मेरुदण्ड भाँचिदा ५० लाख खर्च, परिवार सडकमा

पिपलबाेट संवाददाता


जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ७ की कर्मकली रावलको परिवार अहिले सडकमा आईपुगेको छ । रावलको जुम्लामा कुनै बेला आफ्नै खेतबारी, ट्याक्टर र घर परिवार सबै खुशिका साथ चलिरहेको थियो । तीनभाई छोराका साथ खुशि र सन्तोषका बिचमा दुख सुख गरी जीविकोर्पाजन गरिरहेकी रावल अहिले सुकुमबासी बनेकी छिन् । रावल परिवार अहिले कोहलपुर–११ को सुकुमबासी बस्तीमा बस्दै आएको छ । रावलका माईला छोरा हरिचन्द्र रावल २०७३ फागुन २८ गते आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा उनको मेरुदण्ड भाँचियो । मेरुदण्ड भाँचिएका रावलको उपचारका गर्नका लागि परिवारले घर जग्गा सबै सम्पती बेचेर अहिले सम्म ५० लाख खर्च गरिसकेको छ । जुम्लामा जग्गाको मूल्य धेरै नपाएपछि ऋण गरी अहिलेसम्म उपचारका लागि ५० लाख खर्च भएको आमा कर्मकली रावल बताउँछिन् । दुर्घटना परी मेरुदण्ड भाँचिएका रावललाई नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज, भारतको लखनाऊ स्थित समरा अस्पताल हुँदै काठमाण्डौं, काभ्रे लगायतका ठाउँहरुमा उपचार गर्दा पनि छोराको स्वास्थ्य अवस्था ठिक नभएको बताईन् । पछिल्लो समय आमा रावलले बेसार बेच्दै आएकी थिईन् । तर कोरोना भाईरसका कारण बेसार बेच्न पनि बन्द भएपछि अहिले खाना खानका लागि खाद्य वस्तुको अभाव उनले बताईन् । त्यस्तै रावलका कान्छा छोरा बिन्दाश रावलले दाई हरिचन्द्र ट्याक्टर दुर्घटनामा परी मेरुदण्ड भाँचिएपछि परिवारमा ठुलो संकट आईपरेको बताउँछन् । दाईको उपचारका लागि घरजग्गा नै बेचेर अन्य ऋण गरेर अहिलेसम्म उपचार गर्दा समेत सन्चो नहुँदा आवश्यक सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । त्यस्तै हरिन्द्र रावलले २०७१ सालमै विवाह गरेको र एक वर्ष पछि छोरी शिवलक्ष्मीको जन्म भएको थियो । ट्याक्टर दुर्घटना परी मेरुदण्ड भाँचिएपछि श्रीमतिले छोडेर अर्कोसँग विवाह गरेको हरिन्द्र रावलले बताएका छन् । जीवन साथीका रुपमा भित्र्याएकी श्रीमति समेतले छोडेर गएपछि हाल ५ वर्षिय छोरी शिवलक्ष्मी आफुसँगै रहेको उनले बताएका छन् । उनले हाल दिशा र पिसाब फेर्न धेरै समस्या भईरहेको छ भने उनको बोलि समेत स्पष्ट रुपमा बुझिँदैन् । उपचारका लागि ५० लाख पैसा खर्च गरेको रावल परिवार अहिले सडकमा आई पुगेको छ ।

१५ भाद्र २०७७ मा प्रकाशित
Nabintech