भोकले हो?

मैले ढोका खोलेँ। ऊ आएर मलाई उसको फोन दिँदै भनी, ‘तपाईंको फिनल्यान्डको साथी बोल्ने रे।’

मैले फोन लिएँ। सुवासले भन्यो, ‘गुरु तपाईं पुगेको थाहा भयो। तपाईं र म त अहिले म्यासेन्जरमै पनि बोलौंला। तर मैले होटल मालिक्नीको फोनबाटै तपाईंसँग कुरा गरिसकेपछि तपाईंलाइ त्यहाँ केही समस्या हुन्न। मसँग अब यो कलको प्रमाण छ। ढुक्कले सुत्नुस्। भोलि सबै कुरा गरौंला।’

साथीले यति गहिरो गरी ख्याल गरेको देखेर मेरा आँखाको गहिराइमा पानी भरिए।

ऊ गई। मेरो फोनमा इन्टरनेट आयो।

अघि एयरपोर्टमा एकछिन कुरा हुँदा जर्मनीका लागि नेपाली राजदूत महामहिम रमेशप्रसाद खनालले पनि भन्नुभएको थियो, ‘नवराज बाबु, होटल जानुस्। दूतावासबाट हुने सहयोग म सप्पै गर्छु। इस्तानबुलमा म पनि बसेको छु। डराउनुपर्ने केही छैन।’

उहाँ जर्मनीमा हुनुहुन्थ्यो। सुवास फिनल्यान्डमा। तर भोग्नुपर्ने जति त मैले इस्तानबुलमा भोगिरहेथेँ।

गर्नेले उधूम् माया गर्ला। जतिखेरै माया गर्ला। भएजति सबै माया एउटै मान्छेमा खन्याउला। तर कहिलेकाहीँ टाढाको मायाको औषधिले आफ्नो दुःखको रोग निको नपार्दो रहेछ।

मेरो डर निको भएन।

मलाई कोही यस्तो चाहिएको थियो जो मेरो नजिकै होस्। तर कसरी?

मभित्र सबैथोक यस्तरी थाकिसकेको थियो, म प्रार्थना गरिरहेथेँ कि मेरो टाउको कसैले लगेर मेरा लागि सोचिदियोस्।

मेरो प्रार्थना पूरा भयो। कुरा गर्दागर्दै म्यासेन्जरमा एउटा म्यासेज आयो जसमा लेखिएको थियो- आफ्नो कुरा फेसबुकमा लेख्नुस्।

मैले त्यतिखेर त्यति सोच्न जानेको थिइनँ। त्यही गरेँ। यी चार शब्दले मलाई त्यसरी बचाए जसरी अघि पुलिस भन्ने शब्दले बचाएको थियो।

शब्द बचाउनेहरूलाई शब्दहरूले बचाउँदा रहेछन्।

मैले फेसबुकको ‘एम.आर.आर’ भन्ने ग्रुपमा पोष्ट गरेँ। केटाहरूले सैयौं थोप्लो हानेर बुस्ट गरे। केही मिनेटमै मेरो म्यासेन्जरमा म्यासेज आयो।

‘नमस्कार मेरो नाम उत्तम शर्मा। मलाई भर्खरै क्यानडाबाट राजेन्द्र पोखरेलले फोन गर्नुभएको थियो। तपाईं इस्तानबुलमा समस्यामा पर्नुभएको रहेछ। नआत्तिनुस्। अहिले जहाँ हुनुहुन्छ, त्यहीँ सुत्नुस्। मलाई त्यहाँको लोकेसन पठाउनुस्। हामी तपाईंलाई भेट्न भोलि बिहानै आउँछौं।’

नेपाली भाषामा लेखिएको यो सादा म्यासेज कुनै भावुक कविता होइन। तर यो पढेर म त्यो ठूलो खाटको पूरै क्षेत्रफल भिज्नेगरी रोएँ।

एउटा फराकिलो आश बोकेर त्यो फराकिलो खाटमा मैले मेरो लामो जिउलाई फालिदिएँ। निदाउँदै गर्दा सोचेँ- राजेन्द्र पोखरेल नामको त म कसैलाई चिन्दिनँ। उहाँ को हो? क्यानडाबाट टर्की फोन गरेर नचिनेको मान्छेलाई मद्दत गर्न यत्तिका दुःख गर्ने नेपाली को होलान्?

म सोच्दासोच्दै निदाएछु।

आमाको दूध चुस्दाचुस्दै बच्चा निदायो। निदाएको बच्चालाई कोक्रोमा हाल्दै आमाले भनिन्, ‘नुनु गर ल सानु? म मेलामा गएर आउँछु। अनि फेरि बुबु खाउली। हछ्?’

