बुढी कुटुवा देशभक्ति !

सृजना पोख्रेल


सगरमाथा चीनमा पर्छ- गत मे २ तारिखमा ट्विटर बजारमा यस्तै आसयको एउटा ट्विट आयो। उक्त ट्विट चीनको सरकारी मुखपत्र मानिने मिडिया ‘सिजिटिएन’ ले सार्वजनिक गरेको थियो।

ट्विट चीनका सबै सहरहरूको तातो हावा बोकेर आएको थियो क्यार! त्यो ट्विट देख्नेबित्तिकै हामीलाई नमज्जाले पोल्न थाल्यो। हुन त हामी सगरमाथाको टुप्पोमा बसेर हिउँकै गर्व गर्ने मान्छेहरू ‘कुल’ नै हुनु पर्ने हो। तर त्यही हिउँ नै ‘तिमीहरूको होइन’ भनेर कसैले ठोकुवा गरेको थियो।

त्यसैले हाम्रो जिउको सारा हिउँमा आगो लाग्यो।

सबलाई थाहा छ-

‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ
कहिल्यै नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ’

स्वाभिमानी नेपालीको शिरै पो हो त सगरमाथा। हामी तुरून्तै विरोध गर्न थालिहाल्यौं। ह्यासट्याग लगाइ-लगाइ ‘सगरमाथा_लाइज_इन_नेपाल’ को हिमपात गराउन थाल्यौं। सिजिटिएनले बुझ्ने-नबुझ्ने, सबै भाषामा गाली खायो। र अन्ततः बाध्य भएर ट्विट परिमार्जन गर्‍यो।

बल्ल हामीलाई पोलेको ठाउँ शित्तल भयो। अनि मात्रै हामी आगोबाट कुदेर, फेरि गर्वका गीत गाउन सगरमाथाको टुप्पोमा पुग्यौं।

तर सन् २०२० मा सगरमाथालाई लिएर भएको के त्यो एक्लो विशेष घटना थियो?

होइन।

अगस्ट ११, २०२० मा सगरमाथासम्बन्धी अर्को एउटा समाचार आएको रहेछ।

लगातार धैर वर्षसम्म सगरमाथा परिसरलाई ‘ट्वाइलेट पेपर जस्तो बाटो’ भनेर चिनिन्थ्यो। ‘फोहोरको थुप्रो’ भनिन्थ्यो। तर यही ‘ट्वाइलेट पेपरजस्तो बाटो’ लाई ‘स्वर्गजस्तो बाटो’ बनाउन हाम्रो नेपाल सरकारले थपडी बजाउनलायक काम गरेको रहेछ।

फोहोरले रंगीचंगी बनेको सगरमाथालाई सेतो र सुकिलो बनाउन सरकारले मिसन नै चलायो। सो मिसनकै हिस्सा थियो एउटा- क्लिन अप ड्राइभ, १४ अप्रिलदेखि २९ मे २०१९ सम्म।

ड्राइभको अगुवा थियो हाम्रै संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालय र सगरमाथा प्रदूषण नियन्त्रण समिति।

हाम्रो सगरमाथा प्लास्टिकका बोतल, क्यान, अक्सिजनका सिलिन्डर अनि जथाभावी मान्छेका दिसाले चिसो डम्पिङ साइट बन्दै गएको थियो। उक्त मिसनले यो डम्पिङ साइटबाट १० हजार ३८६ किलो फोहोर संकलन गर्‍यो। १२ जना प्रशिक्षित ‘शेर्पा’ हरूले सगरमाथा शनिबार नुहाएर उज्यालो भएको बच्चाजस्तै चिटिक्क बनाइदिनुभयो।

‘हामीले हिमाल उठायौं एसियाको माझमा
सभ्यता बास बसेथ्यो, आएर यहीँ साँझमा’

