कण्ठ गरेर मात्र बीपीलाई बुझिँदैन

धर्मेन्द्र झा


आज भदौ २४ । १ सय साताैँ बीपी जयन्ती । कांग्रेसजनका साथै प्रजातान्त्रिक समाजवादका पक्षपातीलगायतकाले बीपी कोइरालाको जन्मजयन्ती आज मनाउने अपेक्षा गरिनु स्वाभाविक नै हो । तर उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसवृत्तमा आजको दिन ओझेलमा पर्छ भने निश्चय पनि यसलाई अस्वाभाविक मान्नुपर्ने हुन्छ ।

कांग्रेस पार्टीले सामान्य कार्यक्रमको आयोजना गरी औपचारिकता निर्वाह गर्नेबाहेक अहिलेसम्म कुनै विशेष कार्यक्रमको आयोजना गर्ने कुरा सार्वजनिक भएको छैन । विचार गर्ने हो भने अहिलेको अवस्थामा यसलाई धेरै अस्वाभाविक भन्न मिल्दैन । ऊर्जा सकिइसकेको पार्टीबाट केही अपेक्षा गर्न सकिँदैन । अहिलेको स्थिति त्यस्तै हो भन्दा फरक पर्दैन ।

राजनीतिमा बीपी र साहित्यमा विश्वेश्वरप्रसादका रूपमा समानान्तरीय हैसियत र परिचय बनाउन सफल कोइरालाका योगदान नेपाल र नेपालीका लागि कालजयी छन । अविस्मरणीय छन् । अतुलनीय छन । राजनीतिमा प्रजातान्त्रिक समाजवाद र साहित्यमा जनमनोविज्ञानका महाप्रणेता कोइराला दुई क्षेत्रका दुई स्वतन्त्र व्यक्तित्वका रूपमा स्थापित छन् ।

एउटै व्यक्तिले भिन्नभिन्न चरित्रका दुईवटा व्यक्तित्व स्थापना गर्नु र त्यससँग न्याय गर्दै समानान्तर तरिकाले बाँँच्नु सहज हुँदैन । यस्तै असहजताबीच सहजता स्थापना गर्ने व्यक्ति नै कालजयी बन्न सक्छ । बीपी यस अर्थमा कालजयी हुन् । साँच्चै समग्रमा यी दुवै व्यक्तित्वले सिंगो बीपीको निर्माण गरेको छ । निश्चय पनि एउटा व्यक्तित्वको अध्ययन नगरे अर्को व्यक्तित्वलाई बुझ्न सकिँदैन ।

आजको दिनमा नेपाल र नेपालीका लागि बीपीले के योगदान पुर्‍याए भनेर सम्झिने प्रयत्न गर्नुभन्दा पनि उनले कुन चाहिँ योगदान पुर्‍याएनन् भनेर खोतल्ने प्रयास गर्नु श्रेयष्कर हुनेछ । राजनीतिको प्रारम्भिक दिनमै बीपीको सम्बन्ध कम्युनिष्टसँग सुमधुर रहेन ।

यद्यपि त्यस बेलाका नाम चलेका कम्युनिष्ट नेता (मनमोहन अधिकारी) उनका नातेदार नै थिए । उनमा अनुदार सत्ताप्रतिको विद्रोह चेत प्रारम्भदेखि नै रहेको पाउन सकिन्छ । पिताजी कृष्णप्रसाद कोइरालाको सान्निध्यको प्रभाव उनमा रहेको पाउन सकिन्छ ।

पिताजीले प्रतिकात्मक रूपमा गरेको राणा शासनको विरोधले उनलाई घचघच्याइ रह्यो । बीपीले निर्माण गरेको राजनीतिक दर्शनमा पिताजीले सिरहाबाट राणा शासकहरूलाई पठाएको ‘पार्शल’को प्रभावले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरामा विमति हुन सक्दैन ।

यस्तै घट्नाले बीपीको राजनीतिक व्यक्तित्वले समग्रता प्राप्त गरेकोमा शंका छैन । समाजको त्यही तात्कालीन पार्सलले एक फरक राजनीतिक दर्शनको सिद्धान्तकार बनायो बीपीलाई । त्यो दर्शन थियो प्रजातान्त्रिक समाजवादको ।

साहित्यमा कलमका जादुगर विश्वेश्वर अर्थात् बीपी स्वयम्‌ले आफूद्वारा प्रतिपादित राजनीतिक दर्शनका सम्बन्धमा कहिल्येै केही लेखेनन् । केहीले बीपीको यस कृत्यको समर्थन गरेका छन् भने केहीले आलोचना । यो बहसको फरक विषय हो । बीपीका समस्त राजनीतिक दर्शन उनका भाषण र अन्तर्वार्ता तथा उनका विचारबारे अन्यले तयार गरेको धारणा र विश्लेषणमा संगृहीत छन् ।

