बाइडन राष्ट्रपति बने भने अमेरिकी सपना ध्वस्त हुनेछ : ट्रम्प

पिपलबाेट संवाददाता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको लागि रिपब्लिकन पार्टीको मनोनयन स्वीकार गर्नुभएको छ । मनोनयन स्वीकार गर्दै ट्रम्पले आफू एक्लैले समाजवाद, अराजकता र अतिवाद जस्ता शक्तिको विरुद्ध पर्खाल बनेर उभिने बताउनुभएको छ । ‘तर डेमाक्र्याटिक पार्टीका प्रतिद्वन्दी जो बाइडन आउँदो नोभेम्बरमा चुनिए भने यो उनको अभियान हुनेछ ।’ ट्रम्पले बाइडन विजयी हुँदा देशको वर्तमान सङ्कट अझ बढ्नेमा जोड दिनुभएको छ । ट्रम्पले राष्ट्रपति आवास भवनलाई राजनीतिको लागि प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेको बेला ट्रम्पले ह्वाइट हायसको साउथ लनमा उपस्थित भएर यस्तो बताउनुभएको हो ।  रिपब्लिकन राष्ट्रिय सम्मेलनको चौथो र अन्तिम रातमा ट्रम्पले भन्नुभयो, ‘हामी अमेरिकी सपनालाई बचाउँछौँ कि एक समाजवादी एजेण्डाले आफ्नो मेहनतबाट बनाइएको भाग्य बर्बाद गर्ने अनुमति दिन्छौँ, यो चुनावले नै तय गर्नेछ ।’ ‘हामी कानुन पालना गर्ने अमेरिकी नागरिकको रक्षा गर्छाैँ कि आफ्नो नागरिकलाई धम्काउने हिंसक, अराजक, आन्दोलनकारी र अपराधीलाई खुला छुट दिन्छौँ, यो चुनावले तय गर्नेछ’, उहाँले भन्नुभएको छ ।  कोरोना भाइरस महामारीकै बीच ट्रम्पले एक हजारभन्दा धेरै व्यक्तिको अघि आफ्नो भाषण दिनुभयो । उहाँको अघि दर्जनौँ अमेरिकाका झण्डा फहराइरहेको थियो र नारा पनि लगाइएको थियो– ‘अझै चार वर्ष’ र ‘यूएसए’ तर अर्काे चार वर्षे कार्यकालको माग गरिरहेका ट्रम्पको सक्रियता बढिरहेको छ । यही तरिकाबाट ट्रम्पले पहिलो चुनाव जित्नुभएको थियो । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति पदमा उहाँले अपराध र हिंसा समाप्त गर्ने वाचा गर्दै विजयी हुनुभएको थियो । ट्रम्पले भाषणकै क्रममा ‘बाइडनको अमेरिकामा कोही पनि सुरक्षित नरहने’ बताउनुभएको छ । त्यसलगत्तै बाइडनले एक ट्वीट गर्दै लेख्नुभएको छ, ‘ट्म्पले भाषणको क्रममा बाइडनको अमेरिकामा सुरक्षित हुँदैनौँ भनिरहँदा ट्रम्पको अमेरिकामा तपाईँ कति सुरक्षित महसुस गरिरहनुभएको छ ?’

ट्रम्पको भाषण बाइडनको पछिल्लो हप्ताको भाषणभन्दा निकै बेग्लै थियो । महामारीको समयमा बाइडनले लगभग खाली स्टेडियममा भाषण दिनुभएको थियो, जसलाई प्रत्यक्ष प्रसारण गरिएको थियो । ट्रम्पको भाषणमा मानिसको भिड कुर्सीमा केही इन्चको दुरीमा बसेका थिए । स्वास्थ्य विशेषज्ञका सल्लाहपछि पनि शारीरिक दुरी वा मास्कको प्रयोग कमै देखिएको थियो ।

१२ भाद्र २०७७ मा प्रकाशित
Nabintech