हनुमानगढी मन्दिर संचालन तथा व्यवस्थापन समितिको संरक्षकमा महन्त प्रेम गिरी महराजलाई चयन गरिएको छ ।
नेपालगञ्जस्थित हनुमानगढी मन्दिर संचालन तथा व्यवस्थापन समिति परिवार, साधु, सन्त, गन्ने मान्ने भक्तजनहरुको बिहीबार बसेको भेलाले पञ्च दशनाम जुना अखाडाका राष्ट्रिय अध्यक्ष महन्त, गिरीलाई चयन गरेको हो ।
त्यस्तै संरक्षक महन्त गिरीको नेतृत्वबाट हनुमानगढी मन्दिरमा पहिल्यैदेखि पुजापाठमा सक्रिय रहनुभएका महेश गिरी र हनुमत गौशालाको रेखदेखका लागि गौशालाकै थानापति उमेश गिरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
संरक्षक, गिरी धार्मिक कार्यका लागि दौडिरहनुपर्ने भएकाले हनुमान गढी मन्दिरको समितिमा थानापति उमेश गिरीलाई जिम्मेवारी दिइएको हो । सो क्रममा समितिले नयाँ संरक्षक गिरीलाई दोसल्लासहित स्वागत एव सम्मान समेत गरेको छ ।
समितिका संरक्षक श्री श्री श्री १००८ हिरामान हरि गिरी (हरि शंकर नागा बाबा) ब्रह्मलिन भएपछि संरक्षकमा गिरीलाई चयन गरिएको समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिनुभयो ।भेलामा प्रदेश पाँचका सासंद सुरेन्द्र हमाल, नेपालगञ्ज वडा नं–२ का वडाअध्यक्ष सुनिल सिंह हमालको समेत उपस्थिति रहेको थियो ।
सोही अवसरमा संरक्षक गिरीले समितिका अध्यक्ष भट्टराईलाई समेत जिम्मेवारी निर्वाह गरिरहेको भन्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
ब्रेन ह्यामरेजका कारण तीन महिनादेखि बिरामी पर्नुुभएका नागा बाबाले गत मंगलबार ९ गते दिउँसो सवा एक बजे नेपालगञ्जस्थित हनुमत गौशालामा आफनो पाँच तत्वको शरीर त्याग गरी ब्रह्मलिन हुनुभएको थियो ।