दश लाख फिरौतीका लागि आफ्नै सालालाई अपहरण गर्ने पक्राउ

पिपलबाेट संवाददाता


 आफ्नै १३ वर्षीय सालालाई अपहरण गर्ने भिनाजु पक्राउ परेका छन् । दश लाख रकम फिरौतीका लागि आफ्नै १३ वर्षीय इन्तजार खाँलाई अपहरण गर्ने भिनाजु कलिम खाँलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत दश लाख फिरौतीका लागि सालालाई अपहरण गरेको जनाएको छ । प्रहरीले अपहरण गर्ने कलिमलाई बिहीबार पक्राउ गरेपनि शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

बाँके प्रहरी प्रमुख ओम बहादुर रानाका अनुसार भाद्र ९ गते राती मोहर्रम पर्वको रमाईलो हेर्न निस्केका सालालाई भिनाजुले अपहरण गरी नेपालगञ्ज १६ स्थित आफ्नो घरमा राखेका थिए ।
घट्नाबारे प्रहरी अनुसन्धान थालेपछि अपहरणकारी कलिमले बालकलाई जानकी ५ स्थित फुपुको घरमा राखेका थिए । सो क्रममा कलिमले दश लाख दिए बालकलाई छाडिदिने भन्दै फिरौती मागेका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा ११ गते बिहीबार फुपुको घरमा बालकलाई फेला पारेको प्रहरी उपरिक्षक रानाले जानकारी दिनुभयो । पक्राउ परेका कलिमबाट एक थान मोबाईल र भे ४ प २३४४ नम्बरको एक मोटरसाईकल समेत बरामद गरेको छ । पिडितका बुबाले जग्गा खरिद गर्न रकम जम्मा गरेको थाहा उक्त रकम पाउन उनले आफ्नै सालालाई अपहरण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

१२ भाद्र २०७७ मा प्रकाशित
Nabintech