माधवप्रसाद घिमिरेले उहिल्यै लेखेका थिए।

अहिले सभ्यता त थाहा भएन, केही सभ्य मान्छे चाहिँ बास बसेछन्। एसियाको माझमा उठेर, फोहोरको रासले झुकेको हिमाल फेरि उठ्न थालेको छ।

समाचार यतिमै सकिएन। यस मिसनबाट सगरमाथाको सबभन्दा लामो क्लिन अप ड्राइभ सम्पन्न गरेकामा नेपाल सरकारले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ बाट प्रमाणपत्र नै पाएको रहेछ। यति पढ्नेबित्तिकै मेरा आँखा गर्वले चौडा भए।

पहिले फोहोरको थुप्रो भनिने सगरमाथामा अहिले तारिफको थुप्रो थाप्ने थुप्रै काम भएका रहेछन्।

मैले यो समाचार गुगलमा यसै टाइम पास गर्न के-के खोजिरहेका बेला भेट्टाएकी थिएँ। तर यत्रो खुसी लाग्ने समाचार पढेपछि मेरो मन टाइम पास गरेर बसिरहन सकेन। मन उफ्रेर सगरमाथाकै टुप्पोमा पुग्यो।

पुगेर हेर्छु त त्यहाँ पहिल्यै कति धेरै मान्छे रहेछन्। तिनै मान्छे जो भर्खर ट्विटरमा सगरमाथाप्रति आफ्नो माया देखाएर टुप्पोमा पुगेका थिए। चिनियाँलाई गाली गरेर पुगेका थिए। आफ्नो देशभक्ति सावित गरेर पुगेका थिए।

तिनलाई देखेर मैले सोचेँ, ‘यी सबै मान्छेलाई सगरमाथाको कति माया रहेछ। खुसी बाँड्न अघि नै आइपुगेछन्। मै मात्र रैछु झ्याँस।’

मलाई लाग्यो, ‘सगरमाथा हाम्रो हो है’ भन्न त त्यति बोल्नेहरूले, ‘सगरमाथा राम्रो हुँदैछ है’ भन्ने कुरा चिच्याएरै सुनाउँछन् होला। फेसबुक-ट्विटरको टुप्पोबाटै चिच्याउँछन् होला। आफूले केही नगरी उठेको सगरमाथामा त गर्व गर्थे, आफ्नै देशले काम गरेर सफा भएको हिमालमा कति गर्व गर्छन् होला! विदेशीलाई कति धाक दिन्छन् होला!

म फटाफट टुप्पोमा बसेकाहरूको फेसबुक, ट्विटर हेर्न थालेँ। ह्यासट्याग ‘सगरमाथा_गेटिङ_क्लिनर’ लेखेर समेत खोजेँ। त्यसरी खोज्दा पनि सफा सगरमाथाको खुसी केही औंलामा गन्न सकिने ट्विट/पोष्टमा मात्रै भेटिए।

सगरमाथाको नाममा गर्व गर्ने देशभक्तहरू त्यति धेरै थिए, सगरमाथाको खुसी बाँड्ने देशभक्त भने भेट्नै मुश्किल।

के यो खुसी वातावरणमा चासो राख्ने केहीको मात्रै हो?

सोचेर मेरो मन अमिलो भयो। मन सगरमाथाको टुप्पोबाट झरेर एउटा गहिरो खाल्डोभित्र पुगेछ।

अब त्यो खाल्डोबाट थुप्रै देशभक्तहरू देखिन थाले। त्यस्ता देशभक्त जो कसैले ‘सगरमाथा कसको हो?’ भन्दा मात्रै बोल्छन्। जो ‘सगरमाथा हाम्रो हो’ भन्न मात्रै बोल्छन्। उनीहरू सगरमाथा फोहोर भएकामा दुःख नमान्ने रहेछन्। त्यसैले सफा भएकामा पनि उत्पात चासो छैन। कुनै गर्व लाग्ने उपलब्धि नै भए पनि, त्यस्तो समाचार फैलाउन जाँगर छैन। उनीहरूका लागि त्यो गर्व नै होइन।