म ब्युँझिनेबित्तिकै भोकले सबैथोक मधुरो-मधुरो, तिरमिर-तिरमिर देख्न थालेँ।

मेरो दिमागले मिथकीय चराले जसरी राती देखेको सपनाबारे सोच्न थाल्यो- सत्य के हो? मैले इस्तानबुलको होटलबाट नेपालमा पानी परिरहेको बेला रेनकोट ओढेर बाइक कुदाउँदै गरेको सपना देखेको हो? कि मैले नेपालमा पानी परिरहँदा रेनकोट ओढेर बाइक कुदाइरहेका बेला इस्तानबुलको होटलमा सुतेको सपना देखेको हो? सत्य के हो?

तर म भर्खर ब्युँझिएको थिएँ। मलाई लाग्यो- जहाँ ब्युँझिइन्छ त्यही सत्य हो।

फेरि प्रार्थना गरेँ- सधैं सपनाबाट ब्युँझिन्छु म। कुनै दिन त म सपनामा ब्युँझिऊँ न।

ब्युँझिएपछि हतारहतार होटलअगाडिको ढोकामा गएर ‘उहाँ’ हरू आउने बाटो हेर्न थालेँ।

कोक्रोमा बच्चा ब्युँझियो। भोकले दूध खान कोक्रोको प्वालबाट आमा आउने बाटो हेर्न थाल्यो।

मलाई भेट्न दुई नेपाली आउनुभयो।

ऋषिजीले मलाई अँगालो हाल्दै भन्नुभयो, ‘नवराजजी। म तपाईंलाई चिन्दिनथेँ। कविता पनि सुनेको थिइनँ। तर क्यानडाबाट राजेन्द्रजीले जे भन्नुभयो, त्यति सुनेपछि रातभरी तपाईंका कविता सुन्यौं। यी हाम्रा आँखा राता भएका आधी चाहिँ रातभरी नसुतेर हो, आधी चाहिँ कविताले रूवाएर हो। कतिखेर उज्यालो हुन्छ र तपाईंलाई भेट्न जाऊँ जस्तो भयो।’

मैले नसोधी सासै फेर्न सकिनँ, ‘राजेन्द्रजीले तपाईंलाई के भन्नुभयो?’

ऋषिजीले लामो सास फेरेर भरिलो स्वरमा भन्नुभयो, ‘म त निदाइसकेको थिएँ। उहाँले आत्तिएजसरी फोन गरेर भन्नुभयो- ऋषिजी, नवराजजी इस्तानबुलमा समस्यामा पर्नुभएछ। तपाईंले जसरी पनि उहाँलाई सहयोग गर्नुपर्‍यो। उहाँले मलाई चिन्नुहुन्न। हाम्रो कहिल्यै कुरा भएको छैन। तर म जहिल्यै उहाँसँग कुरा गर्छु। म उहाँसँग कुरा गर्छु भन्ने कुरा उहाँलाई नै थाहा छैन। मैले अलि बुझिनँ अनि राजेन्द्रजीलाई भनेँ- राजेन्द्रजी, सहयोग त गरौंला तर उहाँ को हो?’

राजेन्द्रजीको उत्तर ऋषिजीको मुखबाट सुन्न म पनि छटपटिरहेको थिएँ। सोचेको थिएँ, उहाँले मेरो कविताको प्रशंसा गर्नुभयो होला। वा मेरो कविता वाचन गर्ने शैलीको तारिफ गर्नुभयो होला। तर उहाँले जे भन्नुभएछ त्यो सुनेर मलाई लाग्यो, मैले यो जे-जे भोगेँ त्यो सबै यही एउटा वाक्य सुन्न पाउनलाई रहेछ।

त्यो सुनेर मैले थाहा पाउनु रहेछ कि हामी जुन उमेरको भइसक्दा पनि कसैलाई भेट्न अझै बाँकी रहिरहन्छ।

कसैमा पुग्न बाँकी रहिरहन्छ।

कसैलाई चिन्न बाँकी रहिरहन्छ।

कसैलाई चुन्न बाँकी रहिरहन्छ।

कसैको हुन बाँकी रहिरहन्छ।

ऋषिजीले सोध्नुभएको रहेछ, ‘नवराज पराजुली भनेको को हो?’

राजेन्द्रजीले भन्नुभएछ, ‘उहाँ मै हो।’

(इस्तानबुल एयरपोर्टमा अड्किँदा श्रृंखलाको यो अन्तिम भाग हो।)

सेतोपाटी

२३ श्रावण २०७७ मा प्रकाशित
Nabintech