धेरैको धारणा छ- बीपीले राजनीतिबारे लेखेनन् । तर यो धारणा गलत हो भनेर भनियो भने असंगत हुने छैन । पञ्चायतका सञ्चालकलाई विश्वेश्वरका साहित्यमा बीपीका राजनीतिक सोच समाहित छन् भने राम्रोसँग थाहा थियो ।

यसैले पञ्चायतकालभरि विश्वेश्वरका रचना अध्यापन गराउने सन्दर्भमा राजनीतिक व्याख्यालाई पूर्णतः निषेध गरियो र उनलाई एउटा खास वादमा सीमित गर्ने प्रयत्न गरियो- यौनवाद । जो उनीमाथिको अन्याय थियो । पञ्चायतको सुनियोजित षड्यन्त्र थियो । उनी मनोविज्ञान विश्लेषणमा पारंगत थिए ।

हो, उनका रचनामा फ्रायडको पर्याप्त प्रभाव छ, तर यस अर्थमा उनलाई यौनवादका प्रयोक्ताका रूपमा मात्र बुझिनु हुँदैन । त्यतिमा मात्र सीमित गर्नु हुँदैन ।

सत्य त के हो भने, बीपीले विश्वेश्वर बनेर साहित्यको कलात्मक आवरणमार्फत राजनीति पस्किने प्रयत्न गरे । त्यस बेलाको नेपालको सामाजिक धरातल आजको जस्तो थिएन । सामाजिक मूल्य-मान्यता र विश्वास फरक थिए । समाजले प्रत्यक्ष रूपमा प्रगतिशील अवधारणा स्वीकार गर्न सक्ने अवस्था थिएन ।

समाजलाई आफ्नै पुरातन मान्यता र विश्वास प्रिय थियो । यस्तोमा बीपीका धारणा अत्याधुनिक थिए । प्रगतिशील थिए । विकसित थिए । राजनीतिक भाषाको प्रयोगका माध्यमबाट ती अत्याधुनिक सामाजिक दृष्टिकोणको सार्वजनिकीकरण सम्भवतः त्यसबेलाको समाजले सहज रूपमा स्वीकार गर्न सक्दैनथ्यो ।

समाजको यसै अवस्थालाई दृष्टिगत गरेर बीपीले साहित्यमार्फत् राजनीतिक विचार-प्रयोगको प्रक्षेपणको नीति अख्तियार गरे । सत्य त के पनि हुन सक्छ भने, यौन समाजको प्रत्येक कालखण्डमा रुचिकर विषय भएको कुराप्रति बीपी अनभिज्ञ थिएनन् र उनले आफ्ना राजनीतिक दर्शनहरू यौन साहित्यमा उनेर पस्किँदा पाठकले उनलाई बढी पढ्ने सम्भावना थियो । तर यस रूपमा मात्र विश्वेश्वरलाई बुझ्ने प्रयत्न गरिन्छ भने त्यो आंशिक सत्य मात्र हुनेछ । उनी मनोविज्ञानका पारखी थिए र मनोविश्लेषणको एक अंश मात्र हो यौन ।

यस आधारमा भन्ने हो भने विश्वेश्वरका सम्पूर्ण साहित्य-रचना बीपीका राजनीतिक विचारका प्रयोगशाला हुन् । सुम्निमा, नरेन्द्र दाइ, मोदी आइन्, आफ्नो कथा, बाबु, आमा र छोरा, हिटलर र यहुदीजस्ता विश्वेश्वरका कालजयी रचनाको मिहिन ढंगले अध्ययन-विश्लेषण गर्ने हो भने बीपीको राजनीतिक प्रयोगबारे बुझ्न सकिन्छ ।

एक रात कथाको विश्लेषण गरेकाे खण्डमा त्यो पूर्णतः राजनीति केन्द्रित रहेको पाउन सकिन्छ । यस कथामा शहीद दुर्गानन्द झाको मनोदशाको सूक्ष्म विश्लेषण गरिएको समालोचकहरूले स्वीकार गरेका छन् । बीपीले विश्वेश्वरका रचनामार्फत तत्कालीन समाजमा आफ्ना राजनीतिक विचारको परीक्षणको प्रयास गरे र उनले आफ्ना धारणाबारे समाजले कस्तो र कसरी प्रतिक्रिया व्यक्त गर्छ भनेर बुझ्ने प्रयत्न गरे । यसै आधारमा बीपीले आफ्ना राजनीतिक धारणालाई निरन्तरता प्रदान गर्ने वा स्थगन गर्ने भन्ने धारणा निर्माण गर्दथे भनेर बुझ्न सकिन्छ ।

माथि उल्लेख गरिएको धारणाको पक्षमा समावेशिताको अवधारणालाई उदाहरणका रूपमा प्रस्तुत् गर्न सकिन्छ । भनिन्छ, नेपालमा आजसम्म जति पनि सरकार गठित भए तुलनात्मक रूपमा बीपी नेतृत्वको सरकार सर्वाधिक समावेशी, सन्तुलित र वैज्ञानिक थियो ।