उनीहरूलाई लाग्नेरहेछ, ‘सगरमाथा फोहोर भएपछि बोल्ने, सफा भएपछि रमाउने काम त वातावरण प्रेमीहरूको हो। हामी त देशभक्त हौं।’

यी देशभक्तका लागि सगरमाथा हिउँको सुन्दर थुम्को होइन, विश्वको सबभन्दा अग्लो चुचुरो मात्रै हो। नेपालीको ‘शान’ हो।

यी देशभक्तका लागि देश भनेको ‘शान’ मात्रै हो। शान बचाउन भने उनीहरू रगतको खोला पनि बगाउन सक्छन्।

यो पृथक स्टाइलको देशभक्ति हो।

यस्तो देशभक्ति देख्ने लाइनमा सगरमाथा एक्लै चाहिँ छैन। त्यही लाइनमा पछिपछि निजगढको जंगल र त्यहाँका बाघ पनि टुक्रुक्क बसेका छन्।

निजगढ अहिलेको समयमा गुणस्तरीय नेपाली सिनेमाजस्तै हो। जसका बारे कुरा त धेरैले गर्छन् तर उसका ‘निम्ति’ काम गर्ने अति थोरै छन्। अहिले निजगढको जंगल मासेर त्यहाँ विमानस्थल बनाउने कुरा निक्कै अगाडि बढिसकेको छ।

तर निजगढ भनेको बारा जिल्लाको ८ हजार हेक्टर जमिन मात्रै होइन, त्यो जमिनबाट काटिनका लागि तयार लाखौं रूखहरूको घर पनि हो। हजारौं बुढा रूखको घर। गैंडाको बाटो। चराहरूको उड्ने आकाश, बिसाउने गुँड। बाघहरूको घर।

अहिले विश्वमा कति मान्छे छन् जसलाई बुद्ध र नेपालको सम्बन्ध बरू मतलब छैन तर बाघ र नेपालको सम्बन्ध थाहा छ। सन् २०१० देखि २०२२ का बीचमा आफ्ना बाघको संख्या दोब्बर बनाउने प्रतिस्पर्धामा नेपालले २०१८ मै कीर्तिमान राखेको हो। कति विदेशी त बाघै हेर्न नेपाल आउँथे। अब त झन् आउने छन्। कति त नेपाललाई बाघकै कारण चिन्छन्।

बाघ हाम्रा गर्व हुन्।

निजगढ ती थुप्रै बाघ अनि हात्तीको घर मात्रै होइन, बाटो पनि हो।

हिँड्ने बाटो, पुग्ने घर दुवै मासिएपछि मान्छे त निसासिन्छ, जनावरको के होला! हामीजस्तो भिसा लगाएर, एयरपोर्ट छिरेर, अर्को देश, अर्को घर खोज्दै जान पनि सक्दैनन् उनीहरू।

बिडम्बना, तिनै बाघका लागि अहिलेसम्म धेरै देशभक्तको बोली फुटेकै छैन। तर जब कोही भारतीयले, ‘नेपालभन्दा पहिले त भारतले बाघको संख्या दोब्बर बनाएको हो’ भन्नेछ, तब यी देशभक्तहरू बाघजसरी नै गर्जिनेछन्।

यो पृथक स्टाइलको देशभक्ति हो।

हाम्रा देशभक्तलाई बाघको वास्ता छैन। तर कसैले बाघको नाममा देशको ‘गर्व’ खोस्यो भने रगत उम्लिनेवाला छ।

हरेक वर्ष निजगढले भारी वर्षा थेग्छ। त्यो जंगलको गर्भले पानी थामेर वरपरका थुप्रै जमिन बाढीबाट बचाइरहेको छ। ‘राष्ट्रपति चुरे-तराइ मधेश संरक्षण विकास बोर्ड’ का पूर्व सदस्य विजयकुमार सिंह दनुवारका अनुसार २४ घन्टामा ३०० मिलिमिटरसम्म पानी पर्न सक्ने ठाउँ हो त्यो। त्यहाँ एयरपोर्ट बन्यो भने २०० मिमि वर्षा मात्रै पनि एयरपोर्ट नै डुबाउन काफी हुन्छ।

