नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार विहान ११ बजेका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ । बैठक १८ गतेका लागि तय गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गत शनिबार ६ गते कार्यदलले प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमाथि छलफल गर्न १३ गते शनिबारका लागि सचिवालय बैठक आव्हान भएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि केही नेताहरु आइलोसेशनमा बसेका कारण बैठक १८ गतेका लागि सारिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । यसअभि कार्यदलले बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षबीच छलफल भइसकेको छ । अध्यक्षद्वयद्वारा अनुमोदित प्रतिवेदनमाथि सचिवालयमा थप छलफल गरी स्थायी कमिटी बैठकमा छलफलका लागि लग्ने अध्यक्षद्वयको तयारी छ । शुक्रबार दुई अध्यक्षबीच भएको सल्लाहअनुसार बैठक १८ गते सारिएको प्रेस सल्लाहकार सापकोटाले जानकारी दिनुभयो । -गोरखापत्र अनलाईनबाट
१२ भाद्र २०७७ मा प्रकाशित