राजस्वका अधिकृतसहित मिठाई पसले र मजदुर कोरोना मुक्त

पिपलबाेट संवाददाता


बाँकेमा थप ३ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ शनिबार ती संक्रमित घर जाँदैछन ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट नेपालगन्जका ११ का ३९ बर्षिय पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट नेपालगन्ज १२ का १९ बर्षिया महिला र आइसोलेसन सेन्टर आन्तरिक राजस्व कार्यालयबाट गोठिचौर २ जुम्लाका ३३ बर्षिय पुरुष रहेका छन ।

आज कोरोना मुक्त भएकाहरु जुम्लाका ३३ बर्षिय पुरुष आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा कार्यरत कर अधिकृत हुन । नेपालगन्ज ११ का ३९ बर्षिय पुरुष त्रिभुवन चोकमा मिठाई पसल गर्ने पसले र नेपालगन्ज १२ का १९ बर्षिया महिला बर्दिया बासगढी घर भइ नेपालगन्ज बसेर दैनिक ज्यालादारी काम गर्ने मजदुर भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यो सङ्गै बाँकेमा कोरोना मुक्त भइ घर जानेको संख्या ४ सय १ पुगेको छ । अब विभिन्न आइसोलेसनमा १५० (बाहिरी जिल्लाका ४ जना समेत) जना संक्रमितको उपचार भइ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका हालसम्म ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गइ सकेको छ । त्यसैगरी, जिल्ला बाहिर घर भइ बाँकेमा कार्यरत ४ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यो समेत बाँके जिल्ला भित्र संक्रमित हुनेको संख्या ५ सय ५३ पुगेको छ ।

२४ श्रावण २०७७ मा प्रकाशित
Nabintech