समृद्ध नेता, दुखी नेपाली

जगत नेपाल


डिसेम्बर १८, २०१२ को कुरा हो । होटल अन्नपूर्णको ठूलो हल । सबै दलका उच्च तहका नेता, उद्योगी, व्यवसायी, समाजसेवी, निजामती, सेना, प्रहरीसहित देशका प्रायः सबै क्षेत्रको उच्च नेतृत्वमा रहेकाहरुले हल खचाखच छ । मञ्चमा रहेको फ्लेक्समा वक्ताको तस्बिरसँगै लेखिएको छ – ‘पोलिटिक्स इन साउथ एसिया’ । दुई दशक लामो पत्रकारिता अभ्यासका क्रममा मैले त्यो बाहेक कुनै प्रवचनमा त्यस तहका मानिस एकै ठाउँमा भेला भएको कहिल्यै देखिन । त्यस दिनका मुख्य आकर्षण थिए –महात्मा गान्धीका नाति भारतका पूर्व राज्यपाल गोपालकृष्ण गान्धी ।

प्रवचनका क्रममा गान्धीले भने – राजनीति समाजको उत्थानमा समर्पित सबैभन्दा उच्च कोटीको सेवा हो । नेतृत्वले विश्वसनीयतामा जोड दिन्छ र त्यो निष्कपट तथा हदैसम्म सत्यनिष्ठ हुन्छ ।

गान्धीको विचारमा राजनीतिशास्त्रका लागि सर्वस्वीकार्य हुनुपर्ने यो मान्यता दक्षिण एसियाली मुलुकका सन्दर्भमा भने अपवादसरह छ । यहाँको साझा भनेकै वंशवाद, धनवाद र डनवाद हो  । गान्धीकै शब्दमा दक्षिण एसियामा नेतृत्व होइन नेतागिरीको प्रभुत्व छ । निष्ठा, इमान र सिद्धान्तको राजनीतिमा विश्वास नगर्नेहरू नै अहिले राजनीतिमा सफल हुन्छन् । सार्वजनिक खपतका लागि लोकप्रियतामात्र खोज्छन् । तिनै सफल हुन्छन् जो दुईजिब्रे र कपटी छन् ।

नेतृत्वको जग देश र जनताको हितमा आधारित हुन्छ भने नेतागिरी व्यक्तिगत नाफाघाटाको हिसाब गर्दै धन र डनको आडमा चल्छ । राजनीतिलाई आय आर्जनको माध्यम बनाइन्छ र सार्वजनिक तथा संवैधानिक संस्थालाई दल, गुट र व्यक्तिको हितमा दुरुपयोग गरिन्छ ।

नेतागिरी गर्नेहरु पार्टीमा सदस्य होइन आफ्ना आदेशपालक एजेन्ट राख्न चाहन्छन् । आश्वासन बाँड्छन् । कामभन्दा बढी  रणनीतिक प्रचारमा विश्वास गर्छन् । आफूसँग फरक मत राख्ने र चुनौती दिन खोज्नेलाई जरैदेखि समाप्त पार्न नानीदेखिकै बल लगाउँछन् ।

गोपालकृष्ण गान्धीले नेतृत्व र नेता गिरीको फरक छुट्ट्याउँदै भनेका थिए – सडकमा यात्रा गरिरहँदा रातो बत्ती बल्यो भने सच्चा नेता नियमको पालना गर्दै हरियो बत्तीको प्रतीक्षा गर्छ । नेतागिरी गर्ने व्यक्ति चाहिँ पेलेर जान्छ र भन्छ – देख्यौ ! म कति शक्तिशाली छु । सारा मान्छे गाडी रोकेर बसेका छन् । म हिँडे । कसले रोक्न सक्छ, मलाई ?
नेपाली नेताहरूको व्यवहार हेर्दा गान्धीको त्यो प्रवचनले मलाई झस्काई रहन्छ । नेपाली राजनीतिका खेलाडी र गान्धीको तुलना गर्न खोज्छु । लाग्छ, कतै उनले हाम्रा नेताको व्यवहार र क्रियाकलापकै अध्ययन गरेर नेतागिरीको व्याख्या गरेका त हैनन् ?

