बाँकेको कोहलपुर–११ मा निर्माणधिन सुविधा सम्पन्न होटल म्याक्सको सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । बेशाख १ गतेबाट सञ्चालनको तयारी गरि होटलको निर्माणको काम तिब्र गतिमा गरिएको भए पनि कोरोना भाईरसका कारण सञ्चालनको पूर्वनिर्धारित समय प्रभावित भएको होटल संचालक मनोज केसीले बताए । उनले होटलको सम्पूर्ण काम एक महिना भित्र सम्पन्न र छिटै संचालनमा ल्याईने बताएका छन् । साढे २९ करोड लागतमा निर्माण हुने भनिएपनि कोरोना भाईरसका कारण होटल समयमै संचालन नहुँदा बैंकको ब्याज तिर्नुपर्दा लागत बढ्न सक्ने होटल संचालक केसीले बताएका छन् । चार तारे होटलको मापदण्ड अनुसार निर्माण भईरहेको होटल म्याक्सको प्रमुख विशेषताका रुपमा सात तला माथि स्वाईमिङ पुल रहेको र सोहि स्थानबाट चुर पहाडी भागको आनन्द लिन सकिने बताईएको छ । साथै सात तला माथि नै रेष्टुरेण्ट रहेको उनले जानकारी दिएका छन् । सो होटलमा चार वटा हल, जिम हल, स्पा, सोना लगायतका सेवाहरु उपलब्ध रहने जनाईएको छ । बाघ संरक्षणका लागि स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटनहरुका लागि सुविधा सम्पन्न होटल आवश्यकता पर्ने भएकाले होटलले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने र पर्यटन विकासको प्रमुख माध्यम होटल व्यवसाय नै भएको उनी बताउँछन् । होटलमा जम्मा कोठा ५० वटा रहेका छन् भने ७२ जना भन्दा बढि जनशत्तिले रोजगारी पाउने छ । पर्यटकीय पूर्वाधारको विकासंगै कोहलपुरमा तारेस्तरका होटल धमाधम निर्माण हुँदैछ । कोहलपुरमा पाँच तारे होटल सेन्ट्रल प्लाजा समेत रहेको छ । सो होटलको निर्माण कार्य दुई वर्ष अघिदेखि सुरु भएको हो ।