कान्तिपुरका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे सत्यतथ्य छानबिन गर्न नेपाल प्रेस युनियनले माग गरेको छ।
दुई दिनदेखि सम्पर्कविहीन बानियाँको शव मकवानपुर भीमफेंदी गाउँपालिका सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजनाको फिल्टरको जालीमा अड्किएको अवस्थामा फेला परेको थियो।
उनको शव हेटौंडा अस्पतालमा छ।
प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार विज्ञप्ति निकालेर बानियाँको मृत्यु उनले विगतमा लेखेका समाचारसँग जोडिएर भएको छ वा छैन भन्ने पनि प्रश्न उब्जेकोले सत्यतथ्य छानबिनको माग गरेका छन्।
प्रेस युनियन बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल प्रहरीसहित सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ महासचिव शिवाकोटीले निकालेको विज्ञप्तिमा भनिएको छ।
बानियाँको अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेकोले मृत्युका कारण आत्महत्या वा हत्या के भएको हो यकिन नभएको अवस्थामा अनेक शंका पैदा भएको प्रेस युनियनले बताएको छ।
बानियाँ पत्रकार महासंघका पूर्वसचिव र प्रेस युनियनका महाधिवेशन प्रतिनिधि थिए। उनले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए।
बानियाँको मृत्युबारे छानबिन गर्न नेपाल पत्रकार महासंघले पनि माग गरेको छ।