अमेरिकाको राष्ट्रपतिमा रुसलाई ट्रम्प र चीनलाई बाइडेन चाहिएको छ

पिपलबाेट संवाददाता


अमेरिकामा राष्ट्रपतिको चुनाव आउन तीन महिनाभन्दा केही दिन कम बाँकी छ। जासुसी संस्थाका साथै ओपिनियन पोल गर्ने विभिन्न कम्पनीहरु कसले बाजी मार्ला भन्दै अनुमान गर्न थालिसकेका छन्। अमेरिकाको चुनावले नेपालजस्ता केही मुलुकलाई कुनै असर गर्दैन, त्यसैले चासो पनि राखेको देखिँदैन। तर दुनियाँमा यस्ता कतिपय ठूला–साना देश छन्, जसलाई अमेरिकाको राष्ट्रपति निर्वाचनको ठूलो चिन्ता छ। यसरी अधिक चिन्ता गर्नेमा रुस र चीन अग्रपंक्तिमा देखिएका छन्। अमेरिकाका स्थापित जासुसी संस्थामा काम गरिसकेका कतिपय अधिकारीहरु रुसलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन पटक्कै मन नपरको बताउँछन्। उनीहरु बाइडेनलाई बदनाम गराउन लागिपरेको आशंका समेत गर्छन्। क्रेमलिनसँग जोडिएका अधिकारीहरु वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै उक्त पदमा दोहोरिएको हेर्न चाहन्छन्। उता हाम्रो उत्तरी निकटतम छिमेकी महाशक्ति बन्ने होडमा दौडिरहको चीनलाई भने जसरी हुन्छ ट्रम्पलाई हराउनु छ। ट्रम्पले विभिन्न सन्दर्भमा आफू राष्ट्रपति पदमा आसीन भएको समयदेखि नै चीनसँग सम्बन्ध राम्रो बनाउन चाहेको देखिँदैन। यसकारण पनि चीन उनलाई हराएर आफ्नो इच्छा पूर्ति गर्ने दाउमा छ। २०१६ मा सम्पन्न निर्वाचनमा रुसले आफूलाई सहयोग गर्न चाहेको विषयलाई ट्रम्पले अस्वीकार गरिसकेका छन्। अमेरिकाको पूर्ववर्ती ओबामा प्रशासनमा युक्रेन समर्थित रहनुका साथै रुसका नेता भ्लादिमिर पुटिनका विरुद्धमा अमेरिकाको नीति तयार पार्न तत्कालीन उपराष्ट्रपति बाइडेनको भूमिका रहेको मानिन्छ। यसकारण पनि अहिले रुस बाइडेनको विपक्षमा उभिएको हो। यसबारे शुक्रबार ट्रम्पले रुसले राष्ट्रपति पदमा आफूलाई नै देख्न चाहेको बताए। यतिमात्र होइन उनले बाइडेनमाथि आरोप लगाउँदै भने, ‘‘निर्वाचनमा यदि बाइडेनले जिते भने अमेरिका चीनले चलाउने छ।’’ चीनले आफूलाई राष्ट्रपति पदमा हराउन खोजेको आरोप उनले यसअघि नै लगाइसकेका छन्। त्यसो त उनले राष्ट्रपति पदमा आफूलाई सहयोग गर्न चीनलाई आग्रह गर्न पनि छाडेका भने छैनन्। व्यापारिक सवालमा ट्रम्पले चीनलाई निकै ठूलो घाटा लाग्ने निर्णयहरु गरिसकेका छन्। चीनको ठूलो ग्राहक हो अमेरिका। चीनले आफ्नो निर्यात व्यापारको मुख्य आधार अमेरिकालाई बनाउँदै आएको छ। टेक्नोलोजीका साथै अन्य वस्तु पनि चीनले अमेरिकामा भारी मात्रामा निर्यात गर्दै आएको छ। ट्रम्पको पछिल्ला नीतिहरुले चीनलाई घाटा मात्र होइन, त्यो विशाल मुलुकको अर्थतन्त्रमै धक्का पर्न गएको छ। गत वर्षको अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण पनि उसको अमेरिकासँगको सम्बन्ध चिसिन पुगेको छ। राष्ट्रपति ट्रम्पले कोरोनासम्बन्धी जानकारीहरु चीनले लुकाएको आरोप लगाउँदै आएका छन्। यी दुई विशाल मुलुकबीच सम्बन्ध चिस्याउन यस्ता आरोप–प्रत्यारोपले पनि भूमिका खेल्दै आएका छन्। उता, रुसले विशेष गरी अमेरिकालाई बेच्ने भनेको हतियार नै हो। हतियार खरिदमा अमेरिकाले ठूलो धनराशि खर्च गर्छ। यसकारण पनि रुस वर्तमान राष्ट्रपति जसले आफूसँग ठूलो मात्रामा हतियार खरिद गर्दै आएका छन्, उनैलाई उक्त शीर्ष पदमा आसीन भएको देख्न चाहन्छ। राष्ट्रपति पदमा जोसुकै जितुन्, अमेरिकी जनता र विद्वान्–विश्लेषकहरु आफ्नो देशको निर्वाचनमा वैदेशिक चलखेल हुन थालेको देखेर चिन्तित छन्। कतिपयले त ट्रम्पले चीनप्रति देखाएको रवैयाको खुलेर विरोध गर्दै आएका छन्।
(एजेन्सीहरुको सहयोगमा)

२४ श्रावण २०७७ मा प्रकाशित
Nabintech