दुई उपाधि विजेताको भीडन्त

पिपलबाेट संवाददाता


दुई पूर्वविजेता बार्सिलोना र बायर्न म्युनिखले आज च्याम्पियन्स लिगको अन्तिम चारका लागि प्रतिस्पर्धा गर्दैछन्। दुबै टीम लामो समयको युरोपियन प्रतियोगितामा उपाधि खडेरी टुंगाउने लक्ष्यमा छन्।  पोर्चुगलको लिस्बनमा हुने यस क्वार्टरफाइनल लियोनल मेसी र रोबर्ट लेवन्डोवस्कीबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ। दुबै टीमले समान पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। त्यस्तै दुवै टीमले च्याम्पियन्स लिगमा १८ पटक क्वार्टरफाइनलको यात्रा तय गरिसकेका छन्। तर, दुवै टीम पछिल्लो समय उपाधिविहीन छन्। बार्सिलोनाले २०१५ यता च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन भने बायर्नले पछिल्लो पटक २०१३ च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यस सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउने आठ टीममध्ये बार्सिलोना र बायर्नले मात्र यसअघि उपाधि जितेका छन्। यी दुई टीमबाहेक प्रतियोगिताको फाइनलमा स्थान बनाउने अर्को टीम एट्लेटिको मड्रिड मात्र हो। गएराति सम्पन्न खेलमा एट्लेटिको जर्मन क्लब लाइपजिगसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

युरोपियन क्लब फुटबलका दुई महारथी २०१५ पछि पहिलो च्याम्पियन्स लिगमा आमनेसामने हुन लागेका हुन्। २०१५ मा बार्सिलोनाले बायर्नलाई सेमिफाइनलमा हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। उक्त सिजन बार्सिलोनाले उपाधि नै जित्यो। त्यस्तै २०१३ मा बायर्न उपाधि जित्दा पनि जर्मन क्लबले बार्सिलोनालाई सेमिफाइनलमा समग्रमा ७-० ले हराएको थियो। ‘‘वितेका कुरालाई सम्झन चाहन्न,’’ बायर्नका प्रशिक्षक हान्सी फ्लिकले भने, ‘‘शुक्रबार रातीको खेल महत्वपुर्ण हो। दुबै टीममा धेरै क्षमता छ। दुई टीम आमनेसामने हुँदा भाग्यले पनि साथ दिनुपर्छ।’’ च्याम्पियन्स लिगमा बार्सिलोनालाई बायर्नले जति अन्य टीमले हराउँन सकेको छैन। पछिल्लो आठमध्ये बायर्नले पाँच खेलमा विजय हासिल गरेको छ। र बायर्नले युरोपियन प्रतियोगितामा लगातार आठ खेलमा विजय हासिल गर्दै क्वार्टरफाइलनसम्मको यात्रा तय गरेको छ। चेल्सीले अन्तिम आठमा स्थान बनाउँदा चेल्सीलाई समग्रमा ७-१ ले पराजित गरेको थियो। ‘‘प्रतिद्वन्द्वीको सबलताबारे हामी जानकार छौं। उनीहरुलाई सहज रुपमा लिएका छैनौं,’’ बार्सिलोनाका प्रशिक्षक क्विक सेटिनले भने, ‘‘सत्य हो की बायर्न असाधारण टीम हो। र हामी पनि। यो एक समान खेल हुनेछ। र म पक्का छु की हाम्रो अवसर पनि छ।’’ बायर्नको सबैभन्दा बलियो हतियार लेवन्डोवस्की हुन्। बायर्नले समूहमा चरणमा २४ गोल गर्दा लेवन्डोवस्की टीमका महत्वपुर्ण खेलाडी थिए। पोल्यान्डका फरवार्ड लेवन्डोवस्कीले बुन्डेसलिगामा यस सिजन ३४ गोल गरेका थिए। ‘‘लेवन्डोवस्की साँच्चिकै असाधारण खेलाडी हुन्,’’ बायर्नका पूर्व खेलाडी तथा बार्सिलोनाका मिडफिल्डर अर्टुरो भिडालले भने, ‘‘विपक्षी पोष्टमा उनी धेरै खतरनाक खेलाडी हुन्। उनलाई रोक्न धेरै कठिन हुन्छ। तर हामी उनलाई रोक्न तयार छौं।’’ लेवन्डोवस्कीले यस सिजन च्याम्पियन्स लिगमा १३ गोल गरिसकेका छन्। उनी सबभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। च्याम्पियन्स लिगमा उनले ६६ गोल गरिसकेका छन्। उनी भन्दा धेरै गोल गर्नेमा राउल गोन्जालेज (७१), मेसी (११३) र क्रिष्टियानो रोनाल्डो (१३०) छन्। बार्सिलोनाको अग्रपंक्तिमा औसमाने डेम्बेले फर्किने सम्भावना छ। चोटका कारण उनी लामो समयपछि मैदान फर्किएका हुन्। बार्सिलोना मेसीको प्रदर्शनमा निर्भर छ। मेसीले जारी सिजन ला लिगामा २५ गोल गरिसकेका छन्। बार्सिलोनाले यस सिजन घरेलु उपाधि जित्न सकेको छैन। च्याम्पियन्स लिगमा पनि पराजित भयो भने २००७/८ पछि बार्सिलोना पहिलो पटक उपाधिविहीन हुनेछ। बार्सिलोना प्रशिक्षक परिवर्तनसहीत टीम अफिसियल र खेलाडीबीच सार्वजनिक विवादबाट गुज्रिएको छ। कोभिड-१९ महामारीपछि बार्सिलोना लय भेट्टाउन संघर्ष गरिहेको छ। महामारीले लिग रोकिनुअघि शीर्ष स्थानमा रहेको बार्सिलोनाले उपाधि चीर प्रतिद्वन्द्वी रियाल मड्रिडलाई सुम्पियो। तथापी बार्सिलोनाले अन्तिम आठमा स्थान बनाउँदा इटालियन क्लब नापोलीलाई समग्रमा ४-२ को नतिजामा हराएको थियो। ‘‘सिजन भरकै यो सबभन्दा महत्वपूर्ण खेला हो,’’ बार्सिलोनाका मिडफिल्डर भिडालले भने, ‘‘हामी प्रतियोगिताको उपाधि जित्ने आशा छौं। बायर्न अहिले उत्कृष्ट लयमा छ। उनीहरूलाई हराउन सहज छैन। तर हामी बार्सिलोना हौं र आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्‍यौं भने अघिल्लो चरणमा पुग्नेछौं। त्यो अवसरको सदुपयोग गर्न हामी सक्ने सबै प्रयास गर्नेछौं।’’

३० श्रावण २०७७ मा प्रकाशित
Nabintech