कपिलवस्तुमा खुकुलो बनाई एक हप्ता थपियो निषेधाज्ञा
जिल्ला प्रशासन कार्यालयले कपिलवस्तुमा एक साताका लागि निषेधाज्ञा थप गरेको छ । सोमबार जारी गरिएको विज्ञप्ति अनुसार दैनिक ५ घण्टा पसल खोल्ने गरी भदौ ३१ गते सम्मका लागि थप गरिएको हो । निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ। यसअघि निजी सवारीसाधन चल्न रोक लगाइएको थियो। अति आवश्यक वस्तु, खाद्यान्न, तरकारी, माछा मासु पसलबाहेक अन्य पसल सञ्चालनमा निषेध गरिएको छ। जिल्लामा साउन २३ गते देखि निषेधाज्ञा लगाइएको छ। सङ्क्रमण कम हुँदै गएपछि निषेधाज्ञासमेत खुकुलो हुँदै गएको छ। निषेधाज्ञा खोल्न उद्योग वाणिज्य संघको दबाब भए पनि केही खुकुलो गराई निषेधाज्ञा जारी गरिएको हो।
दाङमा निषेधाज्ञाको स्वरुप परिवर्तन
दाङमा जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिएको छ। भदौ १४ गते राति १२ बजेदेखि लागू गरिएको निषेधा आइतबार मध्यरात सकिएपछि स्वरुप परिवर्तन गरी पुनः लम्बाइएको छ। जिल्ला संकट व्यवस्थापन समितिको निर्णयअनुसार भदौ २८ गतेसम्म पुनः थप गरिएको निषेधाज्ञा अवधिमा बिहान ६ बजेदेखि १२ बजेसम्म बजार खुल्ने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। त्यसैगरी सोही समयमा निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइने छ।
बर्दियाको बाँसगढीमा एक साता निषेधाज्ञा
बाँसगढी नगरपालिकामा एक साता निषेधाज्ञा लागु गरिएको छ। चौधरी ग्रुपको सिजी फुटका ४२ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै निषेधाज्ञा लागु गरिएको हो । कोरोना संकट व्यवस्थापन समिति अध्यक्ष एवं प्रजिअ अधिकारीको अध्यक्षतामा आइतबार साँझ बसेको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको हो। सोमबार बिहान ६ बजेदेखि भदौ २८ गते आइतबार मध्यरातसम्म लागि निषेधाज्ञा लागु गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए। निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै परे अनिवार्य मास्क प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। निषेधाज्ञाको अवज्ञा गरे कानुनअनुसार कारबाही गरिने प्रजिअ अधिकारीले बताए। आइतबार चौधरी ग्रुपका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
पाल्पाको तिनाउमा ८ जना संक्रमित थपिएपछि गाउँपालिका र बजार शिल
पाल्पाको तिनाउ गाउँपालिकामा थप ८ जनामा कोरोना पुष्टि भएको छ । पालिकाको वडा नं २ को नयाँबजार टोलमा ८ जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिए ।
यससँगै तिनाउ गाउँपालिकाका कोरोना संक्रमितको संख्या २४ जना पुगेको छ । त्यसमध्ये संक्रिय संक्रमितको संख्या १४ छ । अध्यक्ष घर्तीका अनुसार संक्रमित मध्ये १ जना बुटवल, ३ जना तानसेन, २ जना होम आइसोलेसन र आइतबार रिर्पोट आएका ८ जना दोभान माविको आइसोलेसनमा रहेका छन् ।
गाउँपालिका नजिको बजारमा कोरोना संक्रमित भेटिएपछि गाउँपालिका, बैंकका साथै बजार क्षेत्रलाई एक हप्ताका लागि शिल गरिएको अध्यक्ष घर्तीले बताए ।
कोरोना संक्रमति बढेपछि खजुरामा निषेधाज्ञा जारी
बाँकेको खजुरा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएकोछ । गाउँपालिकामै पहिलोपटक आईतबार सबैभन्दा बढि कोरोना संक्रमित भेटिएपछि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाको रिर्पोट अनुसार खजुरा गाउँपालिकामा आईतबार २१ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले खजुरा गाउँपालिकामा निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार एक सूचना जारी गर्दै आज राती १२ बजेदेखि लागु हुने गरि खजुरा गाउँपालिकामा निषेधाज्ञा लगाइएकोछ । नेपालगन्ज–गुलरिया सडकखण्डको कपास विकासदेखि वीपि प्रतिक्षालयसम्मको दायाँबायाँ ५ सय मिटर क्षेत्रमा पर्ने सबै वडामा निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेको उक्त सूचनामा उल्लेखछ । प्रशासनद्वारा जारी उक्त सूचनामा आगामी भदौ २७ गते राती १२ बजेसम्मका लागि उक्त क्षेत्र निषेधाज्ञा लगाइएको हो । खजुरा गाउँपालिकाको भदौ २१ गते बसेको कार्यपालिकाको बैठकबाट उक्त क्षेत्र सिल गर्ने भनि सिफारिस आएकोले सोही अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले निर्णय गरेको हो ।