कमाउने मान्छे दृष्टिबिहीन, आँखा देख्नेहरु साहारा बिहिन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ को सुकुमबासी बस्तीको एउटा सानो टिनले आकाश ढाकेको टहरा । त्यहि अस्थायी टहरा भित्र रंगिन जीवनका सादा सपनाहरु कुल्चिरहेका छन् । जीवनका रंगिन सपनाहरु जबरजस्त सादा सपनाका रुपमा रुपान्तरण भईरहेका छन् सीताराम थारु परिवारको । बैजनाथ–३ मा कुनै बेला घर भएका सीताराम अहिले दृष्टिबिहिन बनेका छन् । २५ दिन अगाडि अर्थात यहि साउन २० गते प्रेसरले हानेर उनका दुवैका आँखा देख्न सक्ने क्षमता गुमाई सकेका छन् । सीतारामकै भरमा चलेको सो परिवार अहिले बिचल्लीमा परेको छ । सीतारामकी श्रीमती, एक छोरी र एक छोरालाई पेट भरी खाना खानका लागि खाद्यान्नको अभाव परिरहेको छ । प्रेसरले हानेर आँखा देखिँदैनन् भने हातखुटट पनि राम्रोसँग चल्न नसकेको सीताराम थारु बताउँछन् । प्रेसरले हानेर आँखा देख्न नसक्ने अवस्थामा पुगेको र घर परिवार कसरी जीवन चलाउँछन् भनि चिन्तीत छन् सीताराम थारु ।
सीताराको घरमा भाग लागेको घर जग्गा दाइ भाइहरुले नदिएपछि विगत ६ वर्षदेखि सुकुमबासी भएर सो बस्तिमा बस्दै आएका सीताराम दैनिक मजदुरी गरी परिवारको खर्च पु¥याईरहेका थिए । तर घरको एक मात्र कमाउने मान्छेनै आँखा देख्न नसक्ने भएपछि आफुहरु धेरै ठुलो समस्यामा परेको उनकी श्रीमति पुष्पा थारुले बताउँछिन् । गाडिमा पानी बच्दै आएकी छोरी रोशनी थारु लकडाउनका कारण पानी बेच्ने काम पनि बन्द भएको बताउँछिन् । आफ्नो कानको उपचार, बिरामी भाईको उपचारका लागि आर्थिक अभाव भईरहेको बेला कमाउने बुवा नै आँखा देख्न नसक्ने भएकोले आफुहरुलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् । थारुका ६ वर्षिय छोरा रोशन थारु समय समयमा बेहोस हुने रोगबाट विगत केहि वर्षदेखि ग्रसित बनिरहेको परिवारले जानकारी दिएको छ । आर्थिक अभावसँगै खानाका लागि खाद्यान्नहरु पछिल्लो समय मागेर गुजारा चलाईरहेको परिवारका सदस्यहरु बताउँछन् । मजदुरी गरी जसोतसो रंगिन संसार देखिरहेका सीताराम थारु परिवारले साहारा बिहिन बनिरहेको छ ।

१६ भाद्र २०७७ मा प्रकाशित
Nabintech