मेस्सीका लागि सिटीले तीन खेलाडी प्रस्ताव गर्ने

पिपलबाेट संवाददाता


एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले लियोनेल मेस्सी अनुबन्धको लागि क्याटलान क्लब बार्सिलोना समक्ष तीन खेलाडी साट्ने प्रस्तावको तयारी गरेको छ ।

सिटीले मेस्सीका लागि ८९.५ मिलियन पाउन्डसहित बर्नार्डाे सिल्भा, ग्याब्रियल जेसस र इरिक गार्सिया दिने प्रस्ताव अघि सारेको हो । बार्सिलोना छाड्ने निर्णय गरेसँगै सिटीले यसै समरमा मेस्सी अनुबन्धको लागि गृहकार्य गरिरहेको छ ।

मेस्सीले सिटीको शर्तहरु स्वीकार गरे प्रशिक्षक पेप ग्वार्डिओला र मेस्सीको पुनर्मिलन हुनेछ । ग्वार्डिओलाले बार्सिलोनामा मेस्सीलाई २००८ देखि २०१२ सम्म प्रशिक्षण दिएका थिए । त्यसबेला मेस्सीले आफ्नो खेलमा व्यापक सुधार गर्दै टोलीका साथै व्यक्तिगत सफलता हासिल गरेका थिए ।

स्पोर्ट्स मेलको अनुसार प्रशिक्षक पेप र मेस्सी इतिहाद सर्ने विषयमा यसअघि नै छलफलमा थिए । करिव २० वर्ष स्पेनमा रहेका मेस्सीले भाषाको विषयमा पनि छलफल भएको उल्लेख गरिएको छ । मेस्सीले पेपसँग छलफलपछि नै बार्सिलोना समक्ष आग्रह पत्र पठाएको बुझिएको छ ।

सिटीमा सम्झौता गर्ने मेस्सीको कल्पना लामो समयदेखिको सपना जस्तो देखिन्छ । तर, ८९.५ मिलियन पाउन्डसहित सिल्भा, जेसस र गार्सियाको स्थानान्तरण बार्सिलोनाले स्वीकार गरे मात्र मेस्सीको सपना साकार हुनेछ । बार्सिलोना टोली पूनर्निर्माण गर्न कस्सिएको अवस्थामा यी तीन खेलाडी कोम्यानको रोजाइमा पर्न सक्छन् ।

बर्नार्डो सिल्भा कोम्यानको शैलीसँग मिल्दो खेलाडी हुन् । सिटीले मेस्सी आउने खण्डमा सिल्भालाई बार्सिलोना पठाउन आनाकानी गर्ने छैन । यता बार्सिलोनालाई पनि सिल्भाको आगमनले दिर्घकालिन समाधान हुने देखिन्छ ।

रिपोर्टअनुसार बार्सिलोना पनि जेससलाई अनुबन्ध गर्ने योजनामा रहेको बुझिएको छ । जेसस बार्सिलोनाको मुख्य प्राथमिकतामा रहेका छन् । उनलाई लुइस सुआरेजको विकल्पमा अघि सारिएको छ । जेससको अनुबन्ध अब मेस्सीको प्याकेजमै समावेश हुन सक्छ ‌।

अर्काे समरसम्म सम्झौता रहेका गार्सिया पनि ग्वार्डिओलाको योजनामा रहेका छैनन् । गार्सिया यसअघि बार्सिलोनाकै एकेडेमीबाट सिटी आएका थिए । उनले सिटीसँग सम्झौता नविकरण नगरेर अर्को सिजन बार्सिलोना फर्कने मनस्थिति बनाएका थिए ।

१६ वर्षसम्म बार्सिलोनामा रहेका मेस्सीले बार्सिलोनाका लागि ७३१ खेलमा ६३४ गोलका साथै २८५ असिस्ट दिएका छन् । उनले क्लबसँग असन्तुष्ट रहेपछि आफूलाई सम्झौताबाट फुकुवा गर्न आग्रह गरेका थिए ‌। क्लबले भने अझैपनि मेस्सी बार्सिलोनामै रहने विश्वास व्यक्त गरेको छ ।

१२ भाद्र २०७७ मा प्रकाशित
Nabintech