जब रूखलाई जबरजस्ती उसको घरबाट अलग्याइन्छ, तब जमिनले रूख गुमाएको रिसमा अरू थुप्रैका घर बगाएर लानेछ।

अहिले निजगढका निमुखा रूखहरूले आफूलाई बचाउन आवाज मागिरहँदा धेरै देशभक्तहरू केही बोलेका छैनन्। तर जब उता कोशीको बाढीले आफ्नो आसपासको जमिन बगाउँछ, जब भारतलाई दोष लाउने मौका आउँछ, त्यतिबेला भने यी देशभक्तहरू बाँध नै भत्किनेगरी चिच्याउँछन्। मानौं बाढीले निजगढमा बगाउने जमिन चाहिँ नेपाल नै होइन।

हुन त हामीलाई लाग्ला, ‘यी देशभक्तलाई बाढीले बगाउने मान्छेको चिन्ता भएर पो कोशीका लागि बोल्ने हुन् कि!’

त्यसो हुँदो हो त, ‘बरू बिहार डुबोस्, नेपाल नडुबोस्’ भन्नेसम्मका नारा लाग्ने थिएन। बिहारी पनि मान्छे नै त हुन्।

यी देशभक्तलाई त नेपालको जमिनको मात्रै माया हो। तर त्यो जमिनको माया पनि तब मात्रै जाग्छ, जब त्यहाँ छिमेकी जोडिन्छ।

यो पृथक स्टाइलको देशभक्ति हो।

यहाँ देशप्रेम देखाउन पहिला विदेश-घृणा जागरूक हुनुपर्छ।

साँच्चै रूखको, जमिनको वास्ता त केहीलाई मात्रै छ। ती केही जसलाई जैविक विविधताको माया छ। वातावरण सन्तुलनको चिन्ता छ। जसलाई बेलाबेला ‘डलरे’ को लाञ्छना पनि लाग्छ। अनि विकास विरोधीको ट्याग पनि।

बाँकी त सबै पृथक स्टाइलमा देशलाई मात्रै माया गर्छन्।

ढुंगाको भर माटो। माटोको भर ढुंगा। सिन्धुपाल्चोकमा वर्षौंदेखि जथाभावी माटोबाट ढुंगा झिकिँदैछ। त्यसरी जथाभावी माटोको भर झिक्न पाइन्छ?

त्यही कारणले त्यहाँ बर्सेनि पहिरो गएको गयै छ। पहिरोमा खसेर बर्सेनि कत्ति माटो मर्छन्।

देशकै प्रतीक मानिने माटोलाई त्यसरी मार्न पाइन्छ?

हाम्रा देशभक्तहरू माटोलाई रगतले सिञ्चिन सक्छु भन्छन्। माटोको टीका पनि लगाउँछन्। तर माटोकै बारे बिरलै बोल्छन्।

ती देशभक्तका लागि सिन्धुपाल्चोकमा पहिरोले खसाएको माटो, देशको माटो होइन क्यार!

पहिरोले खसाउने माटोको पनि माया लाग्दो हो त पहिरोबाट बचाउने रूखको पनि माया लाग्थ्यो। बाढीबाट जोगाउने रूखको पनि माया लाग्थ्यो। कि देशभक्तहरूलाई हुङ्कार्नका लागि सिमानाकै माटो चाहिन्छ?

हामीलाई माटोको माया लाग्न, माटो मिचिनु नै पर्छ हो?