कोरोना महामारीले सिंगो विश्व आक्रान्त बनेको महिनौ भइसक्यो । देश दुनियाँका सरकारले आफ्ना नागरिकप्रतिको दायित्व पूरा गर्दै सहायता प्याकेज लागू गर्नुका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाई रहे । तर, हाम्रो सरकार कोरोना नियन्त्रणमा ठूलो धन राशि खर्च गरेको र त्यसमा हासिल भएको तथ्याङ्क सार्वजनिक गर्नैमा मख्ख छ । अर्कातिर जनताले भने सरकार भएको अनुभूति गर्न सकिरहेका छैनन् । समाजको ऐना मिडियामा दिनहुँ यस्तै समाचार आइरहेका छन् ।

कोरोना महामारीका लागि औषधि र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार । नेपाली कामदार लिन भनेर विदेश उडेको राष्ट्रिय ध्वजावाहक जहाज यात्रु ल्याउन सरकारको अनुमति नपाएर रित्तो फर्किन्छ । अनि विदेशी जहाज यात्रुसहित विमानस्थलमा ओर्लिन्छ ।

सत्तारुढ दलको बैठक महिनौदेखि अवरुद्ध छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै बल पार्टीको विवाद समाधान गरी आफ्नो सत्ता जोगाउन केन्द्रित गरेका छन् । नेकपाका दुई अध्यक्षको विवादमा सिंगो मुलुक बन्धक छ । कोरोना संक्रमितले उपचार पाएका छैनन् । अनि रोजगारी गुमाएर साँझ बिहानको छाक टार्न नसक्ने श्रमिकको आवाज सुनिदिने कोही छैन । यो महासंकटबाट देश र जनतालाई जोगाउन सरकारले कुनै काम गरेको छ भने त्यो हो – लकडाउन र निषेधाज्ञा ।

यस्तो वेला वैकल्पिक सरकारको जिम्मेवारीमा रहेको प्रतिपक्षले पनि जनताका सबाल उठाउनेतर्फ ध्यान दिएको छैन । बरु प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवा सत्तासँग मिलेर भागबन्डा मिलाउन केन्द्रित रहेका खबर सञ्चार माध्यममा आइरहेका छन् ।

नेतृत्वले जनआवाज सम्बोधन गर्न त चाहेन वा सकेन त्यो आफ्नै ठाउँमा छ तर  आफ्ना अग्रजको बाटोमात्र पछ्याउन सकेको भए पनि राजनीतिमा दक्षिण एसियाली मापदण्डबाट नेपाल धेरै माथि जान सम्भव थियो ।

यस प्रसंगमा बेलायतका लागि नेपालका पूर्वराजदूत तथा पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले दुईवटा उदाहरण लेखकलाई सुनाए । श्रेष्ठ बेलायतमा रहेका बेला मुलुकका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी डेनमार्कमा एउटा कार्यक्रममा सहभागी भएर श्रीमती साधना प्रधानका साथ लन्डन पुगेका थिए ।

प्रधानमन्त्री अधिकारीले बेलायती व्यवसायीलाई सम्बोधन गर्ने एउटा कार्यक्रम तय भयो । राजदूत श्रेष्ठ प्रधानमन्त्रीको व्यक्तित्वमा कमी नदेखियोस् भनेर सचेत थिए । उनले प्रधानमन्त्री अधिकारीका लागि नयाँ पोसाक किन्ने सोच बनाए । कारण, त्यति बेला अधिकारीसँग लगाएको एउटा पुरानो मैलो कोटमात्र थियो । राजदूत श्रेष्ठले श्रीमती साधनालाई भनेर बल्लबल्ल प्रधानमन्त्रीलाई सपिङ मलसम्म पुर्‍याए ।

यस प्रसंगमा श्रेष्ठले लेखकलाई सुनाए – ‘एउटा कोट त यी बूुढालाई किन्नु पर्‍यो भनेर बल्लतल्ल सपिङ मल पुर्‍याएँ । मूल्य सुनेपछि उहाँ भन्न थाल्नुभयो – सूर्यप्रसादजी व्यक्तिगत रुपमा यो कोट किन्ने हैसियत मेरो छैन । देशलाई भार पर्ने गरी म किन्न चाहन्न । भैहाल्यो फर्किऊँ । लगाइरहेको कोट देखाएर मनमोहनजीले भन्नुभयो – यही कोटले चलिहाल्छ नि । मैले धेरै कर गरेँ । मान्नु भएन ।

