आज जितिया वर्षको मुख्य दिन, प्रधानमन्त्रीद्वारा शुभकामना

पिपलबाेट संवाददाता


दाङ, भदौ २५ । नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले आज जितिया पर्व मुख्य दिन माउनदै छन् । तीन दिनसम्म मनाउने यो वर्षको आज दोस्रो दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोनाको प्रकोपका कारण खासै उल्लास छैन । यस वर्ष घरमै बसेर जितिया मनाइँदै छ ।

आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।

जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना दिनुभएको छ । वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताउनुभएको छ। जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेको समेत बताउनुभएको छ। कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उहाँले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वानसमेत गर्नुभएको छ।

२५ भाद्र २०७७ मा प्रकाशित
Nabintech