कुनै समय एस.पी कोइरालाको शब्दलाई कर्णदासले मन हत्केलामै राखेजसरी गाएका थिए-

‘आमा भन्दै रून पाऊँ, बिराउँदा बाटो
मुटु दुख्दा, छुन पाऊँ एकमुठी माटो’

जति बाटो बिराए पनि, जसरी बाटो बिराए पनि, ‘आमा!’ भन्दै रून त जहिल्यै पाइन्छ। तर माटो नै बगाउनेगरी बाटो बिराएपछि, एकमुठी माटो कहाँबाट पो ल्याउछौं होला हामीले!

हुन त नेपाल भनेको चितवनको तोरीबारी पनि हो, नेपाल पहेँलो छ। जुम्लाको स्याउबारी हो, नेपाल रातो पनि छ। निजगढको जंगल हो, नेपाल हरियो छ। दाङमा जतनले बचेर उडिरहेका गिद्ध पनि देश नै हुन्, नेपाल स्वतन्त्र छ। भक्तपुरको लप्सी पनि देश नै हो, नेपाल मिठो छ। बर्दियाका बाघ पनि देश हुन्, नेपाल टाटेपाटे समेत छ।

देश क्षेत्रफलको घमन्ड मात्रै होइन, देश त धेरै फराकिलो छ। देश वीरताको रातो रङ मात्रै होइन, देश इन्द्रेणीजस्तै छ।

तर त्यो इन्द्रेणी देख्न अलि फरक आँखा चाहिन्छ। ती आँखा जसले अमरसिंह थापालाई मात्रै होइन, दिलिप महतोलाई पनि चिन्छन्। जसले लिपुलेकमा झन्डा ठड्याउने नेतालाई मात्रै होइन, लमजुङमा भिर मौरीको मह काड्ने उद्यमीलाई पनि देशभक्त मान्छन्।

यदि माटोलाई माया गर्ने मान्छे सबभन्दा ठूलो देशभक्त हो भने किसानहरू यो देशका सबभन्दा ठूला देशभक्त हुन्। देश भनेको माटो हो। माटोको माया गर्नेले माटोको टीका मात्रै लागाउँदैन, माटोलाई मायाले हुर्काउँछ। किसानले देशलाई मायाले हुर्काउँछन्।

म सानै हुँदा, मेरो घरनजिकै एक जना काका थिए। उनलाई श्रीमतीको खासै माया लाग्दैन थियो। कहिल्यै सञ्चो-बिसञ्चोसम्म पनि सोध्थेनन् रे। कहिलेकाहीँ त कुट्छन् भन्ने पनि सुनिन्थ्यो।

एकपटक खै कसले हो उनकी श्रीमतीलाई के-के नराम्रो भनेर जिस्काएछ। त्यो दिन गाउँमा खैलाबैला मच्चिएको थियो।

‘अब रगतको खोलो बग्छ’ भन्दै काका त लड्नै पो निक्लिएछन्। पछि बीच सडकमा रक्ताम्मे भएर हिँडेको त मैले नै देखेकी थिएँ।

यसरी श्रीमतीको इज्जतका लागि लड्ने पुरुषलाई सडकमा देख्नेहरूलाई लाग्यो होला, ‘कति प्रेम गर्दो रहेछ बुढीलाई।’

उनकी श्रीमती आफैंलाई पनि ‘मैले त कति माया पाएकी रैछु’ भन्ने भ्रम पर्‍यो होला।

तर वास्तवमा ती काकालाई श्रीमतीको होइन, श्रीमतीमाथि आफ्नो ‘स्वामित्व’ को माया लागेको थियो। उनलाई खासमा ‘श्रीमतीमाथि मेरो हक छ है, यो मेरी मात्रै हो है’ भनेर प्रमाणित गर्नु थियो।

उनी श्रीमतीप्रेमी थिएनन्, हकप्रेमी थिए।

हामीमध्ये कतिले आफूलाई देशभक्त भन्नु र ती काकाले आफूलाई श्रीमतीभक्त भन्नु एउटै कुरा हो।

ट्विटर @SrijanArt

(सृजना पोख्रेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)

२५ भाद्र २०७७ मा प्रकाशित
Nabintech