अधिकारीमात्र होइन गणेशमान सिंहसँग पनि श्रेष्ठको त्यस्तै अनुभव छ । उनी  बेलायतको राजदूत हुँदाकै कुरा हो । सर्वोच्च नेता गणेशमान सिंह संयुक्त राष्ट्रसंघका पूर्व महासचिव उ थान्तको नामामा स्थापित शान्ति पुरस्कार ग्रहण गर्न अमेरिका जाने क्रममा लन्डन पुगे । जाडो याम । लन्डनको मुटु कमाउने चिसो । अनि वृद्ध गणेशमान । राजदूत श्रेष्ठले लेखकलाई सुनाए – मैले थाहा पाएँ गणेशमानजीसँग गतिलो न्यानो कोट छैन । अनि एउटा राम्रो कोट किनिदिने विचार आयो । मंगला भाउजुलाई भनेर बल्लबल्ल सपिङ कम्पलेक्समा लगे । मूल्य सूची हेरेपछि गणेशमानजीले कोट किन्न मान्दै मान्नु भएन । यो कोट धेरै बाँच्छ म त्यति बाँच्ने होइन सूर्यप्रसादजी भन्न थाल्नु भयो । जति कर गर्दा पनि मानेकै होइन ।

श्रेष्ठले लेखकलाई सुनाए राणाकालमै मृत्युदण्डको सजाय सुनाइएका गणेशमानजी संयोगले बाँच्नुभयो । प्रजातन्त्रका लागि कहीँ कतै संझौता गर्नु भएन । त्यस्तो लौह पुरुषले न आफ्नै पैसाले किन्न सक्नुभयो, न त राज्य कोषबाट मामुली कोट किन्न मान्नु भयो । गणेशमान र मनामोहनजीले त्यो तहको नैतिक जीवन यापन गर्नूभयो । अहिले त विद्यार्थीकालदेखि नै कसरी कमाउने र भ्रष्टाचार गर्ने भन्ने सिकेर आएका नेताहरु सत्तामा छन् । उनीहरुबाट कस्तो नैतिकताको आशा गर्ने ?

सिंह र अधिकारीको पुस्ता आफ्ना क्रियाकलापलाई सामान्य जनताले कसरी हेरेका छन् ? कतै आलोचित भइने त होइन भन्ने मनोविज्ञान र संस्कारमा हुर्किए । नेताले त्यतिमात्र सुविधा उपभोग गर्नुपर्छ जति जनसाधारणले गर्न सक्छन् । राजनीतिको सामान्य नियम त यही हो । महात्मा गान्धीले राजनीतिमा उत्रेपछि त्यसै लंगौटी, धोती र खादीको पहिरन लगाएका त होइनन् नि !

अहिंसा र सादगीको सन्देश विश्वभर फैलाउन सक्ने उनै महात्मा गान्धीको क्षेत्र दक्षिण एसियामा नेतागिरीको प्रभुत्व छ भन्ने नाति गोपालकृष्णको भनाइलाई नेपाली नेताको व्यवहारले मलजल गरेको छ । ‘मै खाऊँ, मै लाऊँ, सुख सयल वा मोज म गरुँ’ भन्ने भावनालाई संस्कारकै रूपमा स्थापित गर्ने होड चलाएर । अहिले नेपालमा नेतागिरी संस्कार मौलाउने वातावरण बनाउन मुख्य नायकको भूमिकामा प्रधानमन्त्री केपी शर्मा ओली देखिएका छन् जसले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना बाँडे । बाँडिरहेका छन् । समाजको ऐना मिडियामा दिनहु आउने समाचारले देखाएकै छ संविधानले सबै नागरिकलाई समान माने पनि यति बेला समृद्धि उपभोगको अधिकार प्रधानमन्त्री ओलीका आसेपासेमा सीमित छ ।

८ भाद्र २०७७ मा प्रकाशित
Nabintech