काल बन्दै घोराहीमा कृत्रिम जलाशय : हालसम्म डुबेर ९ जनाको मृत्यु

पिपलबाेट संवाददाता


दाडको घोराही नगर क्षेत्रमा ९ करोड ८० लाखको जलाशय निर्माण भएको छ । घोराही नगरमा मात्रै हालसम्म २५ वटा कृत्रिम जलाशयहरू निर्माण गरिएका छन् । सघन सिंचाई आयोजनाले तीनवटा, बृहत सिंचाई आयोजनाले एउटा र घोराही नगरले २१ वटा गरेर २५ वटा कृत्रिम जलाशय निर्माण भएका छन् ।

घोराही नगरले मात्र ९ करोड ८० लाख रूपैयाँ रकम खर्च गरिसकेको छ । तर कृत्रिम जलाशय निर्माणमा करोडौँ रकम खर्च भएपनि त्यसको उचित संरक्षण भने भएको देखिँदैन ।

जलाशयको निर्माणको क्रममा लापरबाहीको कारण घोराहीमा धेरैले अकालमै ज्यान गुमाएका छन् । प्राकृतिक तालहरूलाई व्यवस्थित गर्न स्थानीय सरकार आएदेखि नै कृत्रिम जलाशय निर्माण गर्नको लागि कार्यविधिसमेत निर्माण गरियो । घोराही नगरमा कृत्रिम जलाशयहरू निर्माण त गरियो तर त्यसको उचित संरक्षण भने भएन ।

अहिले पनि अधिकांश कृत्रिम जलाशयमा खाल्डो खनेर छोडिएको छ । पहिले नै वर्षाको भेलले चिरा–चिरा परेका खाडलहरूलाई कृत्रिम जलाशय निर्माण गर्ने क्रममा जमिनको लेभल मिलाइएको छैन । जसको कारण त्यहाँ डुबेका व्यक्तिहरूको सहजै निकाल्न सकिन्न ।

त्यसको एउटा ज्वलन्त उदाहरण हो घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गुलरियाको ड्याम । डयाम नजिकै रहेको मैदानमा क्रिकेट खेलेर नुहाउने क्रममा घोराहीका एक युवक ड्याममा डुबेका थिए । उनलाई तालिम प्राप्त गोताखोरले पनि भेटाउन नसकेर फर्किएको थियो ।

ठूला–ठूला चिरा भएको भन्दै युवक चिरामा पसेको हुनसक्ने भन्दै टोली फर्किएको थियो । अन्ततः ड्यामको सबै पानी सुकाएर मात्रै तीन दिनपछि ति युवकको शव भेटिएको थियो ।

तीन दिन पहिले पनि घोराहीकै अर्का युवाले घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित भकारेको कृत्रिम जलाशयमा डुबेर अर्का युवकको मृत्यु भएको भयो । उनी डुबेको २४ घण्टापछि मात्रै शव भेटिएको थियो ।

निर्माण गरिएका जलाशयमा तारवार नगरिदिँदा र पहिले नै प्राकृतिक रूपमा भएका चिरा–चिरा परेका जलाशयहरूमा जोखिम बढ्दै गएको छ ।

करोडौँ लागतमा कृत्रिम जलाशय निर्माण हुँदा पनि बजेट अभावको कारण संरक्षण गर्न नसकिएको घोराही उपमहानगरपालिकाको तर्क छ ।

‘झण्डै १० करोडको लागतमा कृत्रिम जलाशयहरू निर्माण गरिएको छ,’ घोराही उपमहानगरपालिकाका जलाशय क्षेत्र हेर्ने प्राविधिक इन्जिनियर रामधन श्रेष्ठले भने ‘त्यसको लागि नगरले छुट्टै बजेट छुट्याउँदै छ ।’ बजेट अभावका कारण थप व्यवस्थापन गर्न नसकेको उनले बताए ।

विपद् व्यवस्थापनबाट बजेट छुट्याएर सम्भावित दुर्घटना हुनसक्ने क्षेत्रलाई तारवार गर्ने बारेमा छलफल भएको उनले बताए । तलाउमा जम्मा भएको पानीलाई कृषि उत्पादनमा बृद्धिका निमित्त सिंचाईका लागि प्रयोग गरी कृषि उत्पादकत्वलाई बृद्धि गर्नको लागि जलाशय निर्माण गरिएको उनले बताए ।

नगरमा झण्डै करोडौको लागतमा ड्याम निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर–१७ को कजाईमा एक करोडको लागत स्टिमेट गरिएको थियो । त्यसमध्ये ९७ लाख बजेट खर्च भएको इन्जिनियर श्रेष्ठले बताए ।

घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ को दोसाधमा निर्माण भएको चेपेमा निर्माण भएको कृत्रिम जलाशयमा एक करोड ८० लाख रूपैयाँ खर्च भइसकेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ को ज्यामिरे ताल निर्माण गर्ने क्रममा एक करोड ६५ लाख रूपैयाँ खर्च भइसकेको छ ।

हालसम्म घोराही उपमहानगरपालिका वडा नम्बर १७ को जलाशयमा दुईजनाको डुबेर मृत्यु भएको छ भने घोराही उपमहानगर–पालिका वडा नम्बर १८, ४ र १३ को जलाशयमा एक/एकजना गरी पाँचजनाको डुबेर ज्यान गएको छ ।

यस आर्थिक वर्षमा घोराही नगरमा चारवटा ड्याम निर्माण भएका छन् । घोराही उपमहानगर–पालिका वडा नम्बर १७ को कर्जाहीमा ड्याम निर्माण गरिएको छ । त्यसैगरी घोराही–४ को अमारे सोता र रोहिनीमा ड्याम निर्माण भएको छ । त्यसैगरी घोराही–४ कै वनबाटिकाको उत्तरतर्फमा ड्याम निर्माण गरिएको छ ।

त्यसैगरी संघन सिंचाईले घोराही उपमहानगरपालिका वडा नम्बर ४ को कमिरे सोतामा ड्याम निर्माण गरेको छ भने वनबाटिका ड्याम निर्माण गरिएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर ११ मा पनि सिंचाई सघनले ड्याम निर्माण गरेको छ ।

त्यसैगरी घोराही नगरमा बृहत सिंचाई आयोजनाले घोराही उपमहानगरपालिका वडा नम्बर ४ सररेमा पनि ड्याम निर्माण भइरहेको छ ।: रातोपाटी

२७ भाद्र २०७७ मा प्रकाशित
Nabintech