बीपीको संक्षिप्त मन्त्रिमण्डलमा हिमाल, पहाड, तराई, काठमाडौ उपत्यका, महिला, युवा, जनजाती सबैको सन्तुलित प्रतिनिधित्व थियो । बीपीको यो समावेशी राजनीतिबारेको दृष्टिकोणको प्रकटीकरण विश्वेश्वरको साहित्यमार्फत भएको थियो । मधेशतिर, मोदी आइन, शत्रु, सुम्निमा, नरेन्द्र दाइजस्ता रचनाको अध्ययन गरे बीपीको समावेशी राजनीतिक दृष्टिकोणबारे बुझ्न सहयोग पुग्छ ।

यति मात्र होइन, विश्वेश्वरको साहित्यका पात्रमा पनि समावेशीको यो धार स्पष्ट अनुभूत गर्न सकिन्छ । अझ मधेसका सम्बन्धमा त उनको दृष्टिकोण निकै फराकिलो रहेको पाउन सकिन्छ ।

शायद बीपी कोइरालाले आफ्नो जीवनको धेरैजसो समय मधेसी भूमिकै सेरोफेरोमा बिताएका कारणले पनि होला, उनका साहित्यमा मधेसको कथा-ब्यथा, परिवेश, संस्कृति, पात्र आदिको सशक्त प्रतिविम्ब देख्न सकिन्छ ।

यो प्रतिविम्ब चाहे श्वेत भैरवीको फगुनी होस् अथवा शत्रुको कृष्ण राय भन्ने पात्र होस् वा मोदी आइन् र मधेसतिरको कथावस्तु होस्, सर्वत्र अनुभूत गर्न सकिन्छ । विश्वेश्वरले प्रत्येक क्षण मधेस र पहाड जोड्न खोजेका छन् ।

बीपी आफ्ना युगमा एकै पटक सामाजिक र राजनीतिक दुवै अभियन्ता (इन्जिनियर) थिए । उनले आफ्नो राजनीतिक र सामाजिक सोचमार्फत नेपाली समाज र राजनीतिको विकासका लागि यथेष्ट योगदान पुर्‍याउनुभयो ।

बीपीका ती राजनीतिक सोच र दृष्टिकोण आज अझ सामयिक ठहरिएका छन्  । मधेस जोड्ने बीपीको दृष्टिकोणतर्फ न त मधेशका नाममा राजनीति गर्नेहरू, जो हिजोका दिनमा बीपीकै चेला थिए, को ध्यान छ, न त उनले नै स्थापना गरेको दल नेपाली कांग्रेसले दृष्टि पुर्‍याउन सकेको छ ।

सम्भवतः कांग्रेसले वास्तविक अर्थमा बीपीलाई अनुसरण गर्न नसक्दा नै यहाँको राजनीतिमा क्षेत्रीयता, जातीयता र साम्प्रदायिक धार मौलाएको हो । असन्तुलित विकास फस्टाएको हो । समाज विभाजनको प्रक्रिया तीव्र बनेको हो ।

आज विविध नाममा मधेस र पहाडबीच मनोवैज्ञानिक दूरी बढेको छ, यो स्पष्ट छ । हिजो बीपीले यो दूरी कम गर्ने प्रयास गरेर राष्ट्रियतालाई नयाँ ढंगले परिभाषित गर्ने प्रयास गरे । तर, आफ्नो निहित स्वार्थ पूरा गर्न आजका राजनीतिकर्मीहरू मधेस र पहाडको दूरी बढाउने गरी राष्ट्रियताको नयाँ परिभाषाको प्रयास गरिरहेका छन् । यो दु:खद छ ।

कुनै न कुनै रूपमा यो समस्या नेपाली कांग्रेसभित्रै पनि अनुभव गरिएको छ । अहिले देशको राजनीति बडो सकसमा छ । बीपीलाई आज नयाँ सन्दर्भमा बुझिनु र विश्लेषण गरिनु जरुरी छ ।

विश्वेश्वरका हरफहरू कण्ठाग्र गरेर मात्र बीपीलाई बुझ्न सकिँदैन । उनलाई बुझ्न उनका हरफहरू आत्मसात् गर्नु जरुरी छ । बीपी वास्तवमा यस्ता दार्शनिक स्रष्टा हुन्, जसको सान्दर्भिकता प्रत्येक युगमा छ ।

बीपीको दर्शन र प्रतीकको व्याख्या हिजोको दिनमा जे थियो, शायद त्यस बेला त्यही ठीक थियो । त्यो व्याख्या शायद आजको सन्दर्भमा अमिल्दो हुन सक्छ ।

अतः आज बीपीलाई बुझ्न उनका दर्शनको व्याख्या आजकै परिवेशकेन्द्रित हुनुपर्छ । यस्तोमा बीपीले हिजोका दिनमा राजनीति र साहित्यमार्फत जुन ‘इन्जिनियरिङ’ प्रारम्भ गरेका थिए, त्यसलाई निरन्तरता दिनु आवश्यक छ । आजको सन्दर्भमा यही नै बीपीप्रतिको श्रद्धाञ्जलि हुनेछ ।

२४ भाद्र २०७७ मा प्रकाशित
Nabintech