कोउटिन्होले च्याम्पियन्स लिग जिते बार्सिलोनाले ७० करोड तिर्नुपर्ने

पिपलबाेट संवाददाता


एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनालाई ८-२ ले पराजित गर्दा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फिलिपे कोउटिन्होले २ गोल र १ असिस्ट दिए ।

बार्सिलोनाबाट नै सिजनको सुरुवातमा लोनमा गएका कोउटिन्होले बायर्नको अन्तिम तीन गोलमा निर्णायक भूमिका खेलेका थिए । खेलको ७५ औं मिनेटमा सर्ज जिनाब्रीको स्थानमा कोउटिन्हो मैदान प्रवेश गरेका थिए ।

८२ औं मिनेटमा फिलिपे कोउटिन्होको क्रसमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै बायर्नलाई ६- २ ले अगाडी बढाए । कोउटिन्होले पेनाल्टी क्षेत्रको बायाँबाट दिएको क्रसलाई अनमार्क रहेका लेवान्डोस्कीले जारि सिजन च्याम्पियन्स लिगको व्यक्तिगत १४ औं गोलमा परिणत गरेका थिए ।

८५ औं मिनेटमा फिलिपे कोउटिन्होले गोल गर्दै स्कोर ७-२ बनाए । मुलरले दिएको थ्रु पासलाई नियन्त्रणमा लिँदै कोउटिन्होले डिफेन्डरहरुको बीचबाट गरेको प्रहार टेर स्टेगनले बचाउन सकेनन् । ८९ औं मिनेटमा कोउटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता थप फराकिलो पारे । पेनाल्टी क्षेत्रभित्रै लुकास हर्नान्डेजको हेडर पासलाई कोउटिन्होले सहजै नियन्त्रणमा लिँदै गोलमा परिणत गरेका थिए ।

कोउटिन्हो सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट १ सय ४२ मिलियन पाउण्डमा बार्सिलोना आएका थिए । तर बार्सिलोनामा पहिलो सिजन अपेक्षित प्रदर्शन गर्न नसकेपछि उनी एक सिजनका लागि लोनमा बायर्न पुगे । बायर्नका लागि पनि औसत नै प्रदर्शन गरिरहेका कोउटिन्होले बेन्चबाट मैदान प्रवेश गर्दै बार्सिलोनाविरुद्ध प्रभावशाली प्रदर्शन गरे ।

च्याम्पियन्स लिगबाट बहिर्गमनमा भूमिका खेलेका कोउटिन्होका कारण बार्सिलोनालाई आर्थिक घाटा समेत पर्ने सम्भावना रहेको छ । बार्सिलोनाले लिभरपुलबाट कोउटिन्होलाई अनुबन्ध गर्दा सम्झौतामा बोनस र थप सफलताका आधारमा प्राप्त गर्ने पैसामा एक विशेष प्रावधान राखेको थियो । उक्त प्रावधान अनुसार सुरुवाती दुई सिजनमा कोउटिन्होले च्याम्पियन्स लिग जितेको खण्डमा लिभरपुलले ४.५ मिलियन पाउण्ड (नेपालीमा झन्डै ७० करोड रुपैयाँ) प्राप्त गर्नेछ ।

सम्झौताको प्रावधानमा कोउटिन्होले सुरुवाती दुई सिजनमा च्याम्पियन्स लिग उपाधि जितेको खण्डमा रकम तिर्नुपर्ने उल्लेख गरिएको छ । उनी कुन क्लबबाट खेलेको हुनुपर्ने भन्ने उल्लेख छैन । कोउटिन्हो बार्सिलोनामा मोटो रकममा गएका कारण सायदै कसैले उनलाई दोस्रो सिजन अन्यत्र क्लब जान्छन् र च्याम्पियन्स लिग जित्लान भन्ने सोचेको थियो । तर संयोगवश बार्सिलोना आफ्नै खेलाडीको प्रदर्शनका कारण लज्जास्पद हार बेहोर्न पुग्यो ।

बायर्न यस सिजन च्याम्पियन्स लिगको बलियो दाबेदारको रुपमा देखिएको छ । सेमिफाइनलमा अब बायर्नको सामना म्यानचेस्टर सिटी र लियोनबीच खेलको विजेतासँग हुनेछ । प्रतियोगिताको अर्को सेमिफाइनलमा पीएसजी र आरबी लाइप्जिग भिड्नेछन् ।

३१ श्रावण २०७७ मा प्रकाशित
Nabintech