ऊर्जा जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् ।
प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही २९ भदौसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।
कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे ।
यसअघि मन्त्री पुन जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनले सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापन कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रमलगायतका विषयमा सरोकारवालासँग परामर्श गरेका थिए । रासस